स्वस्थ मुटुका ५ रहस्यहरू | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

स्वस्थ मुटुका ५ रहस्यहरू





नेपाली जनहरूमा मुटुको जनचेतना अनि जीवनशैलीगत कुराहरू सञ्चार गर्न हाम्रो पात्रो आज स्वस्थ मुटुका ५ रहस्यहरू लिएर आएको छ । हाम्रो पात्रो एपमा "हाम्रो पात्रो हेल्थ" फिचर अन्तर्गत यहाँहरूले सजिलै विशेषज्ञ डाक्टरहरूसँग एउटा क्लिक मार्फत जोडिन सक्नुहुनेछ।

हुन त दैनिक व्यायाम र सन्तुलित भोजनले हाम्रो मुटुलाई स्वस्थ राख्दछ भन्ने कुरा हामीले विभिन्न श्रोतबाट थाहा पाएका नै छौँ। तथापि आज हामी व्यवहारगत पक्षमा स्वस्थ मुटुको पक्षहरू उजागर गर्दैछौँ । आउनुहोस् स्वस्थ मुटुको लागि जीवनशैलीमा यी कुराहरू लागू गर्ने प्रयास गरौँ ।

१. स्वस्थ फ्याट सेवन गरौँ, ट्रान्स फ्याट सेवन नगरौँ
फ्याट अर्थात् बोसो आफैँमा खराब कुरा हैन । हाम्रो शरीरलाई अघुलनशील, घुलनशील र अर्ध घुलनशील फ्याटहरू चाहिन्छ । तर, ट्रान्स फ्याट भने हाम्रो मुटुका लागि अत्यन्त हानिकारक छ । ट्रान्स फ्याटले हाम्रो धमनीहरूमा जमेर रक्तसञ्चारमा अवरोध पुर्‍याउने, कोलेस्ट्रोल बढाउने गर्दछ ।

ट्रान्स फ्याट कृत्रिम बोसो हो जुन कारखानामा हाइड्रोजनलाई तरल वनस्पति घ्यूसँग मिसाएर कडा बनाएर तयार गरिन्छ । डाल्डा घ्युहरू, प्याकेटका चिप्सहरू, चाउचाउ लगायत विभिन्न प्याकेटका खानेकुराहरूमा ट्रान्स फ्याट पाइन्छ । हामी रोएका बच्चाहरूलाई फकाउन यस्ता कुराहरू उपहार दिने गर्दछौँ, जुन सरासर गलत हो । यस्ता हानिकारक कुराहरू बालबालिकाहरूलाई दिएर उनीहरूको स्वास्थ्यसँग कति खेलिरहेका छौँ हामी, विचार गरौँ ।

प्याकेटका खानेकुराहरू खाँदा त्यो बनाउन लागेका तत्त्वहरू हेरेर खाने गरेको छौँ भने ट्रान्स फ्याट नखाएकै बेस । वनस्पति घ्यू लगायतका पदार्थ हालेर बनाएका कुराहरू पनि न्यूनतम सेवन गरौँ, ति खानेकुराहरू भन्दा त मुटु जरुरी छ, हैन र ?

२. मुख अनि दाँतको दैनिक सरसफाइ गर्ने गरौँ
दाँतको गिजाबाट रगत आउने मान्छेहरू हृदय रोगको बढी जोखिममा हुन्छन्। मुखमा र दाँतमा घाउ गराउने हानिकारक ब्याक्टेरियाहरू मुटु र रक्तसञ्चारका लागि हानिकारक छन् ।

३. पर्याप्त सुत्ने गरौँ
हामी मध्ये धेरै मानिसहरू राती नसुती काम गर्ने बानी भएका छौँ । तर, बिस्तारै यो बानीले हामीलाई मुटु रोगको जोखिमसँग नजिक लगिरहेको हुन्छ । ४५ वर्ष भन्दा कम उमेरका ३०० जना वयस्क व्यक्तिलाई लिएर एउटा सर्वेक्षण गर्दा दैनिक ४ घण्टा भन्दा कम सुत्नेहरूलाई अन्यको तुलनामा दुई गुणा मुटु रोगको जोखिम हुने गरेको पाइयो । थोरै सुत्नेहरूलाई ग्यास्ट्रिक, रक्तचाप जस्ता थुप्रै समस्याहरू लगायत मुटु रोगको जोखिम पनि शतप्रतिशत नै रहने गर्दछ ।
दैनिक ७ देखि ८ घण्टा सुत्ने बानी गरौँ ।

४. एकै ठाउँमा धेरै बेर बसिरहन हुँदैन
कमप्यूटरको बढ्दो प्रयोग अनि मोबाइलको प्रभावकारिता सँगसँगै मान्छेहरूले ग्याजेटको स्क्रिनबाट संसार नियाल्ने चलन बढेको छ । अहिले कुर्सी अनि टेबलमा संसार अटाएपछि एकै ठाउँमा बसेर कार्य गर्ने चलन बढेको र हिँडडुल निक्कै कम हुने गरेको छ। एकै ठाउँमा बसिरहने बानी मुटु रोगको दुष्टिले जोखिमपूर्ण छ । यसरी बसेर कार्य गर्ने मान्छेहरूमा शारीरिक अभ्यासको कमी अनि तनावको वृद्धि हुन्छ, एउटा अध्ययन अनुसार यस्ता व्यक्तिहरू मुटु रोगका हिसाबले अरूभन्दा करिब १४७ प्रतिशत बढी जोखिममा हुन्छन् ।

५. धूम्रपान सेवन नगरौँ र अझ सेकेन्ड ह्याण्ड धूम्रपान नगरौँ
धूम्रपान गर्ने मान्छेहरूको संसर्गमा धुवाँहरूका बीच बस्ने धूम्रपान नगर्ने मान्छे झन् जोखिममा हुन्छ । यस्ता व्यक्तिहरूलाई कोलेस्ट्रोल अनि मुटु रोगको अझ बढी सम्भावना हुन्छ । हामी नेपालीहरूमा चुरोट पनि साटेर सेवन गर्ने चलन छ, यो झन् नराम्रो हो । मुटु रोगबाट बच्न सकेसम्म धूम्रपान नगरौँ अनि अझ सेकेन्ड हयाण्ड धूम्रपानबाट पनि टाढै बसौं ।

शारीरिक रूपमा सक्रिय अनि सकारात्मक शैलीको जीवन अपनाऔँ ।

स्वास्थ्यसँग सम्बन्धित कुनैपनि समस्या वा जिज्ञासा भए ढिला नगरी आजै हाम्रो पात्रो हेल्थ मार्फत विज्ञ डाक्टरसँग परामर्श लिउँ ।

सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.