
हिँड्दै जाँदा
मैले सोचें-
आखिर गन्तव्य नै सबै कुरा त हो,
जहाँ पुगेपछि सबै थकाइ बिसाइन्छ,
सबै भावना, सपनाहरुको अन्त्य हुन्छ,
जहाँ आफू, आफू हुन सकिन्छ अनि,
अनि भन्न सकिन्छ यो पूरा भयो ।
तर के यो गन्तव्य त्यति सहज छ?
कोहिबिना या कसैको साथ बिना?
त्यही पल बाटोले चुपचाप भन्यो—
“म बिना तिमी कहाँ पुग्न सक्थ्यौ र?”
धुलोले भरिएको पाइला,
घामले डढेका अनुहार,
जिम्मेवारीले लत्रेका काँध,
सपनाले भरिएका आखाँ,
अनि अँध्यारोले छोपेको क्षणहरू-
यी सबै त मेरै कथा हुन्,
आखिर त्यही बाटोकै कथा हुन्,
जहाँबाट गन्तव्यको यात्रा म तय गर्दैछु ।
भन्यो, म तिम्रो यात्राको सहयात्री हुँ।
फेरि गन्तव्य टाढा कतै मुस्कुराइरह्यो,
तर बाटो,
बाटोले साथ दियो,
हरेक पाइला साथ दियो।
कहिले उकालो, कहिले ओरालो,
कहिले सीधा, कहिले घुमाउरो-
तर हरेक मोडमा साथ दियो ।
जहाँ-जहाँ म पुग्दै गएँ,
त्यही म आफैलाई भेट्दै गएँ ।
र अन्त्यमा बुझें—
गन्तव्य त एउटा बहाना मात्र पो रहेछ,
जीवन त
बाटोमै लेखिँदो रहेछ ।
अनि बाटोमै सकिँदो रहेछ ।
-राजेश स्पन्दन