मन्दिप गाैतम · Sep 1, 2017
सफल चलचित्र "ए मेरो हजुर"का नायक श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मी अहिले हामीमाझ रहेनन् । नेपाली चलचित्र क्षेत्रले यी दुईको कमिलाई सदैव याद राख्नेछ । त्यही चलचित्र "ए मेरो हजुर"मा स्व. नायक र निर्देशकसँग सहकार्य गरेकी नायिका झरना थापाले निकै लामो समयपछि उक्त चलचित्रको सिक्वल "ए मेरो हजुर २" पहिलो पटक निर्देशन गरेर दर्शक माझ प्रस्तुत गर्ने जमर्को गरेकी छिन् । पूर्णतया रोमान्टिक चलचित्र "ए मेरो हजुर २" ले दर्शकको मनमा पूरानो चलचित्रले बनाएको स्थान यथावत राख्न सक्छ त ? आउनुहोस् जानौं चलचित्र ए मेरो हजुर २ को समीक्षामा ।
प्लट
प्रेम अर्थात सलिनमान बानियालाई आफ्नो बाल्यकालमै स्कूलको साथी माया (साम्राज्ञी राज्यलक्ष्मी शाह) सँग प्रेम भएको हुन्छ । तर बुबाको सरुवा भएपछि त्यो ठाउँ छाडेर गएका सलिनको कलिलो प्रेम त्यसबेला अधुरै रहन्छ तर सलिनले मायालाई वचन दिएका छन् कि उनी मायालाई भेट्न अवश्य आउनेछन् । ठूलोभएपछि सलिन आफ्नो दुई साथी सलोन बस्नेत र अम्बरसँग पोखरा जान्छन् र त्यहाँ गएर मायालाई भेट्छन् । तर समयसँगै सबैथोक परिवर्तन हुन्छ भने झै मायामा पनि परिवर्तन आइसकेको छ । उनलाई अब सलिनसँग प्रेम छैन र शिघ्र उनको विवाह अरु नै कसैसँग हुन गइरहेको छ । यस्तोमा अब सलिनले साम्रागीको माया कसरी पाउँछन् । के यी दुवै फेरि प्रेममा बाँधिन्छन् त ? यो सब थाहा पाउन चैं यहाँले चलचित्र "ए मेरो हजुर २" हेर्नुपर्ने हुन्छ ।
कथा, पटकथा र संवाद
हरिहर अधिकारीले लेखेको चलचित्रको कथा पुरानो रोमान्टिक फिल्म फर्मुलामा छ । उनलाई पटकथामा भने सामीप्यराज तिमल्सिनाले साथ दिएका छन् र यी दुईले लेखेको चलचित्रको पटकथा ठिकठाक छ । पटकथा निकै सीमित पात्रहरुमा लेखिएको छ जसकारण चलचित्र कहीकतै बोरिङ लाग्दछ । त्यस्तोमा चलचित्रलाई उत्कृष्ट संवादले सम्हालेको छ । दोहोरो अर्थ लाग्ने संवादहरुले दर्शकलाई खुब हसाउँछ र चलचित्रबाट ध्यान भट्काउन भने दिंदैन । बाँकी चलचित्रको दोश्रो हाफमा सलोनको लभस्टोरीको अगाडि सलिनको लभस्टोरीमा दर्शकको रुचि कम जानेछ तर लजिक नभएपनि उत्कृष्ट तरीकाले लेखिएको क्लाइमेक्सले दर्शक हलबाट बाहिर निस्किँदा उनीलाई खुशी भने अवश्य पार्नेछ ।