गौराघरमा भित्र्याइयो गौरादेवी
gorkhapatraonline.com · Fri Sep 04 04:53:15 GMT 2026

सुदूरपश्चिमेलीको मौलिक पहिचानसँग जोडिएको गौरा पर्वको रौनक गाउँदेखि सहरसम्म फैलिएको छ । गौरापर्व अन्तर्गत बिहीबार तेस्रो दिन व्रतालु महिलाले गौरादेवीलाई विधिपूर्वक गौराघरमा भित्र्याएका छन् । स्थानीय भाषामा ‘भितरीकी गौरा’ अर्थात् ‘ठुली गौरा’ भनिने यस दिन गौरा पर्वको महत्वपूर्ण दिन मानिन्छ ।
बिहानै नुवाइधुवाई गरी शुद्ध भएर व्रतालु महिला साँझपख गौरादेवीलाई गौराघरमा भित्र्याउने परम्परा छ । अमुक्ताभरण सप्तमीका अवसरमा महिलाहरू एकै ठाउँमा भेला भएर फाग गाउँदै गौरादेवीको पूजा गर्छन् । फागका माध्यमबाट देवीदेवताको स्तुति, पारिवारिक सुखसमृद्धि तथा सन्तानको कल्याणको कामना गर्ने गरिन्छ । स्थानीय संस्कृतिका जानकार पण्डित लोकराज भट्टका अनुसार ‘ठुली गौरा’ का दिन गौरादेवी र महेश्वरको प्रतिमूर्ति स्थापना गरी फलफूल तथा बिरुडाले पूजा गर्ने चलन छ । महिलाले धारण गर्ने विशेष प्रकारको धागो ‘दुबधागो’ पनि यही दिन गौरादेवीलाई चढाउने परम्परा रहेको उहाँ बताउनुहुन्छ ।
Read full story at source (gorkhapatraonline.com)