
अमेरिका निर्वाचन २०२०: राष्ट्रपति पद र जिम्मेवारी कसरी हस्तान्तरण हुन्छ
अमेरिकामा पदासीन राष्ट्रपति डोनल्ड ट्रम्पले भर्खर सम्पन्न निर्वाचनमा जो बाइडनसँग आफू पराजित भएको स्वीकारेका छैनन्। उनको पक्षले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतपरिणामालाई कानुनी चुनौती दिएको छ। तर ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरेका छन्।
यस्तोमा हस्तान्तरणमा के-के हुन्छ र यो किन महत्त्वपूर्ण छ?

हस्तान्तरण प्रक्रिया के हो?
यो एउटा प्रशासनबाट अर्कोलाई महत्त्वपूर्ण सूचना र कर्तव्यहरूको हस्तान्तरण हो।
जसले गर्दा राष्ट्रपति निर्वाचित र उनको समूह ह्वाइट हाउसमा पुगेपछि त्यसलाई गति दिन सक्छन्।
सरकारी निकाय जेनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले आउँदो प्रशासनलाई सहयोग गर्छ। उसले कोष उपलब्ध गराउँछ र कार्यालय, प्रविधि र उपकरण जस्ता कुराहरू सहयोग गर्छ।
हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ। त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर ज्यानुअरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्तारोह गर्दासम्म सकिन्छ।
सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन। नयाँ राष्ट्रपतिले ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ।

हस्तान्तरण अवधिमा के हुन्छ?
तीनवटा मुख्य काम हुन्छन्: कर्मचारी निर्धारण, विषयगत जानकारी प्रदान र राष्ट्रपति निर्वाचितको व्यस्त तालिकाको निर्धारण।
औपचारिक रूपमा हस्तान्तरण सुरु भएपछि त्यो राष्ट्रपति निर्वाचितको समूहद्वारा त्यो प्रक्रिया अघि बढ्छ जसको पूरै चुनावी अभियानभरि तयारी गरिरहेको हुन्छ।
एउटा महत्त्वपूर्ण विषय दैनिक सुरक्षा जानकारी हो।
अमेरिकी चुनावमा धाँधलीसम्बन्धी पाँच दाबी र तिनको तथ्य परीक्षण
ट्रम्पले हार बेहोरेको स्वीकार गर्न नमान्नुले 'राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने' बाइडनको भनाइ
चुनावअघि सबै प्रमुख राष्ट्रपतीय उम्मेदवारले राष्ट्रिय सुरक्षाका केही सूचनाहरू पाउँछन्। तर राष्ट्रपति पदममा निर्वाचित उम्मेदवारलाई दिन थालिएपछि जस्तो त्यो नियमित र विस्तृत हुँदैन।
बाइडनले अब दैनिक जानकारी पाउनेछन्। त्यसमा भविष्यमा आउन सक्ने जुनसुकै विषयमा नयाँ प्रशासनलाई तयार राख्ने सुनिश्चितताको निम्ति निश्चित गुप्तचर सूचनाहरू पनि पर्छन्।

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आक्रमणसम्बन्धी आयोगले सन् २००० को चुनावपछि सत्ता हस्तान्तरण ढिलो हुँदा त्यसले उक्त घटना रोक्न सहयोग पुर्याएको कुरा औँल्याएको थियो।
कर्मचारीको निर्धारण र नीति परिवर्तनमा सहयोगको निम्ति सामान्यतया बैठकहरू सरकारी निकायका बहालवाला सदस्यहरूसँगै आयोजना गरिन्छ। प्रमुख सदस्यहरूले आफ्नो नयाँ भूमिकाको तयारीका निम्ति बहिर्गमन हुन लागेका कर्मचारीका कामहरूलाई पछ्याउने गर्छन्।
बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन्। हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ।
राजनीतिक नियुक्ति हुने ४,००० पदमध्ये १,२०० मा सिनेटको अनुमोदन आवश्यक हुन्छ। हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ।
यो वर्ष कोरोनाभाइरस महामारी पनि छ र बाइडनले स्वास्थ्य निकायका उच्च अधिकारीसँग सम्पर्क गर्न र जनस्वास्थ्य सूचनामा पूर्ण पहुँच चाहेको बताएका छन्।

