डिएगो म्याराडोना : नेपाली मनमा कसरी स्थान बनाए
DAILY DIGEST (Click here to view daily digest)

डिएगो म्याराडोना : नेपाली मनमा कसरी स्थान बनाए

bbc.com . २ महीना अघि

सन् १९८६ ताका नेपालमा आएको एउटा परिवर्तनसँग 'म्याराडोना र नेपाली फुटबल समर्थक'बीच गहिरो सम्बन्ध छ।

त्यो नेपालमा टेलिभिजन भर्खर भित्रिएको बेला थियो। टीभीमा झुम्मिनु त्यतिबेला शानको कुरा थियो।

त्यसैबेलातिर अर्थात् सन् १९८६ मा विश्वकप फुटबलको आयोजना भएको थियो, नेपाली समर्थकहरू खेल हेर्न टीभीमा झुम्मिन पुगेका थिए र उक्त विश्वकपमा म्याराडोनाले छरेको जादूले नेपालीलाई पनि छोयो।

सन् १९८६ को विश्वकपमा म्याराडोना फुटबल देखेर मन्त्रमुग्ध भएका नेपालीका मनमा उनको विशेष स्थान बन्न गएको कैयौँ खेल प्रशंसकको भनाइ छ।

राष्ट्रिय टोलीका पूर्वखेलाडी श्रीराम रञ्जितकार भन्छन्, " एउटा टीभीमा सय जनाभन्दा बढी झुम्मिन्थ्यौँ। चाडजस्तै माहोल थियो। टीभी मालिकको शान बेग्लै। पैसा तिरेर समेत फुटबल हेरियो। "

उता १० नम्बर जर्सीमा कप्तान म्याराडोना विश्वका महान्‌ खेलाडीको परिचय दिँदै थिए, यता नेपालीहरू मनमस्तिष्कमा गहिरो गरी बास बस्दै थिए।

उनको चर्चा पनि कतिकति। इङ्ल्याण्डविरुद्ध 'ह्यान्ड अफ गड' अर्थात्‌ 'ईश्वरको हात', शताब्दीको महान् गोल पनि त्यहीँ खेलमा अनि आर्जेन्टिनालाई विश्वकपको उपाधि।

म्याराडोना र आर्जेन्टिनाप्रति नेपाली समर्थकहरूमा त्यतिबेला परेको गहिरो छाप अहिलेसम्म कायम देखिन्छ।

दूरदर्शिता र गतिको दुर्लभ संयोजन भएका दोषयुक्त महान् खेलाडी

प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन: शोक, श्रद्धा र सम्झना

हुन त आर्जेन्टिनाका समर्थकहरूलाई अहिलेका क्लब फुटबलका पारखी युवा पुस्ताले विस्तारै चुनौती दिन थालेका छन्।

तर आर्जेन्टिनाका ती अद्‌भुत खेलाडीको किस्सा देखेर सुनेर प्रभावमा परेकाहरूको सङ्ख्या कम छैन।

अहिले पनि विश्वकपजस्ता ठूला फुटबलका बेला हल्का नीलो रङको धर्के जर्सीमा सजिने नेपाली समर्थकहरूले बजार भरिने गर्छ।

म्याराडोनाले संसार छोड्दा सन् १९८६ देखि उनका समर्थक बनेको पुस्ताको मन निकै दुखेको छ।

उनीहरू ती पुराना दिनहरू र म्याराडोनालाई सम्झिरहेका छन्।

म्याराडोना र आर्जेन्टिनाको छाप नेपालमा गहिरो हुनुमा थप केही कारणहरू पनि छन्।

मणि र म्याराडोना

नेपाली मनमा म्याराडोनालाई जिउँदै राख्ने अर्का पात्र हुन् स्टार खेलाडी मणि शाह।

जसरी आर्जेन्टिनी टोलीमा म्याराडोना 'प्ले मेकर' को भूमिकामा महान् थिए, त्यसरी नै नेपाली राष्ट्रिय टोलीमा मणि शाह।

यी दुईको खेल शैली मात्र होइन थुप्रै कुरामा समानता थिए। बायाँ खुट्टाको उस्तै कमाल, छोटो कद, घुम्रिएको कपाल, १० नम्बर जर्सी अनि सफलता र स्वाभाव पनि उस्तै।

