प्रकाशमणि खनाल · Jul 19, 2019
वर्षा निरन्तर भएर नदी बढेर।
मेरो भयो घर भरी जलमग्न हेर।।
लग्यो अनाज कति बालक हे जवानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।
बल्दैन अग्नि किन हेर रिसाउँदै छ।
चल्दैन हात तन आज निदाउँदै छ।।
डुब्यो पलङ्ग घर लौ तनको लगानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।
आँखा भिजेर जलमा कति आँसु झर्छ।
एक्कासि जीवन भरेर पिडा थुपार्छ।।
निस्केर झुल्क रवि देउ नयाँ बिहानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।
आन्द्रा बटार्दछ कयौं न त थाम्न सक्छु।
बेहोसमा घरिघरी जल माथि लड्छु।।
कालो यहाँ जमिन भित्र घुमे मदानी।
वर्षा भयो नपरिदे अब पुग्छ पानी।।
सुख्खा लुगा बदनमा कति भेटिदैन।
दुर्भाग्य जीवन भयो किन मेटिदैन।।
ओढेर पाल मुनि बस्नुछ सँग नानी।
भो भो भयो नपरिदे अब पुग्छ पानी।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |