मेगा बैंकले सुरु गर्यो भू–सेवा केन्द्र, अब घरजग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा बैंकबाटै हुने
nepalhomes.com · Fri Oct 21 03:28:06 GMT 2022
काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुलाई घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवाको काम सहज रुपमा उपलब्ध गराउने उद्देश्यसहित भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भू–सेवा केन्द्र सञ्चालनमा ल्याउने मेगा पहिलो बैंक बनेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र संचालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कामको सुरुवात गरेको बैंकले जनाएको छ ।
भूमि व्यवस्था मन्त्रालयका सचिव रामप्रसाद थपलिया र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा भूमि विभागको कार्यालयमा आयोजित कार्यक्रममा अनलाइन प्रणालीमार्फत् धितो बन्धक रोक्का तथा रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भयो ।
समझदारी पत्रमा मेगा बैंकका तर्फबाट कामु सिइओ रविना देशराज श्रेष्ठ तथा विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन् ।
भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत् पेश गरे पुग्ने बताइएको छ ।
बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरुलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ ।
यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतसमेत बचत हुन गई समयमा नै बैंकिङ सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरुमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरुको भीडमा कमी आउने छ ।
मेगा बैंककी सिइओ श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताइन् ।
बैंक तथा वित्तीय संस्थाहरुमा भू–सेवा केन्द्र संचालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकोले बैंकिङ सेवा सुविधाहरुलाई डिजिटलाइज गर्ने बैंकको उद्देश्यमा अर्को कोशेढुङ्गा सावित भएको उनको भनाई थियो ।
घर, जग्गा रोक्का तथा फुकुवा कार्यलाई डिजिटलाइज गर्ने नेपाल सरकार, भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको योजनामा मेगा बैंक तथा वित्तिय संस्थाहरुमा पहिलो सदस्यको रुपमा सेवा संचालन गर्न पाउनुका साथै नेपाल सरकारको डिजिटलाइजेशन सम्बन्धी योजनामा योगदान पु¥याउन पाएकोमा समेत बैंक गौरवान्वित भएको बताए ।
भू–सेवा केन्द्र संचालनको सन्र्दभमा आवश्यक समन्वय, सहयोग तथा सहजीकरण गरिदिएकोमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे लगायतका अन्य सम्पूर्ण कर्मचारीहरुप्रति उनीहरुले बैंकका तर्फबाट आभार पनि ब्यक्त गरे ।
Read full story at source (nepalhomes.com)