Blog · Literatureकथा तथा उपन्यासहरू
Bishwa Raj Adhikari · Jul 26, 2016
केही बेर पछि आएका दुई महिलाहरुले त्यो बैलको शरीरबाट केही मासु झिके। त्यो दृश्यले गर्दा बैलको अन्तेष्टि हेर्ने उजरीको इच्छा पहिले भन्दा झनै तिब्र भयो। त्यो बैलको आँखा फोड्ने कार्यमा केही कागहरु ब्यस्त देखिए। गाउँका कुकुरहरुले मासुको गन्ध पाएता पनि कुन दिशाबाट त्यो गन्ध आएको हो पत्ता लगाउन नसकेको हुनाले गन्ध कताबाट आएको हो भनी थाहा पाउन ती कुकुरहरु कहिले यो कहिले त्यो दिशामा कुद्न थाले।
केही गिद्धहरु रुखमाथि बसेका थिए। उजरी त्यो दृश्य कौतुहलतापूर्वक हेर्दै थिई। कुकुर वा गिद्धले जित्ने हो भन्नेमा उसको उत्सुकता केन्द्रित भयो। लामो समयसम्म दुबै पक्षहरु बीच भएको युद्ध पछि बैलको शरीरबाट मासु नै रित्तियो। बाँकी थियो भने केवल हाड र सिङ्ग। कुकुरहरु भुक्दै गाउँतिर कुदे अनि गिद्धहरु आकाशतिर उडे। उजरीको दृष्टि कहिले कुकुर कहिले गिद्धतिर केन्द्रित भएको देखियो।