प्रणय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

प्रणय दिवस




प्रणय दिवस विशेष अडियो सामग्री

किन होला हिजो आज बरालिन्छ, मन यो
जति बाँधी राखूँ भन्छु उति उड्छ मन यो
छाया एउटा सधैँ डुल्छ, जहाँ जहाँ म डुले
फूल भुल्यो भवरामा, कुन्नि के मा म भुले ??

यो फूल र प्रीतको गीतले आजको दिनको मादकता अनि रसिकता बयान गर्दछ । डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको यो गीतबाट सुरु गर्‍यौँ आजको विशेष शब्दहरू ।

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौँ तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

तिम्रो मनमा लुकेको कुरा
नबोले पनि
भुली दिने लाई
बिर्सी दिने लाई
माया त मायै हो

लौ है! तपाईँले माया गर्नुभएको या तपाईँलाई माया गर्ने अनि एक अर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरू लगायत सबैलाई यादहरूलाई लाखौँ गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?

त्यो पहिलो प्रेम, स्कुलमा लुकाएर दिएको प्रेम पत्र, घण्टौँ घोरिएर शब्द रोजी रोजी पठाएका SMS हरू, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको सुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाइन डे ।

पश्चिमी सभ्यताका आयातित 'डे' का रूपमा आजको भ्यालेन्टाइन डेलाई आलोचना पनि गरिएको छ । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्त्वपूर्ण हो । मायाको कुरा गरिन्छ र मानवता आत्मसाथ गरिन्छ भने नेपालीहरूलाई दिन विशेषसँग किन समस्या पर्ला र ? मायाको यो दिवस हामी सबैलाई मिठै लाग्छ, कि कसो ?

आज मायाका भावनाहरू साटासाट गर्ने दिन
आज लुकीचोरी धेरै जनाले आफ्ना मायाका भावनाहरू साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरू सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरूमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै छ कुरी बसेको छ ।

संसारका चर्चित प्रेमकथाहरू धेरै जसो संयोगान्त कि वियोगान्त ?
एउटा अचम्मको तथ्य के छ भने, 'संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरू संयोगान्त भन्दा वियोगान्त छन् ।' अर्थात् माया सहज छैन, उदाहरण कालागि भगवान् श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना-मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडिलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण...

मनै त हो
मनै त हो, स्विकारिए पनि या अस्वीकार भए पनि आत्तिने अनि मात्तिने नगरौँ । आफूले एकोहोरो चाहँदैमा त्यो माया प्राप्त हुनपर्छ भन्ने जरुरी छैन, मूल कुरो हो एक अर्काबिच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरिका कुराहरू अधूरा लाग्न थाल्छन् । प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो ।

इटलीका सम्राट् क्लाउडिअस २ ले नागरिक विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस मनाइन्छ । करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान-प्रदान गरी यो मायालु दिनको उत्सव मनाईदैछ ।

सम्राट् क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्द गृहको एक सिपाहीकी छोरीसँग यिनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनी आफूलाई प्रेषकका रुपमा गरिएको एउटा सम्बोधन त्यही सम्बोधन आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाईनका रुपमा सम्झिने गर्दछन् ।

मायाका नाममा कुनै र्दुब्यबहार नगरौँ, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔँ । बलजफ्ति प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो । मायालाई सङ्कुचित र फगत सीमित आकर्षणको घेराभन्दा पर पलभरमा संसारै फरक पार्न सक्ने आँखाले हेर्न आवश्यक छ । आकर्षण त फेरी सकिएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जूगाैजूग अमर भई बाँच्नेछ ।

प्रेमलाई केवल प्रेमी प्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरूबिचमा मायाको शीतल आँचल लहराई रहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नू मायालुप्रति बफादार बनौँ पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बत्ताइदिनुहोस्, कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्ने गरी माया मुटुभरि भर्नुहोला ।

हाम्रो पात्रोको लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.