Blog · Literatureकथा तथा उपन्यासहरू
सन्देश पाण्डेय · Feb 20, 2020
"मलाई माया गर्ने कोही छ?" यो वाक्य निदारमै लेखेर हिँडम् जस्तो लाग्छ । कहिले काहीँ यस्तो लाग्छ सबै कुरा मेरो प्रतिकुल बनेका छन्। गोलपार्क नजिकैको त्यो बूढो बहुमुखी क्याम्पस मलाई एकटक हेर्छ। खै? के सम्झेजस्तो गर्छ,अनि किराले खाएर बिग्रिएका केही अवशेष दाँत देखाएर ङिच्च हाँस्छ। उसको बहुमुखले मलाई हेरिरहन्छ, म अगाडि बढ्छु।बिग्रिएको बाटोको बीचमा भएको खाल्टोमा मेरो खुट्टा अल्झिन्छ। मेरो टाउको शरीरभन्दा अल्लि अगाडि हुत्तिएला जस्तो हुन्छ। चस्मा नाकको तल आइपुग्छ। म धन्नै धन्नै लड्नै लागेको हुन्छु। "बिग्रिएका तेरा आखाले अल्लि हेरेर हिड्ने गर् म धन्नैले फुटेको थिए।" मलाई मेरै चस्माले यत्तिकैमा गालि गर्छ।