हुर्किसकेका सन्तानमाथि 'ट्र्याकिङ एप्स'मार्फत् नजर राख्नु कति उपयुक्त

हुर्किसकेका सन्तानमाथि 'ट्र्याकिङ एप्स'मार्फत् नजर राख्नु कति उपयुक्त

bbc.com . ४३ मिनेट अघि

यो हेरचाह हो कि नियन्त्रण?

धेरै अभिभावकहरूले आफ्ना हुर्किइसकेका सन्तानमाथि नजर राख्न मोबाइल फोनको सहारा लिइरहेका छन्। यो ठिक हो (उनीहरू यसबारे सहमत भएका खण्डमा) वा आफ्ना छोराछोरीलाई स्वतन्त्र छाड्न मातापिताहरूलाई भइरहेको कठिनाइको सङ्केत हो?

त्रिपन्न वर्षका स्टिभन मेड्वे दुई सन्तानका पिता हुन्। आफ्नो पूरै परिवारलाई एउटा ट्र्याकिङ एपमा समेटेका उनले अन्य केही अभिभावकहरूबीच यसबारे बहस हुनुको कारणबारे बुझ्न सकेका छैनन्।

उनका अनुसार खासगरी छोरी मार्था पढाइका निम्ति १०० माइल परको विश्वविद्यालय गएपछि यो निकै उपयोगी भइरहेको छ।

"तपाईँसँग त्यो हुँदा उनी अलिक कम दूरी महसुस गर्छिन्," उनले भने।

अस्ट्रेलियामा इन्स्टाग्रामले किशोरकिशोरीको अकाउन्ट बन्द गर्ने

मोबाइलमा 'मीम' हेर्दै समय बितेको पत्तो पाउनुहुन्न? यस्तो अवस्था जनाउने नयाँ शब्द छ

'यूनाइट स्टुडेन्स'ले विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययन गरिरहेका यूकेभरका १,०२७ अभिभावकहरूमाझ गरेको एक अनुसन्धानले ६७ प्रतिशतले आफ्ना सन्तानको 'लोकेशन'माथि नजर राख्न त्यस्ता एप्सहरू प्रयोग गर्ने गरेको तर १७ प्रतिशतले मात्रै दिनहुँ सम्पर्क गर्ने गरेको देखायो।

सामाजिक सञ्जालहरूमा मानसिक स्वास्थ्यबारे लेखिरहने जेनरल फिजिसिअन तथा लेखक डा मार्टिन बर्नेट यसलाई "निजी छनौट"को विषय मान्छन्।

तर केटाकेटीकै भलाइका निम्ति "उनीहरूलाई गुँड छाड्न दिन" अभिभावकहरूलाई उनको दृढ सल्लाह छ।

"आफ्नो सन्तानलाई स्वतन्त्र छाड्नु बाबुआमा हुनुको सबैभन्दा कठिन पक्ष हो र हाम्रो आधुनिक संसारले हामीलाई त्यसो गर्न सजिलो बनाइरहेको छैन। यो ठिक हो कि होइन म पक्कासँग भन्न सक्दिनँ," उनले भने।

स्टिभनले वर्षौँदेखि 'लाइफ ३६०' एप प्रयोग गर्दै आएका छन्। छोरी मार्था (हाल १९ वर्ष) ले गाउँदेखि टाढा साथीहरूसँग समय बिताउन थालेसँगै पहिलोपटक उनले यो कदम चालेका थिए।

"हामी निकै ग्रामीण क्षेत्रमा बस्छौँ। उनलाई लिन जानु पर्‍यो वा केही चाहियो भने यसो गर्नु उपयुक्त जस्तो लाग्छ। मार्था जहाँसुकै भए पनि यसले उनी कहाँ छन् भन्ने देखाउँछ।"

नयाँ 'स्मार्टफोन' किन किन्ने? किन कोहीकोही पुराना साधारण फोनमा फर्कन खोज्दै छन्?

सुरुङमा १७ दिन थुनिँदा 'मोबाइल गेम र योगको सहारा'

त्यसैले जब मार्था सेप्टेम्बरदेखि रिडिङ विश्वविद्यालयमा पढ्न थालिन् उनीहरूलाई उक्त एपको प्रयोग जारी राख्नु बिल्कुल स्वाभाविक लाग्यो।

"उनी पार्टीहरूमा जान्छिन् र साढे तीन बजेसम्म पनि आफ्नो हलमा फर्कन्नन्। तर केही छैन, म 'के हुँदैछ' भनेर फोन गर्दिनँ।"