सरकारी अधिकारीहरूसँगको छलफलका साथै हस्तान्तरण समूहले सामान्यतया राष्ट्रपति-निर्वाचित र विदेशी नेताहरूबीच संवादको आयोजना गर्न विदेश मन्त्रालयसँग समन्वय गर्छ।
अहिलेसम्म बाइडनको समूहले अनौपचारिक संयन्त्रमार्फत् सम्पर्क गरेको छ। अब भने सरकारी इमेल र सुरक्षति संयन्त्रमा पहुँच हुनेछ।
जो बाइडनले अमेरिकाको विदेश नीति कसरी बदल्छन्?
जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न ट्रम्प तयार
राष्ट्रपति-निर्वाचित उम्मेमदवारको दम्पतीलाई ह्वाइट हाउसको भ्रमण गराएर त्यहाँको आन्तरिक साजसज्जाबारे उनीहरूको रुचिबारे सोध्ने गरिन्छ। तर त्यो कानुनी प्रावधानभन्दा पनि परम्परा हो।

हस्तान्तरण किन ढिलो?
यो सामान्यतया जीएसएले नयाँ राष्ट्रपति को हो भन्ने कुरा उल्लेख गर्दै पत्र लेखेपछि सुरु हुन्छ।
तर यो वर्ष उसले बाइडनले चुनाव जितेको पत्र जारी गर्न करिब चुनाव भएको तीन हप्तापछि नोभेम्बर २३ सम्म अस्वीकार गरेको थियो।

जीएसएले बाइडनको समूहको निम्ति कोष र अन्य स्रोतहरू उपलब्ध गराएको छ।
हस्तान्तरण कहिले सुरु हुनुपर्छ भन्ने कानुनी प्रावधान अस्पष्ट छ। त्यसले गर्दा पनि चुनावी परिणाममा विवाद झिकेको ट्रम्प प्रशासनलाई ढिलो गर्न छुट मिलेको हो।
अमेरिकी कानुनअनुसार जीएसएले 'स्पष्ट विजेता' भएपछि हस्तान्तरण थाल्नुपर्छ तर त्यसको मिति निश्चित छैन।
सन् २००० मा पनि हस्तान्तरण सामान्य अवधिभन्दा ढिलो भएको थियो। मतपरिणामविरुद्ध अदालतमा मुद्दा परेकाले त्यसो भएको थियो। तर त्यस बेला यस पटकभन्दा निकै झिनो मतान्तर थियो।
जीएसएले औपचारिक रूपमा परिणाम घोषणा हुनु निकै पहिल्यै सन् २०१६ को चुनावको भोलिपल्टै ट्रम्पलाई विजेताको मान्यता दिएको थियो।
त्यसको भोलिपल्ट ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपति ओबामासँग भेट गरेका थिए।

यसको खर्च कसले बेहोर्छ?
सत्ता हस्तान्तरणका क्रममा हुने खर्च सरकारी रकम र निजी कोषबाट बेहोर्ने गरिन्छ।
जीएसएले राष्ट्रपति-निर्वाचितलाई मान्यता दिएपछि सङ्घीय कोषबाट करिब ७० लाख डलर निकास हुन्छ।
यो समान्यतया राष्ट्रपति-निर्वाचितले सङ्कलन गरेको कोषबाट परिपूर्ति गरिन्छ।
बाइडनले आफ्नो हस्तान्तरण प्रक्रियाको निम्ति नोभेम्बरको सुरुमा ७० लाख डलर सङ्कलन र आफ्ना समर्थकहरूबाट थप कोष जुटाउन अपील गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।


Liked by:
अन्ततः झुके ट्रम्प : दिए सत्ता हस्तान्तरणको ग्रिन सिग्नल


सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार


बाइडेनलाई सत्ता हस्तान्तरण प्रकिया सुरू गर्दै ट्रम्प प्रशासन


अन्ततः बाइडनलाई सत्ता हस्तान्तरण गर्न तयार देखिए ट्रम्प


जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न बल्ल तयार भए ट्रम्प


बाइडनलाई सत्ता हस्तान्तरण शुरु गर्न ट्रम्पद्वारा स्वीकार


सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार


अन्ततः बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार


सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार
ट्रम्पले हार स्वीकार गरे, बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार

