मोक्षदा एकादशी/गीता जयन्ती | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

मोक्षदा एकादशी/गीता जयन्ती





मङ्सिर शुक्ल पक्षको एकादशी लाई किन गीता जयन्तीका रुपमा पनि मनाइन्छ ?
श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।

एकादशीमा के के गरिन्छ ?
हामीले यसअघि हाम्रो पात्रोमा एकादशीको महिमाहरूबारे चर्चा गरिसकेका छौँ । तपाईंहरुलाई पनि पक्कै थाहा छ, एकादशीमा विशेष भगवान विष्णुको पूजा गरिन्छ । आज विष्णु प्रतिमा स्थापना गरेर धूप, दीप, नैवेद्य चढाउने परम्परा रहेको छ । त्यस्तै, ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने पनि विश्वास गरिन्छ ।

धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिनाले सबै पापहरूबाट समेत मोक्ष प्राप्ति हुन्छ । अनि पापबाट मोक्ष प्राप्त हुने भएकाले आजको एकादशीलाई मोक्षदा एकादशी भनिएको विश्वास गरिन्छ । आजको दिन शुद्ध मनले व्रत बस्नाले पूर्वजहरूले समेत पापबाट मुक्ति पाउने र उनीहरूको स्वर्गको बास हुने धार्मिक मान्यता रहेको छ ।

मोक्षदा एकादशीको व्रत कथा
पौराणिक कथाअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजा थिए । राजा वैखानसले एक पटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफूलाई अनुनय गरेको देखे । यस्तो सपना देखेपछि उनी चिन्तित भए, बिहानै उठेपछि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा उनले सविस्तार सुनाए । राजाको कुरा सुनेपछि गुरु पुरोहितहरूले पर्वत नाम गरेका एक तपस्वी ऋषिमुनिलाई भेटे र उद्धारको तरिका सिक्न खोजे ।

ती ऋषिले वैखानसलाई उनका पिताले पूर्व जन्ममा गरेको पापबारे बताए, त्यसका कारण नर्क भोग्नु परेको सविस्तार वर्णन गरे । अनि यसबाट पितालाई मुक्त गर्न मङ्सिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत लिनु पर्ने बताए । ती ऋषिको अनुसार वैखानसले मोक्षदा एकादशीको व्रत बसे, पितालाई नर्कबाट उद्धार गरे ।

त्यही बेलादेखि भक्तालुहरूले आफ्ना पितृको उद्धारका लागि मोक्षदा एकादशीमा व्रत बस्ने गरेको मानिन्छ ।

गीता जयन्ती
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि
श्रीमद्भागवत अध्याय २ श्लोक ४७०

अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईँले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार नमान्नुहोस् र सदैव अगाडि बढ्नुहोस् ।

आज गीता जयन्ती । गीता जयन्तीको अवसरमा सनातन हिन्दु दर्शनको एउटा अनुपम ग्रन्थ गीताको अनुग्रह र ज्ञान सबैलाई मिलोस् भन्ने हाम्रो पात्रो परिवार कामना गर्दछ । गीताको महत्त्व र यसको दार्शनिकबारे विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको विषयमा यदाकदा चर्चा हुने गरेको छ । यसको महत्त्वलाई थप प्रभावशाली बनाउन र थप वृहत् बनाउन आज गीता जयन्ती मनाउने गरिएको हो ।

५ हजार वर्ष अगाडिको पवित्र ग्रन्थ गीता
आजभन्दा ५ हजार वर्ष पहिले अर्थात् कलियुगको आरम्भमा आजकै दिन भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको विश्वास गरिन्छ । अनि यसैले गर्दा विश्वमा अहिले पनि गीताका उपदेश र सन्दर्भका कारण मानवीयताका परिभाषाहरूले अझ उच्चतम विश्वास पाउँदै गएका छन् ।

मोक्षदा एकादशीको आजको दिनलाई गीता जयन्ती किन मानिएको पनि हुनसक्छ भने गीताले मानिसलाई मोक्ष प्राप्त गर्ने बाटोमा अग्रसर बनाउँछ भन्ने विश्वास गरिन्छ । सम भाव, अन्याय, अत्याचाररहित समाजको कल्पना गराउने, यसको विशिष्टताको व्याख्या गर्ने विश्वकै पुरानो ग्रन्थमध्ये एक गीताको पृष्ठभूमि पनि महाभारतको युद्ध नै हो ।

आजभन्दा झन्डै ५ हजार वर्ष पहिले सुनाइएको गीताको यो सार र सन्देश आज कलियुगमा पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्व राख्छ र यसले संसारका सबै चेतनशील प्राणीले मनन गर्नु पर्ने शिक्षा दिन्छ । मानिसको आत्माले न जन्म लिन्छ न मर्छ, जे हुन्छ, त्यो सबै कुराका लागि राम्रो हुन्छ भन्ने भाव गीताले बोकेको छ ।

हो, गीता हिन्दु धर्मावलम्बीहरूको ग्रन्थका रूपमा पनि लिइन्छ । तर, यसको शिक्षाले कुनै एउटा विशेष धर्मलाई मात्र संरक्षण र प्रोत्साहन गर्दैन, यसले त मानव जीवनको सुन्दर पक्षलाई व्याख्या गर्छ । गीता ज्ञानको सबैभन्दा ठुलो भण्डारण हो, हामी सबैको सम्पत्ति र अटुट ज्ञानको स्रोत हो । गीता जयन्तीको उपलक्ष्यमा हाम्रो पात्रो परिवारको तर्फबाट सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.