Blog · Literatureनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू


सिंह संक्रान्ति
विशेष अडियो सामाग्री
Tap to listen
बैशाख, जेष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् आज संक्रान्ति । यस अर्थमा एक बर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिहं संक्रान्ति भनिएको हो ।
अब एकतमासको घाम अनि बर्षा पछिको शितलता अनि थप आद्रता सहितको गर्मी शुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शितलताले दशैंको आगमनको संकेत दिनेछन र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिंदो मौसमको फरक दृश्य र फरक दैनिकी महशुस गर्न पाउनेछन । हरेक विहानका वातावरणले एकखाले चाडवाडको बेग्लै सुगन्ध छर्नेगर्छ । पारिला घामका रापहरु अनि घरि-घरि आकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयूक्त वातावरण अनि सफा चिप्लो बाटोयूक्त वातावरणको अनुभूति अबका केहि महिनाका सुखद सङ्केत हुन् ।
भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झै यो महिनाले ओगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान बिष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।
लाखाैं नेपाली मनहरूलाई जाँदाजाँदै यो वर्षालाई विदा गर्दैगर्दा अर्को बर्षको बर्खामा यसबर्ष भएका खाल्टाखुल्टी नहुन्, धुलोले आँखा नपोलोस् अनि कहिँकतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस, घामपानीले साथ दिओस् ।
सुर्य चन्द्रले हामीलाई सदैव सहिमार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैं कायम होस्, शुभदिन ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल