सम्पदा संरक्षणमा ‘भक्तपुर मोडेल’
gorkhapatraonline.com · Sat Sep 05 05:47:02 GMT 2026

विसंं २०७२ देखि २०८३ साउनसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिएको छ । केही पुनर्निर्माणकै चरणमा छन् । पुनर्निर्माण सम्पन्न भएकामध्ये मन्दिर ४५, पाटी ६७, द्योछेँ १४, प्रवेशद्वार चार, पोखरी १४, इनार नौ, सत्तल नौ, ढुङ्गेधारा १० र अन्य सम्पदा १३ वटा रहेका छन् ।
भक्तपुरका राजा जगज्योतिर्मल्लले विसं १६८७ (नेसं ७५०) मा बनाउन लगाएका हुन्– भक्तपुरको रानीपोखरी अर्थात् न्हु पुखु । भक्तपुर सहरको पश्चिमतर्फको गढपर्खाल र ढोकाबाहिर त्यसअघि नै तीन वटा पोखरी थिए– सिद्धपोखरी अर्थात् तःपुखु (विसं ११७६), गुह्यपोखरी अर्थात् नःपुखु (विसं १२२६) र भाज्या पुखु । इतिहासका जीवित साक्षी यी पोखरीले आजसम्म शान्त रूपमा भक्तपुरको परिचय दिइरहेका छन् । भक्तपुर घुम्न पुग्ने जोकोही पर्यटक यी पोखरीको डिलमा टेकेकै हुन्छन् । भक्तपुरका पाटी, पौवा, सत्तल, धर्मशाला, धारा, पोखरी, मठ, मन्दिर, चैत्य, विहार, दाफाभजन, जात्रा र यहाँका परिकार जस्ता भौतिक तथा अभौतिक सम्पदाले पर्यटकलाई लोभ्याइरहन्छ; तथापि यस्ता सम्पदाको संरक्षण त्यसै भएको होइन । प्राचीन सहरको झल्को दिने गरी पर्यटक लोभ्याइरहने भक्तपुरको यो पृष्ठभूमिमा राजनीतिक नेतृत्वको दूरगामी सोच, चिन्तन र त्यसको कार्यान्वयन मुख्य रूपमा छ । ‘सय वर्षपछिको भक्तपुर’ भन्ने किताबमा नारायणमान बिजुक्छें ‘रोहित’ ले भक्तपुरको सम्पदा र संस्कृतिको मार्गदर्शन प्रस्ट दिनुभएको पाइन्छ । सँगसँगै त्यस्तो सोचलाई साथ दिने, होस्टेमा हैँसे गर्ने सम्पदाप्रेमी नागरिक भक्तपुरमा छन् । यहाँका सम्पदालाई नागरिकले आफ्नो अभिन्न जीवन, पुर्खाको नासो र भावी पुस्ताका लागि अमूल्य उपहार ठानेका छन् । यही बिउपुँजीले नै भक्तपुरले सम्पदा संरक्षणमा एउटा नमुना स्थापित गरिरहेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति भन्नुहुन्छ, “भक्तपुर पुनर्निर्माणका लागि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक मार्गदर्शन हो ।” सोही मार्गदर्शन अनुसार विसं २०५४ देखि नै भक्तपुर नगरपालिकाले कला, संस्कृति, शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा योजनाबद्ध अभियान थालेको देखिन्छ ।
Read full story at source (gorkhapatraonline.com)