"बिहान म जब उठ्छु, उनी आफ्नो हलमा फर्किसकेकी छन् कि छैनन् भनेर थाहा पाउन सक्छु। फर्किएकी छैनन् भने रिडिङतिरै हुन सक्छिन् वा उनको फोन त्यहाँ हुनसक्छ र म सायद उनलाई एक कल गर्छु।"

"उनले केही नगरुन् भन्ने चाहेको होइन, म केवल उनी फर्किए नफर्किएबारे थाहा पाउन चाहन्छु।"

स्टिभन आफ्नी छोरी "एक स्वतन्त्र स्वभावकी केटी" भएको बताउँछन्। उनका अनुसार मार्था एक्लै एक महिना जापान घुमेकी छन्। साथीहरूसँग अन्तरदेशीय रेल सेवामार्फत् युरोपका विभिन्न स्थान पनि गएकी छन्। त्यसले गर्दा छोरी घरबाट टाढा रहने विषयमा उनलाई बानी परेको छ।

तर मार्थाले आजसम्म "एकपल्ट पनि" उक्त एप बन्द नगरेको स्टिभन बताउँछन्। तर उनले त्यसो गर्न चाहिन् भने आफूले त्यसको सम्मान गर्ने उनले बताए।

"धेरै मानिसलाई मैले उनलाई बाध्य पारेर निगरानी राख्छु भन्ने भ्रम छ। उनले नचाहेको खण्ड जुनसुकै बेला त्यसलाई बन्द गर्न सक्छिन्। म उनलाई बन्द गर चाहिँ भन्दिनँ।"

'ऊ मेरो बच्चा हो'

पब सञ्चालक मारिआ कन्नोलीका १९ वर्षीय छोरा ओवेनले हालै हार्टफोर्डशस्थित विश्वविद्यालयका निम्ति स्वान्सीस्थित घर छाडे।

छपन्न बर्सिया मारिआका अनुसार उनका छोरा 'अटिस्टिक' किशोर हुन्। उनका अनुसार ओवेन 'निकै सोझो' हुन सक्छन् र आफ्नै उमेरका साथीहरूसँग घुलमिल हुन गाह्रो पर्न सक्छ। त्यसैले यस्तो अवस्थामा उक्त एपले आफूलाई मानसिक शान्ति दिएको महसुस हुने उनी बताउँछिन्।

उनी दिनहुँ केही पटक उक्त एपमार्फत छोरो बाहिर निस्किरहेको सुनिश्चित गर्छिन् र फोनको ब्याट्री पनि जाँच्छिन् ताकि आवश्यक पर्‍यो भने चार्ज गर्न सम्झाउन सकियोस्।

"सुरुमा त अलिकति हच्किएको थियो तर मैले 'म तिम्रो फोनको पैसा तिरिदिन्छु र सधैँ मैले पैसा हाल्दिराखोस् भन्ने चाहन्छौ भने फोनमा त्यो एप हाल भनेर भनेँ।'"

मञ्च, अवसर र चर्चा: बालबालिकाको 'असंवेदनशील' प्रयोगले कस्तो असर पार्दैछ?

खसेको फोन निकाल्न जलाशय सुकाउने कर्मचारी भारतमा निलम्बित

"तिमी वेदरस्पून्समा छौ भन्ने म देख्छु, कुन टेबलमा बसेका छौ भन त, म केही ड्रिङ्क्स पठाइदिन्छु पनि भन्छु," यसरी हामी यसलाई रमाइलो पनि बनाउँछौँ तर सधैँ मनको एउटा कुनामा यो एप सुरक्षाको निम्ति हो भन्ने लागिरहन्छ।

मारिआ ओवेनले उक्त एप प्रयोग गर्न नचाहेमा "निराश" हुने तर आफूले छोराले चाहेझैँ गर्ने बताउँछिन्। त्यसो भएमा छोरालाई केही अधिक फोन र 'मेसेज' गर्ने उनी बताउँछिन्।

"उ स्वतन्त्र छ र मैले जान दिएकी छु। लगातार जाँचिरहेकी पनि छैन तर एउटा सुरक्षाको कडी छ भन्ने थाहा पाउँदा आनन्द हुन्छ।"

"ऊ अब केटाकेटी छैन तर मेरो सन्तान हो। ऊ मेरो बच्चा हो।"

स्टिभनका निम्ति पनि सुरक्षा नै सबैभन्दा ठूलो कारक हो। उनले यसबारे बताइरहँदा तीनजनाको ज्यान जाने गरी सन् २०२३ मा भएको एउटा सडक दुर्घटनाको उदाहरण दिए जसमा ठक्कर दिने कार पत्ता लगाउन प्रहरीलाई दुई दिन लागेको थियो।

