प्रतिमा प्याकुरेल · Aug 12, 2024
मेरो प्यारो छोरा
सुन्छु तेरो सहरमा
शिरको टोपी खस्ने
महल छ अरे,
मैले आफ्नो जिन्दगीभर
कमाउन नसकेको सम्पत्ति त
तेरो एक महिनाको
तलब छ अरे,
मेरो प्यारो छोरा
दमले उठ्न नसकेकी
तेरो आमालाई,
एक चोटि तेरो अनुहार हेर्ने
रहर छ अरे
फर्केर आउँछु आमा बुवा
पिर नलिनु भन्दै गएको थिस्
लाग्छ, गाउँ आउने बाटो बिर्सिस्
सहर छिरेसी गाउँको माटो बिर्सिस्
मेरो प्यारो छोरा
कुनै गुनासो छैन तँ सँग
हामिविना खुशी छस् अरे अचेल सुन्छु
बरु, चितामा आगो लगाउन आएस् बिन्ती गर्छु।
