राम उदित · Nov 6, 2023
बर्फिला पहाडहरू टेकर
कुल्चदैँ आफ्नै उचाइका डोबहरू
उड्दै रहरका चङ्हरू
पैतालाहरूले नाप्दै असिम दुरीहरू
एउटा रहरको नदी बग्दै
तिमीसम्म आइपुगेको हूँ
उदास रूखको थांक्रो
फिंजाएर हेमन्थ थपक्क आँगनमा
बसेको छ
अनुहार भरि फुस्रो रङ पोतेर
सिङ्गै आकाश तिम्रो आँखामा बसेको छ
कठ्याङ्रगिएर चराहरू गुँडमै
खुम्चिएर बसेका छन्
न्यानो कहाँ पाउनू
आँफैमा बाफिनु छ,
आँफैमा सेलाउनु छ
एक अँगालो तिमी उता छौ
एक अँगालो म यता छु
दुरताले मनभरि डसिरह्यो
यादको मधुमास
यसरी कसरी फुलिरहन सक्छ
जीवनको फूल?
यस्तो दुरतामा कहाँ हाँसिरहन सक्छ
उदास मन?
प्रिय अब त हाँस
एउटा वसन्त तिम्रो आँखामा बास
बस्न आइपुगेको छ
एउटा रङ तिम्रो अनुहारमा
खस्न आइपुगेको छ !
