दुर्गापूजा र नारी सम्मान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

दुर्गापूजा र नारी सम्मान





        
यतिका धेरै देवीदेवताहरुको मन्दिर, देवल, मुर्ती अनि चाडवाड मनाउने विभिन्न तरिका र वर्षभरि हर्षेल्लासपूर्ण चाडवाडहरुले भरिभराउ देश नेपाल वाहेक शायदै अरुकुनै होला । नव दुर्गा, दश महाविधाहरु, अष्ट लक्ष्मी र चौसठी योगिनीहरु लगायत नेपालमा धेरै स्वरुप र प्रकृतीमा देवीहरु पाइन्छ ।

यी देवीहरु हाम्रो उपस्थिती अनि हाम्रो जिवनको हरेक प्रकृतीका संगम हुन्, हरेक प्राणीका लागी वेग्ला वेग्लैरुपमा प्रकट हुनसक्ने यी देवी हाम्रो जिवनको हरेक चरण अनि हाम्रा हरेक श्वासहरुमा विराजमान छिन् ।
लक्ष्मी, दुर्गा, चन्डी, सरस्वती, ललिता आदि देवीहरु माताका रुपमा मात्र नभई एउटा वालीका, योद्धा, रानी, राजकुमारी, भक्त, योगिनी आदिकारुपमा हाम्रो समस्त जिवनलाई अनि यस जगतमा महिला तत्वलाई अनि नारी विशेषतालाई अझ जोडदाररुपमा प्रस्तुत गर्दै आएका छन् । यी देवीहरु हरसंभव चित्र, शिल्प, मन्त्र, नृत्य र रितीमा समाविष्ट छन् , देवीहरु समक्ष हामीले कसरी पुकारा गर्ने भन्ने कुरामा कुनै छेकवार छैन्, आफूलाई मन लागेको भक्ति अनुसार यी देवीहरुलाई अर्चना र पुकारा गर्न सकिनेछ ।
क्रिस्टीएन धर्ममा जिसस क्राइस्ट कि आमा मडोनाको ब्याख्या र चर्चा धेरै पाइन्छ । भगवान जिससका धेरै तस्वीरहरु कोर्दा आमा मडोनालाई पनि साथमै राखेर चित्र श्रृजना गरिएको पाइन्छ । क्रिस्टीयानिटीमा मडोना विनाका जिससका तस्वीरहरु विरलै पाइन्छ । हिन्दु धर्ममा अत्यन्त दैवीक र आआफ्ना जनावर वाहन माथी चढेको अनि धेरै हातपाउ, शिर अनि त्रिशुल इत्यादि लिएकारुपमा क्रिस्टीएन धर्ममा देवीलाई प्रस्तुत गरिएको छैन । सामान्य महिला अनि जिसस सँगको उन्को सामीप्यतालाई उजागर गर्न खोजिएको छ ।

इस्लाम धर्ममा पनि भक्ति र ज्ञान घोचक ब्याख्यात्मक शब्दहरुलाई महिलावाचक शब्द र संवोधनले उजागर गरिएको छ । आमाहरुलाई अनि छोरीहरुलाई विशेष सुरक्षा, स्थान र सम्मान दिइएको छ । धेरैजसो पिता र पुरुष वाचक संवोधनले भक्ति अनि शुद्धतालाई ब्याख्या गरिएतापनि महिलाहरुलाई विशेष प्रार्थमिक्ता र स्थान दिइएको छ । यस धर्मावलम्वीहरुले चित्र या मुर्तीका पूजा नगर्ने हुँदा अन्य धर्ममा जस्तो महिला देवीको स्वरुप र आकृतीमा भने पाइदैन् ।
परापूर्वकालको पगन चित्रहरुले त्यतीवेला देखिनै महिलास्वरुपका देवीहरु सम्मानका साथ पूज्न थालिएको अनि मानव सभ्यताक्रम सँगै नारीहरुको पूजनीय स्थानरहेको स्पष्ट पार्दछ । मानवहरुले सर्वप्रथम आमाको रुपमा चाँही पृथ्वी अर्थात धर्ती माताको स्तुती र अर्चना गरेको हुनपर्दछ ।
वोद्धमार्गमा पनि माताहरु, नारी अनि नारीत्वलाई विशेष स्थान दिएर हेरिन्छ । अहिंसा र शान्तिलाई विशेष प्रार्थमिक्त दिइएको यस धर्ममा कुनैपनि प्रकारका हिंसालाई पनि ग्राहयता दिइन्न, समानता र सदभावका कुराहरुले पनि नारीहरुलाई विशिष्टस्थान दिएको छ ।

देवीस्वरुपहरुलाई धर्ममा मात्र संकुचित गर्न हुँदैन, हरेक नारीहरु देवी हुन र उनिहरुको सम्मान, सदभाव अनि समानतानै समृद्धिको सुचक हो । दुर्गाको अथवा मडोना वा अन्य धर्मक देवीहरुको अर्चना गरेतापनि घर या समाजमा महिलाहरुलाई प्रताडना दिने र नारीसमानताका तर्फ कदम चाल्न नसक्ने तपाइ हामी पुरुष या नारी जो नै भएपनि त्यस्तो पूजा र अर्चनाको औचित्य छैन । स्नेह, ममता, माया अनि सम्मानका सुचक सम्पूर्ण नारीहरु कहिले हाम्रो जिवनमा आमा, कहिले दिदि वहिनी, कहिले साथी, कहिले श्रिमती आदि भएर प्रकट हुन्छन्, श्रृष्टीमा नारीत्वको ठूलो महत्व छ, नारी विनाको श्रृष्टी र समाज संभव छैन ।
हामीभित्र भएको हाम्रो जननी आमाको अशं, यस धर्ती माताको अंश नै दुर्गा भवानी हुन र यस अर्थमा शक्ति हामीभित्रै छ । नारीत्वको सम्माननै सबैभन्दा ठूलो र महत्वपूर्ण दुर्गापूजा हुनसक्छ ।
दुर्गाको पूजानै नारी प्रतिको सम्मान र नारी शक्तिको उजागर गरिने अवसर हो, नारीको सम्माननै वास्तवमा दुर्गाको पूजा हो ।
अझ हिन्दु सभ्यता र सनातन धर्मका धेरै महत्वपूर्ण एतिहासिक अनि पवित्रस्थलहरु नेपालमा छन् । शिव पार्वतीले क्रिडा गरेको श्लेषमान्तक वन देखि कैलाश, पवित्र पाशुपत क्षेत्र, शालिग्राम पाउने कृष्ण गण्डकीदेखि वराहअवतार भएका वराहक्षेत्रसम्म, अर्कोतर्फ गौतमवुद्धको जन्मभुमी अनि उन्का शुरुवाती पाइलाहरु नेपाली भुमीमै चालिएको छ । यस भुमीका वासी हामीहरुले हामी जहाँ भएपनि नारी सम्मान र समानताका वारेमा सोच्न अत्यन्त जरुरी छ र नवरात्रिको मुल सन्देश पनि यहि हो ।

या देवी सर्वभूतेषु नारी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस्।।
अर्थात देवीका रुपमा सवत्र विराजमान अम्वे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.