
श्रावण महिना हिन्दु धर्ममा असाध्यै पवित्र र धार्मिक मान्यता भएको महिनाको रुपमा मानिन्छ। यो महिना विशेषगरि भगवान शिवको आराधनाका लागि समर्पित हुन्छ। विशेष गरेर यो महिनामा सोमबारका दिनहरू अत्यन्तै महत्वपूर्ण मानिन्छन्, जसलाई “श्रावण सोमबार” भनिन्छ। यो दिन भक्तजनहरू स्नान गरि चोखो भएर पूजा आजा गर्न विभिन्न शिव मन्दिरहरू जाने गर्छन्। उनीहरूले दूध, दही, घिउ, मह, चिनी, बेलपत्र, धतुरो,फूल आदिले शिवलिङ्गलाई अभिषेक गर्छन्। शिवजीलाई प्रसन्न पार्न "ॐ नमः शिवाय" जस्ता मन्त्रहरूको जप गरिन्छ। यो महिनाभरी पूजा आजा गर्ने, साधा खाना खाने र नकारात्मक कर्मबाट टाढा रहने चलन छ।
श्रावण महिना धार्मिक नभएर संस्कृतिक रुपमा पनि महत्व छ। यो महिनामा हरियाली, सौन्दर्य र सौभाग्यको आगमन गरिन्छ। महिलाहरू यो महिनाभर हरियो सारी, हरियो चुरा, हरियो पोते र मेहेन्दी लगाएर सजिन्छन्। हरियो रङले प्रकृतिको समृद्धि र जीवनको शुभ कामको प्रतीक व्यक्त गर्छ। दिदीबहिनीहरू एक-अर्कालाई मेहेन्दी लगाइदिन्छन् र पूजापाठमा सँगै सामेल हुन्छन्। महिलाहरू सँगै भेला भई कथा सुनाउने, शिवजीको स्तुति गर्ने, र भक्ति गीत गाउने गर्दछन्। श्रावणले पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। सौन्दर्य, परम्परा र भक्ति एकै साथ अनुभव गरिने यो महिना विशेष गरी महिलाहरूका लागि आनन्ददायक समय हो।
श्रावण महिना सामाजिक, सांस्कृतिक र आध्यात्मिक एकताले भरिएको महत्वपूर्ण काल हो। यस अवधिमा गाउँघरदेखि सहरसम्म विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गरिन्छ। बोलबम यात्रामा भक्तजनहरू टाढाटाढाबाट नदी, ताल वा कुवा पुगेर पवित्र जल संकलन गर्छन् र उक्त जल शिवलिङ्गमा चढाउँछन्। यस यात्रामा "बोलबम, हर हर महादेव" को नाराले वातावरण भक्तिमय बनाउँछ। यस्ता कार्यहरूले समुदायमा धार्मिक चेतना मात्र नभई आपसी सद्भाव, सहयोग र सामाजिक एकताको भावना पनि बलियो बनाउँछन्। बालबालिकादेखि वृद्धसम्म सबै उमेरका मानिसहरू श्रावणमा रमाउँछन्। प्रकृतिले हरियाली ओढ्ने यो समयमा कृषिप्रधान समाजमा हरियो वातावरणले समृद्धिको आशा जगाउँछ। श्रावणले धर्म, संस्कृति, प्रकृति र मानव सम्बन्धलाई जोड्ने काम गर्छ।