मन्दिप गाैतम · Dec 5, 2016
लोडसेडिङ वर्षौंदेखि नेपाली समाजको एउटा मुख्य समस्या हो, तसर्थ बिजुली कै मुद्दामा विशेषगरी देशमा कुनै चलचित्र बन्न सकेको थिएन । यही शुक्रवार रिलिज भएको “बिजुली मेसीन” ले देशले झेलिरहेको बिजुली समस्याको विकल्प निकाल्न दुई नेपाली विद्यार्थीको संघर्ष देखाएको छ । कस्तो बनेको छ त चलचित्र बिजुली मेसीन जानौँ यो चलचित्रको समीक्षामा ।
प्लट
अभिषेक सुवेदी र जीवन अधिकारी अर्थात साइमन र प्रतीक इलेक्ट्रोनिक्स इञ्जिनियरिङ अध्ययन गरिरहेका दुई प्रतिभाशाली विद्यार्थी हुन ।
खासगरी साइमनले पढ्दा पढ्दै एउटा बिजुली मेसीन बनाएका छन् उनको त्यो मेसीनको सहयोगमा उनी आवाजबाट विद्युत उत्पादन गर्न चाहन्छन् । समाजलाई लोडसेडिङ मुक्त बनाउन विकल्पको रूपमा प्रयोग गर्न सकिने उनको त्यो बिजुली मेसीन निर्माण कार्यमा उनलाई प्रतीकले साथ दिन्छन् । त्यसपछिको चलचित्रको कथा ती दुई पात्रले बिजुली मेसीनलाइ प्रयोगमा ल्याउन गर्ने संघर्ष र मेहनतमा घुमेको छ ।
कथा, पटकथा र संवाद
निर्देशक नविन अवालले नै लेखेको चलचित्रको कथा युवावर्गहरुलाई लक्षित हो, उनको यो सरल कथा पृथक अवश्य छ, तर निर्देशक अवालको पटकथा लेखन शैली अलि निखारिएको छैन । एउटा पृथक कथालाई उनले जतासुकै पनि बगाउन सक्थे पक्कै पनि उनले आफ्नो कथामा ड्रामा भर्न नचाहेको चलचित्र हेरेरै थाहा हुन्छ तर सरल फिल्म बनाउने कोशिसमै उनको चलचित्रले दर्शकलाइ खासै इन्गेज गर्न सकेको छैन र चलचित्र निक्कै नै सीमित दर्शकको लागि मात्रै हुन पुगेको छ । चलचित्रको पटकथा यति कमजोर छ कि चलचित्र सुरु भएको निक्कै बेरसम्म पनि कथा अगाडि बढ्न नसकेको दर्शकलाई महसुस हुन्छ । चलचित्रमा लेखक निर्देशकले कुन गाउँको कुरा गरिराख्या छन् त्यो बुझ्न नि निक्कै कठिन हुन्छ ।
चलचित्रको संवादहरु कुरा गर्नु पर्दा निक्कै कम संवादहरु स्वादलाग्दा छन् ।चलचित्रको पटकथा र संवादहरुमा मेहेनत को कमि देखिन्छ ।