अनि खेल जीवन जति महान्, मैदान बाहिरको जीवन त्यति नै भद्रगोल र विवादास्पद।

मणि शाहले दक्षिण एसियाली खेलकुद (१९९६) मा नेपाललाई स्वर्ण (नेपालको लागि विश्वकप सरह) दिलाउन अहम् भूमिका खेले। म्याराडोनाले विश्वकप जिताउन।

दुवै अनेक विवादमा परिरहे। उता म्याराडोना कोकिनको लतमा फस्दै गए, यता मणि शाह रक्सीको लतमा।

भनिन्थ्यो, नेपालमा जन्मेको भए म्याराडोना मणि शाह हुन्थे अनि मणि आर्जेन्टिनामा जन्मेको भए म्याराडोना।

यति धेरै समानता विश्व फुटबलमा अनौठो संयोग नै मान्नेहरू धेरै छन्।

दुवैको अन्त्य पनि असामयिक नै भयो। मणि शाहले २ वर्षअगाडि ५१ वर्षको उमेरमा देह त्याग गरे, म्याराडोनाले बिहीवार।

फकल्याण्ड युद्ध

सन् १९८६ को विश्वकप र त्यसको चार वर्षअगाडि फकल्याण्ड टापूलाई लिएर इङ्गल्याण्ड र आर्जेन्टिनाबीच भएको युद्धमा फुटबल, म्याराडोना र नेपाल एकसाथ जोडिएर आउने गर्छ।

८२ को उक्त युद्धमा इङ्गल्याण्डले आर्जेन्टिनालाई पराजित गर्‍यो र उक्त टापु कब्जा गर्‍यो।

उक्त यूद्ध इङ्गल्याण्डले जित्नुको कारण थियो गोर्खा सेनाको बहादुरी।

८६ को विश्वकपमा यी दुई राष्ट्रबीच क्वार्टर फाइनलमा भेट हुँदा त्यसलाई फकल्याण्ड टापुजस्तै अर्को युद्ध ठानिएको थियो।

त्यसको रोष ८६ को विश्वकपमा आर्जेन्टिनाले इङ्गल्याण्डलाई पराजित गरेर लिए। धेरै थोक म्याराडोनाले त्यही खेलमा गरेका हुन्।

म्याराडोनाले फकल्याण्ड युद्ध गोर्खाली सेनाले गर्दा हारेको भन्दै गोर्खा सेनाविरुद्ध नराम्रो प्रतिक्रिया दिए।

कतिपय नेपाली समर्थकहरू, जो आर्जेन्टिना छाडेर ब्राजिलको समर्थन गर्न रुचाँउछन्, उनीहरू त्यसको कारण म्याराडोनाको उक्त विवादास्पद अभिव्यक्तिलाई मान्छन्।

खेलाडी र क्लबमा प्रभाव

नेपाली खेलाडीहरूमा म्याराडोनाको प्रभाव नहुने कुरै भएन।

१९९० ताका राष्ट्रिय टोलीका प्राय खेलाडीहरूको लामो लामो कपाल पाल्ने फेशन थियो।

राजुकाजी शाक्य, उमेश प्रधान, राजेश मानन्धरदेखि प्राय: सबै खेलाडीहरू लामा कपाल पालेका थिए।

त्यो ठ्याक्कै आर्जेन्टिनाका खेलाडीहरूको नक्कल थियो।

नेपाली क्लब फुटबलमा पनि त्यसको प्रभाव थियो। मनाङ मर्स्याङदी क्लबले त त्यसको ठ्याक्कै अनुसरण नै गर्‍यो। मनाङको जर्सी आर्जेन्टिनाको जस्तै हल्का निलो सेतो धर्के जर्सी नै रोजे।

आर्जेन्टिनाको जस्तै जर्सी अनि मणि शाह मनाङमा मुख्य खेलाडी।

मनाङ मर्स्याङ्दी क्लबका समर्थक नेपालमा ह्वात्तै बढ्नुमा यी कारण पनि कहीँ कतै जोडिएकै मानिन्छ।

