बजार अनुगमनः एक सातामा टोली २७२ व्यापारिक फर्ममा, धमाधम कार्बाही, डिपार्टमेन्टलाई जरिवाना
bizmandu.com · Sat Sep 24 07:39:17 GMT 2022
काठमाडौं। चाडबाड नजिकिएसँगै बजार अनुगमन बढाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पसल तथा व्यापारिक फर्मलाई धमाधम जरिवानाको कार्बाही गरेको छ।
पछिल्लो एक सातामा मात्रै विभागले २ सय ७२ फर्ममाथि अनुगमन गरेको छ। गत साउनदेखि हालसम्म ८ सय ४४ फर्मको अनुगमन गरी १ सय ७५ वटा फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ।
जरिवानाबाट ३५ लाख ३१ हजार असुली गरेको छ। सो अवधिमा २३ लाख ९९ हजार मूल्य बराबरको म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ।
भक्तपुरको मध्यपुर ठिमीस्थित एक डिपार्टमेन्टल स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ। विभागको टोलीले गत बुधबार अनुगमन गर्दा सो स्टोरले खाद्यवस्तुको ‘रिलेबलिङ’ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएको थियो।
विभागको अनुमगन टोलीले बिहीबार गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोलस्थित एक खाद्य वस्तु बिक्रेतालाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। मूल्यसूची, फर्म दर्ता प्रमाणपत्र बिक्री स्थलमा नराखेको पाइएको लगनखेलस्थित एक औषधि पसललाई विभागले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेका अधिकांश फर्मलाई विभागले अनुगमनका क्रममा ५/५ हजार जरिवाना गरेको छ। चाडबाड नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ्छ।
उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुमगनलाई तीव्र पारिएको विभागका निर्देशक हरि पंगेनीले बताए।
उनका अनुसार विभागले १० वटा अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। (रासस)
Read full story at source (bizmandu.com)