शिरमा गौरा, मनमा आस्था
gorkhapatraonline.com · Sat Sep 05 01:34:19 GMT 2026

गौरा पर्वको महत्वपूर्ण दिन दूर्वाष्टमी अर्थात् अठ्यावाली आज बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले विशेष महत्व राख्ने अठ्यावालीमा महिलाहरूले निराहार व्रत बसेर गौरादेवी र महेश्वरको पूजा तथा परम्परागत गीत र नृत्य प्रस्तुत गर्छन् । दुबोबाट गौराको पूजा गरिने भएकाले दूर्वाष्टमी भनिएको यस दिनलाई सुदूरपश्चिमेली महिलाले विशेष दिनका रूपमा लिने गर्छन् । अठ्यावालीका दिन व्रतालु महिला सामूहिक रूपमा भेला भएर गौरादेवी र महेश्वरको प्रतिमा पालैपालो शिरमा राखी घुमाउँदै पूजाआराधना गर्ने परम्परा रहेको सुनर्या गाउँपालिका–३ की देवकी भट्टले बताउनुभयो ।
उहाँका अनुसार सप्तमीका दिन हरियो धानबाट बनाइएको गौराको प्रतिमालाई विशेष काठबाट बनाइएको महेश्वरको प्रतिमामा दुवधागोले बाँध्ने गरिन्छ । अष्टमीका दिन विधिपूर्वक अभिमन्त्रित गरिएको पवित्र दुवधागो व्रत बसेका विवाहित महिलाले धारण गर्ने परम्परा छ । दुवधागो धारण गरेपछि महिलालाई पवित्र मानिने र गौरा पूजन तथा भातभान्सा गर्ने पहिलो अधिकार रहने धार्मिक तथा सामाजिक मान्यता छ ।
Read full story at source (gorkhapatraonline.com)