#BBC100Women: म्यानमारकी महिलावादी नेपालीभाषी नन्दार
DAILY DIGEST (Click here to view daily digest)

#BBC100Women: म्यानमारकी महिलावादी नेपालीभाषी नन्दार

bbc.com . २ महीना अघि

नेपालीभाषी बर्मेली परिवारमा जन्मिएकी नन्दारको नेपाली नाम नन्दु ज्ञवाली हो। नेपालमा नन्दारका आफन्त छन्। एक वर्षअघि उनी नेपाल पुगेर आफन्तलाई मात्र भेटिनन् महिला अधिकार बारेका बहसमा भाग लिइन् र म्यानमारका महिलाबारे बोलिन् पनि।

नन्दारले स्थापना गरेको पर्पल फेमिनिस्ट ग्रुप नामको संस्थामार्फत् म्यानमारमा महिला सशक्तिकरणका विभिन्न कार्यक्रम गर्छिन्। उनले नारीवादसँग सम्बन्धित केही पुस्तक बर्मेली भाषामा लेखेकी र उल्था गरेकी छन्।

लैङ्गिक र जातीय भेदभाव आफैँले भोगेपछि महिलावादी अधिकारकर्मी बनेको नन्दारले बताइन्।

'म १५ वर्षकी हुँदा रजश्वला शुरू भयो। हाम्रो गोर्खाली परिवारको विश्वास र अभ्यास अनुसार रजश्वलाको पहिलो पटक महिलालाई आफ्नो घरमा बस्न दिइँदैन। आफन्त वा छिमेकीको घरमा जानुपर्छ। कुनै पुरुषलाई हेर्नु, देख्नु हुँदैन। धेरै कुरा छुने अनुमति पनि हुँदैन। सूर्यको पनि दर्शन गर्न नहुने भनी किशोरीहरूलाई एउटा कोठामा थुनिराख्छन्, जुन मैले पनि भोगेँ। मैले भोगे पनि आफन्त, छरछिमेक कोही पनि किशोरीले त्यस्तो गर्न आवश्यक छैन भन्ने मलाई लाग्यो र त्यसको विरोध गर्न थालेँ। त्यसैबाट ममा विद्रोहको चेत पस्यो,' नन्दारको महिलावादी आन्दोलनको सुरुवात रजश्वलाका बेला बार्नुपर्ने सामाजिक कुरीति विरुद्धबाट सुरु भएको हो।

म्यानमारका शहरभन्दा धेरै टाढाको दुर्गम बस्तीमा जन्मिएकी नन्दारको जीवनमा रजश्वलाले ठूलो दुर्घटना निम्त्याएको पनि छ।

एक्कासि अचेत भएका बुबालाई आमाले रजश्वला भएकै कारण छोइनन्। नन्दार, उनका दिदी र भाइ सानै थिए।

उनकी आमा छिमेकमा पुगेर आफन्तलाई बोलाएर अचेत बुबालाई अस्पाताल पुर्‍याउँदा धेरै समय घर्क्यो। त्यसैकारण उनका बुवाको पछि मृत्यु भयो।

नन्दार म्यानमारकी चर्चित नारीवादी हुन्। उनले महिलाविरुद्ध हुनै सबै प्रकारका विभेदको विरोध गर्दै आएकी छन्।

'म्यानमारमा गोर्खाली मात्र हैन अन्य समुदायका महिला पनि बोल्ने हिम्मत गर्दैनन्। बोले पनि तिनको आवाज नसुनिने सामाजिक संरचना छ। त्यसलाई चिर्नु नै मेरो काम हो,' नन्दारले भनिन्।

उनको लडाइँको सुरुवात भने परिवारबाटै भएको हो। रजश्वला सामान्य शारीरिक प्रक्रिया हो र योसँग पापधर्म जोडिएको हुँदैन भनेर आमालाई सम्झाउनै वर्षौँ लाग्यो।

त्यसपछि आफन्त र अरूलाई पनि। अहिलेसम्म पनि कतिले यो कुरा बुझिसकेका छैनन्।

'अहिले महिला पुरुष वा अन्य लिङ्ग सबै मानिस समान हो र एकअर्कालाई समान रूपमा हेरे र व्यवहार गरे मात्र संसार बाँच्नका लागि थप योग्य हुन्छ भनेर बुझाउँदै हिँड्छु,' नन्दारको मन्त्र यति नै हो।

