नेपाल भारत सम्बन्ध: भारतीय विदेश सचिवको खोप कूटनीतिको अर्थ के
DAILY DIGEST (Click here to view daily digest)

नेपाल भारत सम्बन्ध: भारतीय विदेश सचिवको खोप कूटनीतिको अर्थ के

bbc.com . २ महीना अघि

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको शुक्रवार सम्पन्न दुई दिने भ्रमणमार्फत्‌ नयाँ दिल्लीले नेपालसँगको सम्बन्ध थप गहिरो बनाउन खोप कूटनीति अघि बढाएको विज्ञहरूले बताएका छन्।

एउटा सार्वजनिक प्रवचन कार्यक्रममा बोल्दै शुक्रवार भारतीय विदेश सचिवले विश्वकै ठूलो खोप उत्पादकका हिसाबले कोरोनाभाइरसको खोप बाहिर ल्याउने प्रयासमा भारत अघि रहेको बताए।

“हामीसँग कम्तीमा पाँचवटा खोप परीक्षणको उपल्लो तहमा छन्। भारतका दर्जनौँ स्थानमा सबै उमेर र सामाजिक समूहमा खोपको परीक्षण भइरहेको छ। म नेपालका नागरिकहरूलाई के आश्वस्त पार्न चाहन्छु भने खोप आउनासाथ नेपालको माग पूरा गर्ने विषय हाम्रो प्राथमिकतामा पर्नेछ।”

नेपाल र भारतका मानिसहरूको आनुवंशिक चरित्रका कारण भारतमा काम गर्ने खोपले नेपालमा पनि काम गर्ने उल्लेख गर्दै महामारीबाट दुई देशले मिलेर पार पाउने धारणा उनले राखे।

उनको भनाई किन अर्थपूर्ण?

शुरूमा भारत र त्यसपछि नेपालले जारी गरेका राजनीतिक नक्साका कारण लगभग एक वर्ष झण्डै संवादहीनताको तहमा पुगेको नेपाल-भारत सम्बन्ध पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित आएका भारतीय विदेश सचिवले कोभिड सहकार्यबारे राखेको धारणालाई विश्लेषकहरूले अर्थपूर्ण मानेका छन्।

नेपालमा कोभिड-१९ खोप दिन 'अर्बौँ रुपैयाँ आवश्यक', कसले बेहोर्छ खर्च

खोप र औषधि छिटो ल्याउन बाटो खोल्ने अध्यादेश कत्तिको प्रभावकारी

भूराजनीतिक मामिलामा कलम चलाउने पत्रकार अखिलेश उपाध्याय भन्छन्, “विदेश सचिव श्रृंगलाले नेपाललाई भारतले आफ्नो सबैभन्दा महत्त्वपूर्ण र विकास साझेदारका रूपमा चित्रण गरेका छन्। यसलाई बढिरहेको नेपाल-चीन सम्बन्धसँग जोडेर हेर्न सकिन्छ। दिल्लीले हामीलाई मिलेर अघि बढौँ, हाम्रो गन्तव्य जोडिएको छ भनेर सन्देश दिन खोजिरहेको छ।"

खोपबारे सार्वजनिक मञ्चबाट बोलेर भारतीय विदेश सचिवले सरकारको तहमा मात्रै नभई जनताको तहमा नै खोप विकासमा सफलता प्राप्त भएपछि नेपाललाई पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

“विश्वको सबैभन्दा ठूलो खोप निर्माता देशको तर्फबाट त्यसरी आश्वस्त पारिनु एकदम महत्त्वपूर्ण छ। भारतले सस्तोमा खोप बनाउँछ। त्यहाँबाट खोप ल्याउन भूगोल लगायत सबै कुराले हामीलाई सजिलो पनि हुन्छ। हामीले नजिकको तीर्थलाई हेला गर्नु हुँदैन।”

पत्रकार उपाध्यायले समाजिक सञ्जाल ट्विटरमा अहिलेका लागि नेपाल र भारतले खोपको विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्।

भारतको प्रमुख खोप निर्मता कम्पनीबारे विश्वको चासो

विश्वप्रतिष्ठित अक्सफर्ड विश्वविद्यालय सँगको साझेदारीमा औषधि कम्पनी एस्ट्राजेनेकाले बनाइरहेको कोभिड-१९ विरूद्धको खोप सिरम इन्स्टिच्युट अफ इण्डियाले बनाइरहेको छ।

