उत्कृष्ट कार्यसम्पादन गर्ने सैँतिस जना सैनिक सुशोभित
gorkhapatraonline.com · Fri Jun 12 00:57:47 GMT 2026

उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाली सेनाका ३७ जना सकल दर्जालाई प्रधान सेनापति अशोकराज सिग्देलले प्रशंसा निसान तथा कदरपत्र प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले विभिन्न जिम्मेवारीमा उल्लेखनीय योगदान पु¥याएका सैनिकहरूलाई प्रधान सेनापति प्रशंसा निसान र कदरपत्रद्वारा सुशोभित गर्नुभएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार राष्ट्र र जनताको सेवामा समर्पित भई संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा समेत संयम, धैर्यता र उच्च व्यावसायिक क्षमताका साथ कार्यसम्पादन गर्ने सैनिकहरूको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले सैनिक सेवामा व्यावसायिक दक्षता, अनुशासन, समर्पण र कर्तव्यनिष्ठाको विशेष महत्व रहने उल्लेख गर्दै राष्ट्रको हित र संस्थाको गरिमालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न सकलदर्जालाई प्रेरित गर्नुभएको थियो ।
Read full story at source (gorkhapatraonline.com)