सुधन सुवेदी · Jun 26, 2020
देश कता कता अटाएन
ऊ देशमा अटाएन
के मात्रै फटाएन
रफ्फु गर्ने ठाउँ बाँकी नभएको पाइँट
सादाबाट नौ रङिएको सर्ट
सर्टिफिकेट गुथ्ने माई क्लिएर फाइल
फ्याट फ्याट गर्ने हात्ती छाप चप्पल
मेरो नम्बर आउँछ
बर्बराउँथ्यो, बौरिन्थ्यो
ढोका ढोका कुद्थ्यो
मेरो ज्ञान सीप कँही त बिक्थ्यो
रोजगार म पनि, सपना मेरा पनि
कुम जोडेर पढेको साथी
उसको भन्दा त मेरै नम्बर माथी
ढुक्क ढुक्क थियो
तेइ साथी चुनियो ऊ फेरि उम्कियो
समयले ढुकढुक मात्रै बढायो
अनि एकदिन देश मातापितासँगै छोड्दै
नाता सम्बन्धलाई नयाँ नसोचेको मोड दिदैँ
विदेशियो
जान्ने भएर गरेको बकबक बकवास भयो
सर्टिफिकेट छाप्रैमा मैलिएको क्लिएर ब्यागमै रह्यो
पसिनालाई अनुभव चाहिएन, सर्टिफिकेट खोजिएन
ड्युटीका ओभरटाइम चढिरहे
समय घट्ट रफ्तारिरह्यो
कविता प्रवासबाट फुरिरह्यो
बढो चोटिलो भोगाइका मार्मिक लेखाइ
शीर्षक तल नामसँगै प्रवासी उसको उपनाम
छापामा अनलाइनमा उसलाई पढ्थे पढ्दैनथे
एकाएक त्यो प्रवासी उपनाम अलप भो
अनि एकदिन चारपाटे बाकसमा स्वर्गवासी भनी तेई नाम प्रकट भो ।