'जबदेखि मैले आफूलाई नारीवादी घोषित गरेँ, मेरो परिवार, मेरा पुरुष साथी सबैले केही न केही छेडछाड, व्यङ्ग्य र प्रहार त भोगिरहेकै छन्। म आँफू त पचाउँछु। तर मेरै कारण उनीहरूले भोग्नुपर्ने विभेदले चाहिँ नरमाइलो लाग्छ। यो परिवर्तन गर्नका लागि अझै धेरै काम बाँकी छ,' उनले भनिन्।

नन्दारको सक्रियतामा हरेक वर्ष म्यानमारमा 'योनिका कथा' नाटक मन्चन हुने गरेको छ। जहाँ म्यानमारमा महिलामाथि हुने विभेदका बारेमा प्रस्तुत गरिन्छ। त्यसले जनमानसमा जागरण ल्याउन सहयोगी भएको उनले बताइन्।

'महिला सधैँ आफ्ना शरीरको बारेमा लाज मान्दै हुर्केका हुन्छन्। तिनको शरीरबारे पुरुषले लेखेको र बनाएको मानकमा विश्वास गर्नुपरेको छ। जुन म भत्काउन चाहन्छु। हाम्रा नितम्ब हुन् कि स्तन वा अन्य अङ्ग हाम्रा अङ्गको बारेमा हामी महिलाले नै पुन: परिभाषित गर्नुपर्छ भनेर म लागेकी छु। यसमा लाज मान्ने हैन स्वस्थ बहस गरौँ,' नन्दारले भनिन्।

यसबाहेक नन्दारले प्रसिद्ध महिलावादी लेखिका दिची चीमामान्ता ङोजीको 'वी शुड अल बी फेमिनिस्ट' (हामी सबै नारीवादी हुनुपर्छ) किताब बर्मेली भाषामा उल्था गरेकी छिन्।

उनको दोस्रो बर्मेली पुस्तकले छोराछोरीलाई कसरी समान बनाएर हुर्काउने भनेर सिकाउँछ।

पर्पल फेमिनिस्ट ग्रुपबाट महिलाका क्षेत्रमा काम गरिरहेकी नन्दारले पडकास्टमार्फत् महिला अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन पनि गर्छिन्।

नन्दारको विचारमा म्यानमारजस्ता देशमा महिला अगाडि आएर हिँड्न सजिलो छैन, धेरै कुरा यहाँ धार्मिक परम्पराले ओगटेको छ।

बौद्ध धर्ममा महिलालाई धेरै स्थान त दिइएको छ। तर पनि हरेक गुम्बामै जहाँ पुरुष गएर पूजा गर्न पाउँछन्। त्यहाँसम्म महिलालाई जान दिइँदैन।

त्यो नै विभेदको सुरुवात भएको र महिलाले आफूले आफैलाई कमजोर सोच्ने ठाउँ भएको उनको राय छ।

नन्दारको महिला हिंसा विरुद्धको म्यानमारको कानून थप कडाइ गर्नुपर्ने माग छ।

खासगरी घरेलु हिंसालाई व्यक्तिगत मामिलाको रूपमा हेर्न हुँदैन 'यो समाज विरोधी हिंसा हो,' उनी भन्छिन्।

त्यस्तै गर्भपतन महिलाको अधिकार हुनुपर्ने सुधार उनी म्यानमारको कानूनमा ल्याउन चाहन्छिन्।

म्यानमार बौद्ध देश भएको कारण गर्भपतनलाई अपराध मानिएको छ। जसलाई नन्दार स्वीकार गर्न तयार छैनन्।

'बौद्ध मान्यताका कारण गर्भपतन अपराध ठहरिनु हुँदैन। अन्य बौद्ध मुलुकमा पनि गर्भपतनलाई स्वीकारिसकियो। हामी महिलावादीले यसलाई महिलामाथि नियन्त्रण गर्ने प्रणालीमा आधारित विचारधारा ठान्छौँ,' उनले भनिन्।

त्यस्ता प्रतिबन्धले गर्भपतन घटाउने छैन बरू असुरक्षित गर्भपतनको सङ्ख्या बढाउँछ भन्ने उनको मान्यता छ।

'यदि हामीले लैङ्गिक समानताको संसार बनायौँ भने सबैजना खुशी हुन्छौँ, समान अधिकार, समान रोजगार र समान सम्मान पाएपछि समाज शान्तिमय र परिवार अहिंस्रक हुन्छ,' नन्दारले भनिन्।

नन्दारको विश्वास छ कि उनलाई जस्तोसुकै चुनौती आए पनि उनी लैङ्गिक समानता र महिलाको अधिकारका लागि काम गरिरहेकी छिन्। मौन महिलाहरूको आवाज उनले खोजिरहने छिन् र त्यसलाई ठूलो स्वरमा कराइ रहनेछिन्।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.