कस्तो छ "लूट २"? -समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो छ "लूट २"? -समीक्षा




   मन्दिप गाैतम - Feb 24 2017
"लूट २" समीक्षा अडियो

यो साता मल्टीस्टारर "लूट २" देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । २०१२ मा प्रदर्शनमा आएको चलचित्र "लुट"ले नेपाली चलचित्र जगतमा एउटा यस्तो हुरी ल्यायो जुन सम्पूर्ण चलचित्रप्रेमीले बिर्सन सक्दैनन् । त्यसबेला लुट प्रदर्शनमा आउनुअघिका थुप्रै चलचित्रहरुले दर्शकको अपेक्षा पूरा गर्न सकेका थिएनन् , त्यस्तो बेलामा निश्चल बस्नेतको डेब्यु फिल्म तहल्का बनेर आयो र नेपाली चलचित्रहरु प्रति फेरि दर्शकलार्इ सकारात्मक रहन बाध्य बनाइदियो । आज लगभग ५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको छ । आउनुहोस जानौ दर्शकहरुलाई कस्तो लाग्न सक्छ चलचित्र लूट २ । हाम्रो पात्रोको समीक्षामा ।

प्लट
चलचित्र लूट सकिएपछीको पाच वर्ष पछीको कथा बोकेको छ चलचित्र लूट २ ले  भूकम्प आएपछि जेल भत्किएर भागेका ४ साथि दयाहाङ राई , कर्म , सुशील राज पाण्डे र प्रतीक न्योपाने हाकु काले अर्थात् सौगात मल्लको खोजीमा छन् । उनीहरुको कुरा सीधा छ हाकु काले सँग बदला । एता हाकु काले बैंक लुटेको पैसाले एउटा स्तरीय जीवन बाचिरहेको छ , तर कालो धन्दा उसको पेशा भैसक्यो । हाकु फेरी एकपटक कुनै ठुलो काम गर्ने योजना बनाउदै छ । जब साथिहरुले हाकुलार्इ भेट्छन् तब हाकु र ति साथिहरु बीचको मुसा बिरालोको खेल नै चलचित्र लूट २ को कथा हो । अन्तसम्म आइपुग्दा थुप्रै ट्वीस्ट रहेको यो कथा कता कता मोडिन्छ त्यसको लागि यहाँहरुले चलचित्र हेर्ने पर्ने हुन्छ ।

कथा ,पटकथा र संवाद
चलचित्र लूट २ को कथा फेरी एकपटक एउटा ठुलो लूट कै वरिपरी घुमेको छ । निर्देशक बस्नेतले नै लेखेको चलचित्रको कथालार्इ उनले एउटा पर्फेक्ट सीक्वल बनाउने क्रममा निक्कै नै सतर्क रही उही पात्रको कथालार्इ मात्र अगाडी बढाएका छन् । चलचित्रको पटकथा पनि राम्रो छ , खासगरी दोस्रो हाफ निक्कै नै इंगेजिंग छ । पहिलो हाफमा पात्रहरुको स्थापना गराउने दृश्यहरु अलि फिक्का भने अवस्य लाग्दछ । तर अन्तसम्म आइपुग्दा चलचित्र रोचक बन्न पुग्दछ । कुरा गरौ चलचित्रको संवादहरुको , निर्देशक बस्नेतले निर्देशन गरेको लूटको संवादहरु त्यस चलचित्रको अव्वल पक्ष थियो । तर बस्नेतले यो चलचित्रमा आफ्नो संवादहरुमै थोरै भट्किएको हामीलाई महसुस भयो । लूटका जति प्रभावशालि संवाद सायदै सुन्न पाइन्छ उल्टै संवादकै कारण थुप्रै सिनहरु जरुरत भन्दा धेरै लामो लाग्दछन् । संवादको ओभरडोज चलचित्रको मुख्य खोट देखिन्छ। निश्चलका संवादहरुले बेला बेलामा दर्शक हसाउन भने छाडदैनन् ।



