उद्धव देवकोटा · May 16, 2024
मधुमासको सुरम्य रातमा
एक भएझैं
दुई अपरिचित मन
निसासिने गरी आलिङ्गन गर्छन्
चुम्छन् एकअर्कालाई
समर्पित हुन्छन् एकअर्कामा
अनि
बगाउँछन् आ-आफ्नो सौर्य
रातिन्छन् लाजले
छर्दछन् कौमार्य
वसन्तमा डाडै ढाक्नेगरी फूलेको गुराँसझैँ
तब मुस्कुराउँछन् रङ्गहरू
गालाभरि क्यानभासको
खाली तनभरि
मडारिन्छन् कुची
निस्फिक्री नाच्दछन्
साना, ठूला, मझौला ब्रसहरू
घोटिन्छन् थरिथरिका धारिला औजार
खोज्दछन् सुर र ताल
सुस्त सुस्त चलिरहन्छन् कुची
बगाइरहन्छन् पुरुषार्थ
र
जन्माउँछन् सुनौलो सृजना
क्यानभासमा
मष्तिस्कको गर्भबाट ।