परीक्षण क्रममा उक्त खोपले ७० प्रतिशत मानिसमा कोभिड-१९ को लक्षण देखा पर्न नदिने पाइएको थियो।

सुरक्षाका हिसाबले फाइजर र मोडेर्ना कम्पनीले बनाएका अलगअलग खोपले ९० प्रतिशतभन्दा बढी सकारात्मक परिणाम दिनसक्ने भनिए पनि ती खोप भण्डारणका लागि चाहिने अत्यधिक चिसो तापक्रम व्यवस्थापन गर्ने प्रणाली नेपालसहित कैयौँ देशमा उपलब्ध नरहेको अधिकारीहरू बताउँछन्।

एस्ट्राजेनेकाको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने र संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने बताइएको छ।

बीबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा सिरम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले सन् २०२१ को अन्त्यसम्म एक अर्ब खोपको मात्रा विकास गरिसक्ने बताएका छन्।

उनका भनाईमा प्रयोगका लागि स्वीकृति नै नपाउँदै अहिले नै भारतमा चार करोड मात्रा खोप बनाएर भण्डारण गरिएको छ र नियामक निकायले ज्यानुअरी वा फेब्रुअरीमा अनुमोदन दिएसँगै मासिक रूपमा १० करोड खोपहरू उत्पादन गर्ने लक्ष्य लिइएको छ।

अब नेपालको तर्फबाट गृहकार्य आवश्यक

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता एवम् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. बुद्ध बस्न्यात भारतले खोप प्राप्तिमा सघाउँछौ भन्नेसँगै नेपालले थप गृहकार्य अघि बढाउनुपर्ने बताउँछन्।

उनी भन्छन्, “हामीले नै सिरम इन्स्टिच्युट अफ इण्डियासँग कसरी कुरा गर्ने एकदमै टाठो भएर अघि बढ्नुपर्छ। खोप सबैलाई चाहिराखेको छ। अहिले खोप कूटनीति देखाउनुपर्ने अवस्था छ।”

उनले थपे, “प्रतिस्पर्धा धेरै छ। धनी राष्ट्रहरूले किनेर पनि खोप जुटाउँछन्। सबै खरिद गर्न हाम्रो लागि गाह्रै होला भन्ने लाग्छ।”

कोभिड-१९ खोपका लागि नेपालमा भण्डारण क्षमता शून्य

भारतीय विदेश सचिवको भ्रमणले दुई देशको सम्बन्धमा 'सकारात्मक वातावरण उत्पन्न'

नेपाली अधिकारीहरूले हाल खोपको विकासमा प्रगति गरिरहेका झण्डै आधा दर्जन देशलाई सरकारले त्यहाँ कोभिड-१९ विरूद्धको खोप स्वीकृत हुने बित्तिकै नेपालले पनि पाउने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दै पत्राचार गरेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डाक्टर रोशन पोखरेल भन्छन्, “हामीले तपाईँहरूको देशले खोपको उत्पादन गर्‍यो भने हामीलाई प्राथमिकतामा राखिदिनुपर्‍यो भनेका छौँ। सरकार-सरकार बीचको सम्झौताका आधारमा दिए पनि हुन्छ वा कसरी दिन सकिन्छ त्यो हामीलाई भनिदिनुपर्‍यो भनेर खोप बनाउन लागेका देशहरूलाई हामीले पत्राचार गरेका हौँ।”

उनका अनुसार हालसम्म ती कूटनीतिक नोटहरूका जवाफ प्राप्त भएको छैन।

अक्सफर्ड विश्वविद्यालयको खोप भारतमा बनिरहेकाले त्यसको परीक्षण सफल भए नेपालले पनि प्राप्त गर्ने अपेक्षा गरेको डाक्टर पोखरेल बताउँछन्।

उनले थपे, “एस्ट्राजेनेकाको सफल भयो भने भारतले आफ्नो जनसङ्ख्याको लागि पनि उत्पादन गर्छ र हामीलाई पनि उपलब्ध गराउँछ भन्ने हाम्रो अपेक्षा रहेको छ।”

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू विश्व स्वास्थ्य सङ्गठन र गाभी जस्ता निकायले अघि बढाएको कोभ्याक्स अभियानमा नेपाल आबद्ध भइसकेको र अहिलेको प्रगति हेर्दा उक्त अभियानले सन् २०२१ को पहिलो चौमासिकबाट खोप बाँड्न थाल्ने बताउँछन्।

नेपालको कुल जनसङ्ख्याको २० प्रतिशतलाई उक्त अभियानबाट खोप प्राप्त हुने भनिएको छ।

कोभ्याक्स सँगको सहकार्यलाई मजबुत पार्नु नेपालजस्ता कम आय भएका अल्प विकसित देशको हितमा रहेको डाक्टर बस्न्यातजस्ता जनस्वास्थ्यविद्हरू बताउँछन्।

नेपाललाई खोप उपलब्ध गराउन कसले इच्छा देखाएका छन्?

