Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


विश्व मानसिक स्वास्थ्य दिवस
विशेष अडियो सामग्री
Tap to listen
कोभिड–१९ महामारीको आक्रान्तबाट बल्लतल्ल अगाडि बढ्न खोजिरहेको विश्वमा अनेक प्रकारका मानसिक स्वास्थ्य समस्याहरू थपिएका छन् । वर्ष २०२२ को विश्व मानसिक स्वास्थ दिवसको नारा पनि यसै परिवेशमा 'Mental health in an unequal world' अर्थात् ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने तय भएको छ ।
एउटा बालक बिहानैबाट स–साना कुरामा हाँस्छ, खित्का छाडेर । उसलाई रुखबाट झरेका पात या बलेसीबाट तप्केका पानीका थोपा सबैले हसाउँछ । सुस्तरी हुर्कदै जाँदा उसको जीवनबाट बालापन अनि त्यो बालकको छवि हराउँछ । ऊ अब हास्न कारण खोज्छ ।
अब उ हाँसोको अर्थशास्त्रको तनावपूर्ण विद्यार्थी हुँदै जान्छ । विद्यालय अनि कलेजका कार्य, कामको तनाव, सम्बन्धको गहिराई अनि जीवनका साध्यहरूले उसको हाँसो शोसेर लाने गर्छन् । हाम्रो बयस्क जीवनको कार्यगत अनि विद्यार्थी पलको अधिकांश हिस्सा काम अनि भागादौडमै बित्छ । चाहे बालक होस् या वृद्ध अनि बयस्क नै किन नहोस्, जीवन सबैका लागि समान नहुन पनि सक्छ ।
तनाव, सीमा, तुलना, संयम अनि हिनतावोध धेरै कुराहरूबीच जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ । हामीले सबै गतिविधिलार्य सन्तुलनमा राखेर अगाडि बढ्नु जरुरी छ । जीवन केवल उपभोगकर्ता र उपलब्धिको धरोहर मात्र हैन । शून्यताबीच रहेको निरपेक्ष हरेक श्वासहरूको माला गाँसेर बनाइएको जीवनको महत्व पनि बुझ्नु जरुरी छ ।
सूर्य उदाउँदा हाँस्न भुलेको मानिसलाई आजभोलि हाँस्न बैंकमा ब्यालेन्स या राम्रा फोन या अन्य भौतिक अवयवहरू चाहिन्छ । जीवनको खुशी र सन्तुष्टि भौतिक प्राप्ति र प्रतिस्पर्धामा मात्र देख्ने पुस्ताले हाँस्न अनि हँसाउन नजानेको त पक्का हो । अर्कालाई पछारेर आफू अगाडि बढ्नुलाई जितको परिभाषा बनाएका मान्छेको झुण्डले एउटा अस्वस्थ प्रतिस्पर्धाबीच अन्योलको परिधि बनाएका छन् । अनि तनावपूर्ण जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।
यस्ता प्रतिनिधि पात्र बालक जस्ता अरबौं मानिसहरू एक खित्का पनि नहाँसी अनि तनावबीच नै आफ्ना दिन अनि वर्षहरू गुजारिरहेका छन् । आत्महत्या, हत्या, नशा सेवन, दुर्घटना अनि कैयन असरहरू त हाम्रा टोल–छिमेकमै दैनिक सुनिन्छ ।
मानसिक स्वास्थ्यको यिनै मुद्दा अनि परिवेशले ल्याएको चुनौतिलाई विश्वभरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरूमा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ । मानसिक स्वास्थ्यका मुख्य आधारहरू भनेको मानवीय संवेदनात्मक सहयोग र भावनात्मक प्राथमिक उपचारहरू हुन् ।
जसरी कुनै दुर्घटनामा परेका ब्यक्तिहरूलाई भौतिक प्राथमिक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका ब्यक्तिहरूलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी हुन्छ । बढ्दो आधुनिकता, बदलिँदो जीवनशैली अनि बढ्दो मानवीय महत्वकांक्षाका कारणले मानिसहरूमा लामो समयसम्मको निराशापन, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरू बढिरहेका छन् ।
जीवन अनमोल छ । यहाँ महत्वपूर्ण कुराहरू जस्तैः धन सम्पत्ति र सुन चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो । कमाउने र जोगाउने दौडमा कतै हामीले बाँच्न त बिर्सिरहेका छैनौँ ? खुशी हुनु र सकारात्मक सोच राख्नु एकदमै ठूलो कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न नभुलौं ।
स्मरणरहोस्, हरेक वर्ष करिब ३० करोड मानिसहरू संसारमा ‘डिप्रेशन’का शिकार भइरहेका छन् । खुशी अनि सन्तुष्टिकासाथ जीवन बाँच्ने आधार नै मानसिक स्वास्थ्यको पहिलो खुड्किलो हो । हामीलाई त्यसै ३० करोडको सूचीमा नाम लेखाउने रहर पक्कै पनि छैन । जीवनमा सक्दो प्रयास गर्न सक्नु नै उपलब्धि हो
परिणाम त केवल उपज मात्र हुन्, प्रयासको । हामी छाँयाको पछाडि कुद्न बन्द गर्दै जीवनको वास्तविक मूल्यको पछि लाग्न जरुरी छ । हरेक दिन घट्दै गएका यी सीमित जीवनका दिनलाई रमाइलो गरी बिताउने साहस सबैमा होस् ।
मानसिक समस्या भएकाहरूको विशेष रेखदेख र स्वस्थ्य र सामान्य जीवनका लागि पहल गर्नु हाम्रो दायित्व हो । उनीहरूलाई दया होइन माया र स्नेहले भरिएको सामाजिक संरचनाको विकास गरौं ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
