ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Sep 26, 2022
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । दुर्गादेवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारण गर्नुहुन्छ । आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।
