Bishwa Raj Adhikari · Sep 11, 2016
किताबको बिक्रीबाट यति राम्रो आम्दानी हुने औसरलाई हामी त्येतिकै गुमाइ रहेका छौ। यथार्थमा भन्ने हो भने हामीलाई व्यापार गर्न नै आउँदैन। व्यापारको औसर पहिचान गर्न र त्यसबाट भरपुर फाइदा उठाउन नै आउँदैन। नेपाली समाजलाई मारवाडी समुदायले व्यापार नसिकाएको भए व्यापारको क्षेत्रमा नेपाल अझै पछाडि रहने थियो। बिराटनगर, बीरगंज, काठमाडौ जस्ता नेपालका ठूला सहरहरूमा व्यापारिक गतिविधिहरूको विकास गर्नमा मारवाडी समुदायको ठूलो योगदान छ। अहिले पनि नेपालका ठूला व्यापारीहरूको चर्चा हुँदा मारवाडी व्यापारीहरुको नाम पहिले आउँछ, उदाहरणका लागि विनोद चौधरी।
नेपालमा कुनै एक साहित्यकारले एक किताब प्रकाशित गरेपछि त्यसको प्रचार प्रसार प्रकाशकले गरिदिएको ज्यादै कम देख्न पाइन्छ। यसैगरी उक्त साहित्यकारको किताबको बितरक, थोक बिक्रेता वा खुद्रा बिक्रेताले प्रचार प्रसार गरिदिएको त झनै देख्न पाइँदैन। सरकारले गरिदिने त कुरै भएन। यस्तो किन भएको हो भने कुनै एक साहित्यकारले लेखेर बजारमा ल्याएको किताबलाई बितरक, थोक बिक्रेता र खुद्रा बिक्रेताहरूले आफ्नो व्यापार नै ठान्दैनन। त्यो किताबको बिक्री राम्रो भएमा त्यसबाट आफूहरूले राम्रो आम्दानी प्राप्त गर्ने तथ्यलाई बेबास्ता गर्छन।