पोखरा अन्तरराष्ट्रिय विमानस्थल : सोमवार बिहानदेखि यान्त्रिक उडान
abhiyandaily.com
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (यान्त्रिक उडान) सोमवारबाट शुरू हुने भएको छ । त्यसका लागि एरो थाईको जहाज शनिवार बिहान पोखरास्थित पुरानो विमानस्थलमा पुगेको छ ।
मुख्य निर्माणका कार्य र रिठ्ठेपानी डाँडाको १४ मीटर काटेपछि उक्त विमानस्थलमा क्यालिब्रेशन उडान गर्न लागिएको हो । आन्तरिक विमानस्थलको हबका रूपमा रहेको उक्त क्षेत्रबाट अन्तरराष्ट्रिय उडानको तयारीका लागि पनि क्यालिब्रेशन उडान गर्न लागिएको हो । विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले शनिवार बिहान एरो थाईको जहाज पुरानो विमानस्थलमा अवतरण भएको जानकारी दिए ।
एरो थाईको जहाज आएसँगै सोमवार बिहान १० बजे र दिउँसो क्यालिब्रेशन फ्लाइट हुने उनले जानकारी दिए । विमानस्थल बनिसकेपछि र बनिसकेका विमानस्थलमा समयसमयमा यस्ता खाले उडान गरिन्छ । विमानस्थलमा रहेका यान्त्रिक उपकरणले काम गरेका छन्/छैनन्, त्रुटि केही छ कि भनेर थाहा पाउन नियमित उडानभन्दा पहिला क्यालिब्रेशन उडान गरिन्छ ।
पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले सोमवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ५ बजेसम्म एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने तालिका रहेको जानकारी दिए । ‘यो समयमा कति उडान गर्न सकिन्छ भन्ने विषयमा एयरलाइन्स कम्पनीका अधिकारीहरूसँग छलफल भइसकेको छ,’ गौतमले भने, ‘एयरलाइन्सहरूले क्यालिबे्रेशन फ्लाइटपूर्वको समयमा उडान गर्न सक्नुहुन्छ ।’ बिहान १० बजेदेखि १ बजेसम्म अन्य उडान हुने छैनन् ।
एयरलाइन्स कम्पनीहरूले बिहानको समयको अधिकतम उपयोग गर्न सक्ने उनले बताए । यसैगरी १ बजेदेखि २ बजेर ३० मिनेटभित्रकै अवधिमा पनि उडान गर्न सक्नेछन् । उनले क्यालिब्रेशन उडान हुँदा नियमित उडानमा प्रभावित हुने भन्दै कतिसम्म हुन्छ भन्ने कुरा वातावरण र ट्राफिकमा भर पर्ने बताए ।
यान्त्रिक उडान सफल भएपछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्ने बाटो खुल्छ । निजीक्षेत्रको विमान कम्पनी बुद्ध एयरले यो विमानस्थलबाट उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ । क्यालिब्रेशन उडानमा समय लाग्ने र नियमित सञ्चालनको मिति तोकिन बाँकी रहेकाले बुद्धले टिकट बुकिङ भने खुला गरेको छैन । बुद्ध एयरले भारतका तीनओटा गन्तव्यमा यो विमानस्थलबाट उडान शुरू गर्ने योजना सार्वजनिक गरेको छ । शुरूमा पोखरा–बनारस–पोखरा उडान गर्नेछ । यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरू भएपछि नेपालबाट अन्तरराष्ट्रिय उडान हुने विमानस्थलको संख्या ३ पुग्नेछ । लुम्बिनी प्रदेशको रूपन्देहीस्थित भैरहवामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल (गौतम बुद्ध) सञ्चालनमा आइसकेको छ ।
Read full story at source (abhiyandaily.com)