चलचित्र "सकुन्तला" गत शुक्रवार रिलिज भएको छ । नारी संवेदना र लैङ्गिक विभेदलाई मुलभूत बिषय मानेर बनाइएको भनेर प्रचार गरिएको चलचित्र "सकुन्तला"को अर्को नयाँपन भने महानायक राजेश हमालको किन्नर भूमिका अर्थात नारी राजेश हमाल पात्रको उपस्थिती हो ।
राजेश नै शकुन्तलाको भूमिकामा सारी र चोलो लगाएर देखापर्ने यस चलचित्रमा उनका अलावा किशोर खतिवडा, अनु शाह, सूवर्ण स्मृती श्रेष्ठ, रवि गिरि, प्रदिप कुमार उदय, प्रदिप ढकाल र शिवन श्रेष्ठ रहेका छन् । निर्देशक दिनेश श्रेष्ठ, संगीत अर्जुन पोखरेल र माइकल चन्दको कोरियोग्राफि रहेको छ ।
प्लट
"सकुन्तला दिदि", एकजना समाजसेवी हुन र उनी अनाथ आश्रमहरुलाई चन्दा दिन र महिला अधिकारको वकालत गर्न पछि पर्दिनन साथै उनी आफ्नो न्यायधिश आफै हुन् र आफ्नो नियमहरु आफै बनाउँछिन । उनको परिवारलाई उनी बालकहुँदा शोभराज नामक गुण्डाले हत्या गरेर उनको गुप्त अंग काटिदिएको हुन्छ, त्यहि पीडा त्यस्पश्चात् बालक राजेश हमाल पछिगएर नारीहरुको हक अधिकारकालागि जीवनभरि नै नारी भएर बाँच्ने प्रतिज्ञा गरेको हुन्छ र उनी बन्छन् "सकुन्तला दिदि" यो नितान्त "सकुन्तला" नामक पात्रको अाफै खालको बदला अनि फैसलाको कथा हो ।
चलचित्रका अर्का पात्र किशोर खतिवडा अर्थात 'समीर' पनि एकजना बहिनी गुमाएका वलवान पात्र हुन जो असामान्य रुपमा बलवान रूपमा प्रस्तुत गरिएको छ जसमा अर्का एकजना निष्ठावान प्रहरी इन्सपेक्टर अनि शोभराज भनिने गुण्डाको चारवटा भाइहरुबिचको बदला कथा हो यो चलचित्र ।
बाल्यकालमा गुप्ताङ्ग काटिएका राजेश हमालको बालक रुप पछि "सकुन्तला" हुन्छ तर ति पीडित बालकको कसरी महिलाको जस्तो शारीरिक बनाेट भएर अाउँछ । विज्ञानले पनि देखाउन नसकेको चमत्कार चलचित्रमा देखाइएको छ, तेश्रो लिङ्गि एउटा जन्मिदैं फरक भावना र फरक लैंगीक सोंच लिएर अाउने समाजको एउटा फरक अंश हो तर लेखक र निर्देशकले यो गैह्र-जैविक रुपान्तरणको उत्तर चलचित्रमा दिनसकेका छैन । केवल एउटा फरक घट्नासंग महिला संवेदनालार्इ जवरजस्ति जोड्न खोजीएको छ ।
कथा पटकथा र संवाद
निरन्तरको उही पूराना फ्ल्प कथा र संवादको मेथड अपनाइएको यस चलचित्रमा "सकुन्तला दिदि"को उपस्थिती र कथाको अनावश्यक जोडघटाउका कारण प्रश्न उठ्ने ठाउँ प्रशस्तै छ । "सकुन्तला दिदि"को प्रतिज्ञा, समीरको साथ अनि प्रहरीको भूमिका यीसबै कुराहरुको सबैभन्दा झुर केमिस्ट्री छ यो चलचित्रमा ।
"त्यसोभए अब हामी प्रहरीले पिशाब गर्न पनि माथीबाटै आदेश लिएर गर्नुपर्ने भयो"
"त्यो दिलमा एकफेर कसैलाई बसाएर त हेर्नुस, तपाइको संसार फेरि रंगीन हुनेछ"
तिमीहरुको लागी म महाकाल यमराज हुँ जस्ता "राजेश दार्इ"ब्राण्डका डाइलगहरुले अधिकांश समयमा चलचित्रलाई तेश्रो ग्रेडको हिन्दि चलचित्रको झझल्को दिन्छ र महानायकको चलचित्र छनाैटको क्षमतामाथि प्रश्नचिन्ह खडा गर्छ ।
राजेश हमाल नेपालका महानायकको गुत्थि भिरेका छन् । देश विदेश लगायतका ठाउँमा बसेर पढेर अन्तराष्ट्रिय स्तरका ज्ञान र अनुभव बटुलेर पनि नेपाली चलचित्र अभिनयका क्रममा आफ्नो ज्ञान र दक्षतानुसारका कुनै असर देखाउन नसकेर केवल एउटा सरासर वकम्फुसे चलचित्र र काम नलाग्ने कथामा अभिनय गरिरहदाँ, उनले दिनसक्ने अभिभावकत्व र निर्देशनको अभाव दशकौं देखि नेपाली चलचित्रमा हावी भइनै रहने हो की भन्ने शंका उब्जिन्छ ।