गत जुलाईमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, अफगानिस्तान र पाकिस्तानका विदेशमन्त्रीहरूसँग ‘भर्चुअल संवाद’ गर्ने क्रममा चीनमा खोप विकास भइसकेपछि त्यसलाई विश्वभरि उपलब्ध गराउने बताएका थिए।

उनले नेपालसहित तीन देशमा खोप प्राप्त गर्न थप सहज बनाउने र सार्वजनिक स्वास्थ्य प्रणालीलाई बलियो बनाउन मद्दत गर्ने धारणा राखेका थिए।

भारतले नेपाललाई कोभिड-१९ को खोप प्राप्तिमा मद्दत गर्ने धारणा राखेको ४८ घण्टा नबित्दै आपसी सुरक्षा र कोभिड-१९ विरुद्ध सहकार्यका विषयमा छलफल गर्न चिनियाँ रक्षामन्त्री वेइ फेंग्हे काठमाण्डू आइपुग्दैछन।

चीनमा विकास भएको भनिएको कम्तीमा तीनवटा खोप तेश्रो चरणको परीक्षणमा रहेको बताइन्छ। ‌

सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता डाक्टर बस्न्यात नेपालको भूअवस्थितिले पनि खोप प्राप्त गर्न मद्दत गर्ने सम्भावना रहेको ठान्छन्।

तर चिनियाँ खोपको अनुसन्धान प्रगति बारेका विस्तृत अध्ययनहरू बाहिर आइनसकेकाले त्यसबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए।

तर कतिपय विज्ञले महामारीको समयमा चीनबाट नाका हुँदै सामान आपूर्तिमा तगाराहरू देखिएको सन्दर्भ कोट्याउँदै चिनियाँ खोपबारे पर्ख र हेरको नीति अँगाल्नुपर्नेमा छन्।

नाम खुलाउन नचाहने एकजना विश्लेषक भन्छन्, “वर्तमान सन्दर्भमा सन् २०२१ सम्ममा हामीले खोप पाउँछौ। भारत सरकारले नै नेपाललाई प्राथमिकतामा राखेपछि झनै राम्रो भयो। मलाई लाग्छ यो परिस्थितिमा नेपाल सरकारले राष्ट्रवादको डम्फु बजाउनुभन्दा देशको जनतालाई सेवा गर्नु ठूलो कुरा हो।”

चीनबाहेक रुसले पनि परीक्षणमा रहेको उसको खोप नेपाललाई विक्री गर्ने इच्छा देखाएको छ। तर डाक्टर बस्न्यात रुसी खोपको परीक्षण सानो जनसङ्ख्यामा मात्रै गरिएकाले त्यसको प्रभावकारितामा अझै विश्वास गरिहाल्न सकिने अवस्था नरहेको ठान्छन्।

तर खोपका विषयमा नेपाल र भारतबीच सहकार्य हुन सके चिसोपनबाट तङ्ग्रिने प्रयास गरिरहेको दुई देशको सम्बन्धले नयाँ दिशा पाउनसक्ने उनी बताउँछन्।

“यो दुई देशबीचको सम्बन्धलाई अझै बलियो बन्ने माध्यम पनि बन्नसक्छ। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा कोभिड-१९ लाई कसरी नियन्त्रण गर्ने भन्ने हो। सिरम इन्स्टिच्युटमा बनिरहेको खोप अहिलेसम्म हेर्दा प्रभावकारी पनि देखिरहेको छ। त्यहीँ भएर राम्रो सहकार्य हुनसक्यो भने नेपाल र भारत दुवैले लाभ लिनसक्ने अवस्था छ।”

यसअघि नै नेपाली अधिकारीहरूले १५ वर्ष उमेरभन्दा माथिका सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन ६० अर्ब रूपैयाँसम्म लाग्नसक्ने अनुमान गरिएको बीबीसीलाई बताएका थिए।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.