"त्यस्तो स्थितिमा सटिकता र गतिले निकै अर्थ राख्छ र यिनले (ट्र्याकिङ एप्सले) हामीलाई त्यो प्रदान गर्छ। त्यसैले यो मेरा निम्ति अमूल्य छ।"

भलै उनीमाथि छोरीको भर नगरेको आरोप लाग्ने गर्छ। तर स्टिभन सत्य त्यसको विपरीत भएको बताउँछन्।

"यदि तपाईँ आफ्नो परिवारजनलाई आफ्नो लोकेशनबारे चौबीसै घण्टा पहुँच दिनुहुन्छ भने उनीहरूमाथि पूरै विश्वास गरेको हुनु पर्छ," उनी भन्छन्।

'यूनाइट स्टुडेन्ट्स'को सर्वेक्षणले ५९ प्रतिशत आमाहरूका तुलनामा ७१ प्रतिशत प्रतिशत पिताहरूले आफ्ना विश्वविद्यालय पढ्ने सन्तानमाथि 'ट्र्याकिङ एप्स'मार्फत नजर राख्ने गरेको देखायो।

विमान उड्दा र अवतरण गर्दा किन फोन चलाउन दिइँदैन

फ्रोयड जीवित भएको भए सेल्फी खिचेको देख्दा के भन्थे होला

कार्डिफकी लिआन हान्नम पनि आफ्नी २१ वर्षे छोरी इरिन मेइ र १५ वर्षे छोरा अस्टिन लीमाथि नजर राख्न 'लाइफ ३६०' प्रयोग गर्छिन्।

"आजकल जस्तो संसार छ, यो समय र यो उमेरमा म आफ्ना बच्चाहरू कहाँ छन् भनेर जान्न चाहन्छु," उनले भनिन्।

लिआनलाई उक्त तरिका एक वर्षजस्तोअघि छोरी इरिनले नै सिकाइकी थिइन्। इरिन त्यसबेला उक्त एप आफ्ना साथीहरूसँग प्रयोग गर्दै थिइन्।

खासगरी आफ्नी छोरी नयाँ ड्राइभर भएको र राति पनि काम पर्ने भएकाले पैँतालीस वर्षकी लिआनलाई त्यसो गर्न उपयुक्त लाग्यो।

"एकदमै चिन्तित रहने बानी भएकाले यसले मलाई शान्ति दियो। म उनलाई स्वतन्त्र छाड्न सक्छु र उनी कहाँ छिन् भन्ने थाहा हुने हुनाले म जहिल्यै हेरिराख्दिनँ," उनले भनिन्।

"मलाई हुर्किएका छोराछोरीलाई स्वतन्त्र छाड्न कठिन भइरहेको होइन, बाहिरी दुनियाँको चिन्ता लागेर हो। त्यसले मलाई भयभीत तुल्याउँछ।"

के विश्वभरि इन्टरनेटको कुलत बढ्दो समस्या बनेको हो

सोसल मिडियामा कसरी सुरक्षित हुने

डा बर्नेटलाई आफ्ना सन्तानसँग सहजै सम्पर्क हुन नसक्ने जमानामा मातापिताहरू यति चिन्तित हुने गर्थे भन्ने लाग्दैन।

"विश्वविद्यालय जाँदा पनि नजर राख्नुहुन्छ त के पाँच वर्षपछि पनि त्यसै गरिराख्नुहुन्छ? यो कहिले रोकिन्छ?"

"मैले ट्रयाकिङ कम्पनीहरूलाई खराब भन्न खोजेको होइन तर तिनीहरू आफ्नो उत्पादन बेच्न खोजिरहेका छन् र त्योसँगै एउटा मिथक पनि बेचिरहेका छन्– यदि आफ्ना सन्तानलाई माया गर्नु हुन्छ भने तपाईँ उनीहरूमाथि नजर राख्न रुचाउनुहुन्छ र त्यसले तपाईँलाई शान्ति प्रदान गर्छ।"

"केही समय तपाईँलाई यसले चिन्ता घटाउन मद्दत गरेजस्तो लाग्न सक्छ तर चिन्ताका कैयौँ अल्पकालीन उपायहरूजस्तै तपाईँले लामो अवधिका निम्ति पनि सोच्नु पर्ने हुन्छ।"

"तपाईँले हावाहुरीबाट पर राखेर रुखलाई घरभित्रै हुर्काउनुभयो भने त्यो अग्लो त हुन्छ तर बलियो हुँदैन। तपाईँले आफ्ना सन्तानलाई अपेक्षाकृत सुरक्षित वातावरणमा चुनौतीहरूको सामना गर्न दिनु पर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.