भरतपुरमा शव पहिचान केन्द्र स्थापना
gorkhapatraonline.com · Fri Aug 28 05:31:46 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको शव पहिचानका लागि चितवनको भरतपुरमा शव पहिचान केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनको खाली कोठालाई शव पहिचान केन्द्रका रूपमा तयार गरिएको हो । भरतपुर अस्पतालको शवगृहमा एकै पटक २२ वटा मात्र शव राख्न सकिने भएकाले नारायणी र त्रिशूली नदी किनारमा भेटिने शवको सुरक्षित संरक्षण, पहिचान तथा आफन्तलाई बुझाउने कार्यलाई व्यवस्थित गर्न छुट्टै केन्द्र स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तयार गरिएको केन्द्रमा शव सुरक्षित राख्न कोठाको तापक्रम न्यून बनाउने गरी एसी जडान गरिएको छ । केन्द्रमा पीडित परिवारलाई आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराउन ‘पीडित परिवार डेस्क’ समेत स्थापना गरिएको छ ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदी किनारबाट उद्धार गरिएका र पहिचान गर्न मिल्ने शवलाई मात्र पहिचान केन्द्रमा राखिने छ । नदी किनारबाट उद्धार गरिएका शवलाई भरतपुर अस्पतालमा ल्याएर हिलो तथा फोहोर सफा गरिने छ । त्यसपछि आवश्यक मुचुल्का तयार गरी ‘डेड बडी प्याक ब्याग’ मा राखेर पहिचान केन्द्रमा व्यवस्थापन गरिने छ । शव राखिएको ब्याग तथा केन्द्रबाहिर पहिचानका लागि आवश्यक फोटो राखिने व्यवस्था गरिएको छ । आफन्तले फोटो हेरेर शव पहिचान गरेपछि नाता खुल्ने आधार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइने प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)