नचाहिने घटना, रिपिटेड परिघटना, सस्तो आतंक अनि नसुहाउने परिवेश भएको "सकुन्तला"को कथा दर्दनाक छ । किन
राजेश हमालले यो चलचित्रमा अभिनय गरे ? "सकुन्तला"को आगमनले चलचित्रलाई कत्तिको न्याय गरेको छ अनि सारी, मेकअप गर्दैमा दर्शकहरुले अन्य चलचित्रमा महानायक र एक्शन हिरोका रुपमा देखेका अल्फामेल राजेश हमाल यस चलचित्रमा महिलाका रुपमा देख्दा उत्साह भन्दा थकान महशुस गराउने काम यो कथाले उत्पन्न गरेको छ ।
प्राविधिक पक्ष
"सकुन्तला"का नाममा प्राविधिक पक्षले एउटा साउथ इण्डियन चलचित्र परिकल्पना गरेकै हो, फाइटका दृश्यहरुमा गुरुत्वबल विनाको पृथ्वी जस्तै मान्छेहरु धेरै उड्ने र सानो किकमै उडेर जमिनमा ठोकिएर विपरीत दिशामा हुत्तिएका देखिन्छन् । गाडिका सिसाहरु हाँस्यास्पद रुपमा फुट्दछन भने गुण्डासंगको बदलामा आधारित चलचित्रमा पुरातात्वीक प्रकृतीका कुस्ती र चक्कु बाहेक अन्य कुनै हात हतियार देखिन्न । काठमाडौ शदिगेट सुन्धारा, स्वयम्भू लगायतका ठाउँमा खिचिएको गीतहरूको चलचित्र र कथासंग कुनै तालमेल देखिदैन, संगीतलाई ठिकै मान्न सकिन्छ तर छायाङ्कन भने चित्तबुझ्दो छैन । अत्यन्तै किफायती र नजिकैका डाडाँकाडाँहरूलाई अधिकतम उपयोग गरिएको चलचित्रमा वास्तवमा अधिकांश समय एउटै ठाउँ र लोकेशन दाेहाेर्यार्इ तेहर्यार्इ देखाइएको छ ।
निर्देशन
राजेश हमालले सारी र चोलो लाउँदैमा दर्शक तान्न सजिलो हुन्छ भन्ने निर्देशकको आकँलन थच्चिने पक्का छ । अर्चना पनेरुले खुलेआम प्रदर्शन गर्नखोजेका सिनहरु र अन्य धेरै ग्लामरस मानिएका चलचित्र हेर्न जान अल्छि गरेका नेपाली दर्शकहरु एक्शन रोलमा ठूलो स्वरमा वुरुक्क उफ्रिएर कराउने बलवान नायक राजेश हमालको सारी चोलो हेर्न पक्कै जानेवाला छैनन् । लामो समयपछि उनको पहिरन र उनले गर्न रूचाउने अभिनयमा सारी चोलोको प्रयोग असफल छ भन्दा फरक नपर्ला । यसका अलावा फिल्ममा भिजनको कमी छ, डाइलगको रेकर्डिङ्ग एउटा रेडियो स्टेशनको विज्ञापन जत्तिपनि भाव आउने खालको छैन, निर्देशकले न्याय दिएका छैनन । चलचित्र उत्पादन, प्रर्दशनमा काम लाग्ने जतिका सबै फण्डा फेल छ ।
समिकरण
अस्वभाविक र एतिहासिक रुपमा नमिलेको समिकरण यस चलचित्रमा कहिं नभाको जात्रा हाडिँ गाउँमा भनेझै छ । रवि गिरि अत्यन्तै खारिएका कलाकार हुन तथापि उनको अभिनयसँग मेलखाने काउन्टरपार्ट नहुँदा हामीले बच्चैदेखि 'कालीगण्डकीको सेरोफेरो' अनि थुप्रै टेलिसिरियलका महा भिलेन रवि गिरिको अभिनय समेत राम्रो हुँदाहुँदै फिक्का लाग्छ ।
गुण्डा भनेको कपाल पालेकै, चुरोट खाने र मोटाघाटा हुनपर्छ भन्ने अघिल्लो दशकको फर्मूलाबाट यो चलचित्र अझै प्रेरित छ, हिरोइनहरुको संवाद उदेक लाग्दो छ अनि घरि घरि धेरै सामाजिक सन्देश बोकेको जस्तो यो चलचित्र "विकासे चलचित्र" जस्तो पनि लाग्छ ।
राजेश हमालको नारी अभिनय प्रयास र उनले वर्षौदेखि नेपाली चलचित्रमा दिएको उधारोलाई सम्मानगर्दै हामीले यो चलचित्रलाई कूल पाँच अंकमा १.५ भन्दा बढि दिन सकेनौं ।
---
'हाम्रो पात्रो'कालागि मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालको समिक्षा ।
Liked by: