गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २३ जनाको मृत्यु

गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २३ जनाको मृत्यु

bbc.com . ३ घण्टा अघि

भारतको गोवास्थित तटीय क्षेत्रमा रहेको एउटा लोकप्रिय नाइटक्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेमध्ये अधिकांश उत्तरी गोवाको अर्पोरास्थित उक्त क्लबका कर्मचारीहरू भएको ठानिएको छ। घटनामा पर्नेमा पर्यटकहरू पनि छन्।

शनिवार मध्यरात क्लबको भान्सामा रहेको ग्यास सिलिन्डर पड्किएको र आगो फैलिएको प्रहरीको ठम्याइ छ।

काठमाण्डूका अग्ला भवनमा आगो लागे निभाउन न दमकल छ, न भर्‍याङ नै

कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत् उक्त घटनालाई "निकै दु:खद" भनेका छन्।

"उक्त आगो मुख्य गरी भुइँतलामा रहेको भान्साआसपासको क्षेत्रमा केन्द्रित थियो," गोवा प्रहरीका डाइरेक्टर जेनरल आलोक कुमारले भने।

"मध्यराततिर उक्त घटना भयो र अहिले त्यसलाई नियन्त्रणमा लिइसकिएको छ।"

मृतक को हुन्?

धेरैजसो शवहरू भान्सावरपर भेटिएकाले "उनीहरू त्यहाँका कर्मचारी हुन सक्ने देखिएको" उनले बताए।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले तीन जनाको जलेर मृत्यु भएको र अन्यको निस्सासिएर ज्यान गएको पत्रकारहरूसँग बताए।

उनका अनुसार घटनामा तीनदेखि चारजना पर्यटकको पनि ज्यान गएको छ। यद्यपि उनले तिनका राष्ट्रियता र उमेर खुलाएनन्।

इन्डियन एक्सप्रेसको विवरणअनुसार बागामा रहेको 'बिर्च बाइ रोमियो लेन' नामक क्लबमा घटना भएको हो जुन त्यहाँका सबैभन्दा लोकप्रिय समुद्री तटहरूमध्ये एकमा स्थित छ।

आगलागी भएको ठाउँमा धेरै नाइटक्लबहरू छन्।

नजिकैको अर्को ठाउँमा काम गर्ने एकजना शेफले बिर्च क्लबमा काम गर्नेमध्ये केहीलाई आफूले चिनेको बताए।

"देशभरबाट तथा नेपालबाट समेत आएकाहरू गोवाका विभिन्न क्लबहरूमा काम गर्छन्," उनले भने।

"त्यस क्लबमा काम गर्ने मैले चिनेका केही मानिसहरूबारे म निकै चिन्तित छु। उनीहरूको फोन बन्द छ।"

सरकारी भवनहरू जलाउन के 'रसायन' प्रयोग भएको थियो? पत्ता लगाउन 'अब खरानी परीक्षण'

आगोबाट बच्न तीन तला माथिबाट हामफालेका दुई बालक

आइतवार सबेरैसम्म पनि उद्धारकार्य जारी थियो। अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन भग्नावशेषको जाँच गरिरहेका छन्।

घटनास्थलमा रहेका अग्नि नियन्त्रण दलका एक सदस्यले मृतकहरूको सनाखत कार्य जारी रहेको र त्यसपश्चात् परिवारजनलाई जानकारी दिइने बताएका छन्।

'छानबिन सुरु'

आगलागीको कारण पत्ता लगाउन औपचारिक छानबिन पनि सुरु गरिएको मुख्यमन्त्री सावन्तले बताए।

"जो जिम्मेवार ठहरिन्छन् तिनीहरूले कानुनअनुरूपको कडा सजायको सामना गर्नु पर्नेछ र कुनै लापरबाही पाइए कडाइका साथ कारबाही गरिनेछ," उनले भने।

"मलाई गहिरो दु:ख लागेको छ र यो अकल्पनीय क्षतिको घडीमा म सबै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्छु।"

अरब सागरस्थित गोवा पहिले पोर्चुगालीहरूको उपनिवेश थियो। यहाँको रात्रीजीवन, बालुवाले भरिएका समुद्री तटहरू र यहाँका रिसोर्टहरूले वर्षेनि लाखौँ पर्यटकहरूलाई आकर्षित गर्छन्।

सरकारी तथ्याङ्कका अनुसार यो वर्षको आधा समयमै ५५ लाख पर्यटक गोवा पुगेका छन् जसमध्ये २,७०,००० विदेशी छन्।

पछिल्ला केही घटना

भारतले हालैका वर्षहरूमा यस्ता मनोरञ्जन स्थलहरूमा घातक आगलागीका घटनाहरू बेहोरेको छ।

मे महिनामा हाइदराबादको एउटा तीनतले भवनमा आगो लाग्दा १७ जनाको ज्यान गएको थियो भने त्यसको महिना दिनअघि कोलकातामा एउटा होटेलमा आगो लाग्दा १५ जनाको मृत्यु भएको थियो।

त्यस्तै गत वर्ष गुजरातस्थित एउटा मनोरञ्जन पार्कमा भएको घटनामा २४ जनाको ज्यान गएको थियो, जहाँ प्रवेशद्वारमा रहेको अस्थायी संरचना ढल्न पुग्दा मानिसहरू भित्र थुनिन पुगेका थिए। धेरैको ज्यान जानुमा कमजोर सुरक्षा मापदण्डको भूमिका रहेको पछि अनुसन्धानले देखाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.