पर्फर्मेन्स

चलचित्र लूट त्यहाँ भएका सबै कलाकारहरुका लागि एउटा करियर टर्निंग पोइन्ट थियो , लूट २ मा पनि सबैले आफ्नो उत्कृष्ट पर्फर्मेन्स दिएका छन् । मास्टर माइन्ड सौगात मल्ल अर्थात हाकु कालेले यो चलचित्रबाट भने पहिला जस्तो लोकप्रीयता नपाउन सक्छन , तैपनि उनले ठाउँ ठाउँमा प्रभाव भने अवस्य छोडछन् । गोफ्लेको भूमिकामा दयाहांग राईको जति तरिफ गरेपनि कम लाग्दछ , उनले दर्शक हसाउन छाड्दैनन , खासगरी उनको र सुन्दरी बीचका दृश्यहरु निक्कै रमाइला छन् । कर्मले कथा अनुसार चाहिने रिस स्क्रिनमा उत्कृष रूपमा प्रस्तुत गरेका छन् । प्रतीक राज न्योपाने राम्रो छन् र सुशील राज पाण्डे पनि ठिक ठाक छन् । त्यसबाहेक चलचित्रमा प्रवीन खातिवड़ा, बिपिन कार्की र रामेश्वोर चौरसियाले बाकी कलाकारलार्इ उत्कृष्ट सपोर्ट प्रदान गरेका छन् । चलचित्रमा सुन्दरीको भूमिकामा देखा पर्ने अलिशा राईले इम्प्रेस गर्दछिन । सिर्जना सुब्बा उत्कृष्ट छिन तर कथाले ऋचा शर्मालार्इ भने खासै ठाउँ दिएको छैन उनको काम ठिक ठाक छ ।

संगीत र प्राविधिक पक्ष
काली प्रसाद बास्कोटाको ठमेल बजार लूट २ को आकर्षण नै हो । नृत्यमा अलिशा राई सबैको मनमा छाई नै सकिन , नृत्य निर्देशक बिक्रम स्वरलार्इ फुल मार्क। घ्याम्पे गीत नि राम्रो छ र हर्कुलसको संगीत र रेनिषाको कोरीयोग्राफी तारिफयोग्य छ , त्यसबाहेक चलचित्रमा ब्याक्ग्राउँन्डमा केही गीत बज्छन र ति गीतहरुले प्रभाव पार्दैनन् ।

पुरुषोत्तम प्रधानको छायांकन पक्कै पनि सधै झैँ उत्कृष्ट नै छ , यो चलचित्रमा पनि उनको प्रभाव देखिन्छ । सुरेन्द्र पौड्यालको एडिटिंग भने यसपटक निकै फितलो छ , चलचित्रमा कैची चलाउन पर्ने धेरै ठाउँ छ तर किन एडिटर चुके बुझ्न सकिन्न । थुप्रै दृश्यहरु अलिकति लामो भएको अनुभव हुन्छ । लूट २ लार्इ फास्ट पेस थ्रिलर बनाउन चुकेका छन् सुरेन्द्र पौड्याल।. राज कुमार उप्रेतीको फाइटहरु गज्जब का छन् । त्यसबाहेक रोहित शाक्य र शैलेश श्रेष्ठको ब्यक्ग्राउन्ड स्कोर पनि दोस्रो हाफमा उल्लेखनीय छ ।

निर्देशन
निर्देशक निश्चल बस्नेतले जुनै काम गरेपनि उनीमाथि थुप्रै दवाव रहन्छ , कारण उनीबाट दर्शकहरुलाई अपेक्षा बढी नै हुने गर्दछ । लूट २ लार्इ न्याय दिन पक्कै पनि उनलाई धेरै मेहेनत लाग्यो , र उनले धेरै हद सम्म चलचित्रलार्इ न्याय दिएका पनि छन् , हरेक दृश्य चाहिने भन्दा लामो हुनु पक्कै पनि कमजोरी हो , तर उनले एउटा इन्गेजिंग चलचित्र दर्शक अघि पस्केका छन् । उनको स्मार्ट निर्देशन दोस्रो हाफमा छ जब थुप्रै दर्शकले कथा अनुमान गरिसक्दा पनि चलचित्र बाट ध्यान भट्काउन भने सक्दैनन् । थोरै कमि कमजोरी सुधारेको भए चलचित्र भए भन्दा निक्कै अव्वल बन्ने थियो ।

समीकरण
लूट २ पैसा वसूल चलचित्र बनेको छ , दर्शकहरुले यो चलचित्रलार्इ लूट संग तुलना गर्नु स्वाभाविक नै हो । सुरुको ४५ मिनेट अलि फिक्का लाग्दछ भने फिल्म त्यसपछी दर्शकहरुको ध्यान बाधेर हिडेको छ । चलचित्रले थुप्रै ठाउँमा हसाउछ र थुप्रै यस्ता सिन पनि छन् जहाँ हल भित्र तालीको बर्सात हुनेछ ।

रेटिंग : ३/५ 





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.