थापा र म्याराडोना

म्याराडोना भन्दा गणेश थापा २१ दिनले जेठा हुन्।

दुवैको करिअर सँगै शुरू भयो।

दक्षिण अमेरिकी राष्ट्र र दक्षिण एसियाबीच फुटबल मैदानमा दुबैको भेट त सम्भव नै थिएन।

नेपाल र आर्जेन्टिनाको फुटबल नजिकिएको भनेको सन् १९८३ मा मलेसियामा २७ औँ मर्डेका कप खेल्दा हो।

आर्जेन्टिनाबाट आएको सो क्लबमा म्याराडोनासँगै खेलेका खेलाडीहरू थिए रे भनिन्थ्यो।

यद्यपि अन्य जसरी थापा पनि म्याराडोनाको कट्टर समर्थक हुन् र म्याराडोनालाई नजिकबाट नियाल्न पाउने नेपाली पात्र पनि।

पूर्वराष्ट्रिय कप्तान हुँदै अखिल नेपाल फुटबल सङ्घ एन्फामा लामो समय नेतृत्व गरेका थापा एसियाली फुटबल महासङ्घको उपाध्यक्ष सम्मको यात्रा क्रममा म्याराडोनालाई भेटेका हुन्।

म्याराडोनासँग उनको जम्काभेटको कथा पनि रोचक छ।

सन् २००२ को दक्षिण कोरिया/ जापान विश्वकपमा थापा विश्वकपको अनुशासन समितिका सदस्य थिए।

"जापानमा म्याराडोना आउने भएपछि म रोमाञ्चित भएँ। भीआईपी कक्षमा म्याराडोनाको सिट छुट्टयाइएपछि म उनलाई कुरेर बसेँ। मेरो आँखा बारम्बार भीआईपी कक्षको द्वारमा अडिरह्यो, तर उनी आएनन्।"

त्यो साल थापाको उनलाई भेट्ने रहर पूरा भएन।

चार वर्षपछि थापा अनुशासन समितिकै सदस्यका रूपमा पुन: जर्मनीमा आयोजित विश्वकपमा पुगे। त्यहाँ भने भीआईपी कक्षमा थापा र म्याराडोनाको भेट भयो।

बायाँ सिटमा म्याराडोना, बीचमा उनकी छोरी र त्यस पछिको सिटमा थापा।

उत्साहित थापाले म्याराडोनासँग फोटो खिच्न आग्रह गरे। तर म्याराडोनाले टेरेनन्, वास्तै गरेनन्।

"खेलको शुरूमा, मध्यान्तरमा अनि खेल सकिएपछि गरी जम्मा ११५ मिनेट म उनी सँगै बसेँ, तर फोटो खिच्न पाइनँ।" थापा सम्झिन्छन्।

थापा भन्छन् - "त्यो बेला सेल्फीको जमाना थिएन। नत्र फोटो आफैँ खिचिन्थ्यो होला।"

म्याराडोना: अद्‌भुत खेलाडीको जीवन तस्बिरमा

मस्तिष्कको शल्यक्रियापछि म्याराडोना सुधारगृहमा

थापाका अनुसार त्यो बेला म्याराडोना निकै तनावमा थिए र बारम्बार बहुलाहा जसरी उफ्रिरहेका थिए। कारण उनले पछि बुझेछन् ।

"मेसीलाई बेञ्चमा राखेका थिए। त्यसैले म्याराडोना उनलाई खेलाएनन् भनेर रिसले उफ्रेका रहेछन्। आर्जेन्टिनाले त्यो खेल हार्‍यो पनि। हारेको झोकमा म्याराडोनासँगै आएका साथीहरूले मेच पनि भाँचिदिए।"

आर्जेन्टिनाको अर्को खेलको लागि पनि म्याराडोना भीआईपी कक्षमा आउने कुरा थियो। तर मेच भाँच्ने उनका साथीहरूलाई भने आउन प्रतिबन्ध लगाइयो। अनि म्याराडोना पनि आएनन्।

थापा भन्छन्- "अर्को दिन फोटो खिचाउने धुनमा कस्सिएको थिएँ। उनी त दर्शकदीर्घामा बसेर हेर्न गए। मेरो चाहना अपूरै रह्यो।"

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.