सङ्गीतनाट्य शिरोभूषण : हरिप्रसाद रिमाल | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सङ्गीतनाट्य शिरोभूषण : हरिप्रसाद रिमाल




हरिप्रसाद रिमाल सानैदेखि नाचगानमा निक्कै जागरुक, सक्रिय र समर्पित थिए । यी विधामा उनले एकपटक सुनेको कुरा मनमनमा तुरुन्तै टिप्ने गर्थे । उनी नाटकका प्रायः जुनसुकै संवाद र स्वरसङ्गीतको नक्कल गर्न पनि त्यत्तिकै सिपालु थिए ।



बिनाबादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्तिनँ ।

(स्वर र सङ्गीत: हरिप्रसाद रिमाल, शब्द : आनन्द श्रेष्ठ)

हरिप्रसाद रिमालले रेडियो नेपालको स्थापनासँगसँगै गीत गाउन थालेका थिए । उनी रेडियो नेपालका संस्थापक कलाकारमध्ये एक थिए । रेडियो नेपालको इतिहासको कुरा गर्ने हो भने संवत् २००७ साल चैत २० गतेदेखि बिहान र बेलुका गरी एक घण्टा रेडियोको कार्यक्रम चलाउने निर्णय भएको थियो । त्यही निर्णयअनुसार सोही दिन हरिप्रसाद रिमाल पनि सिंहदरबार परिसरभित्र छिरेका थिए । सिंहदरबार परिसरभित्र राणाप्रधानमन्त्रीका नातिनातिनालाई पढाउने गरेको बङ्गला नै त्यस बेला रेडियो नेपाल राख्ने उचित ठाउँ थियो । त्यसैले त्यही घरबाट रेडियो नेपालको शुभारम्भमा नै बालकृष्ण समकी छोरी रश्मिराज्यलक्ष्मी राणाबाट सर्वप्रथम गीतको उद्घोषण भयो । ‘मेरो दिल टुक्रा बनेर एक दिन, आँखाको बाटो भएर बहनेछ’ बोलको शङ्कर लामिछानेका शब्दमा हरिप्रसाद रिमालकै स्वर र सङ्गीतमा रिमालले हार्मोनियम बजाएर गीत गाएका थिए । त्यसैले उनी रेडियो नेपालका प्रथम गायकका रूपमा दर्ता भएका थिए ।

हरिप्रसाद रिमालको हार्मोनियम बजाउन र तबला बजाउनमा बराबरी दक्षता थियो । उनी आफ्ना गीतमा मात्र बाजागाजा बजाउँदैनथे । उनी अरूअरूले गाउने गीतमा पनि बाजा बजाउन सरिक हुने गर्थे । उनी खालि गायक कलाकार मात्र थिएनन्, अरू गायक र कलाकार उत्पादन गर्ने काममा पनि क्रियाशील थिए । उनी आफू जति सादा, सरल र सहज देखिन्थे उनको भावना पनि त्यत्तिकै सफा थियो । त्यसैले धेरै कलाकारहरू हरिप्रसाद रिमालका छेउमा झुत्ती खेल्दै पुग्थे । तिनीहरूले आफ्ना पीरमार्का र समस्या पनि रिमालकै काखमा बिसाउने गर्थे । रिमाल आफ्नो गच्छेअनुसार सबैको काम गर्थे । कसैको काम गर्न सकिएन भने पनि उनी राम्ररी बुझाइदिएर आफ्नो दायित्व निर्वाह गर्थे । उनी नाच, गान र बोलीचालीका बराबरी शिल्पी थिए । उनको व्यवहारमा छङ्गै आकाश खुल्ने गर्थ्यो । छोटकरीमा भन्ने हो भने उनी सफा भावनाका लखपति थिए ।

हरिप्रसाद रिमालको जन्म संवत् १९८२ सालको असोज ५ गते काठमाडौँको लगनटोलमा भएको थियो । त्यति बेला उनका बाबु घनश्याम रिमाल महाराज देवशमशेर राणाका दरबारमा हाकिमको पदमा कार्यरत थिए । त्यसैले त्यति बेला रिमालपरिवारको हैसियत पनि राम्रै थियो । त्यतिखेर घरमा नै गुरु राखेर रिमाललाई प्रारम्भिक अक्षरारम्भ गराइएको थियो । केही समयपछि उनी लालबहादुर महर्जनका घरमा पढ्न जान थाले । त्यतिखेर लालबहादुरले बीसबाईस जना केटाकेटी राखेर आफ्नो घरमा पढाउने गर्थे । केही समय लालबहादुर महर्जनसँग शिक्षा आर्जन गरेपछि उनी दरबार स्कुलमा भर्ना भएका थिए ।

बाल्यकालदेखि नै हरिप्रसाद रिमालको संसार गीतगायन थियो । उनी गीत गाउन पाएपछि भोकतिर्खै भुल्ने गर्थे । उनी गीतकै भारी बोकेर हिँडे तापनि र सङ्ख्यात्मक दृष्टिले उनका गीत जेजति रिकर्ड भए तापनि बेरिकर्डको हिसाब गर्ने हो भने उनले चार सयवटा मौलिक गीत गाएका थिए । रेडियो नेपालमा चाहिँ पहिलोचोटि गीत गाएर उनी नेपाली गीतिसंसारका एउटा गजुर बने । साथै उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा गाए । उनका गीत सधैँ श्रोताका मनमा गुन्जिरहने भए:

कल्लेकल्ले कै लेकै ले डाक्छ मलाई डाक्छ
केलेकेले कसरीकसरी छोएजस्तो लाग्छ ।
(स्वर: हरिप्रसाद रिमाल र ध्रुव केसी, सङ्गीत: हरिप्रसाद रिमाल, शब्द: लक्ष्मण लोहनी)

सानै देखि गीतको नसामा डुबेका हरिप्रसाद रिमालले पढ्नचाहिँ त्यति मन दिएका थिएनन् । उनी स्कुलबाट भागीभागी गीतगायनमा सरिक हुन्थे । यति हुँदाहुँदै पनि उनले माध्यमिक शिक्षा प्राप्त गरेका थिए । त्यतिखेर पढाइ चल्दाचल्दै पनि उनको नसाचाहिँ सङ्गीतमै बेरिएको थियो । टोलछिमेकमा जहाँ र जता गीत गाउने र हार्मोनियम बजाउने मान्छे भेटिन्थे उनी उतै फट्का हान्थे । त्यही रीतले उनी तलेजु भवानीको मन्दिरमा पनि पुगेका थिए । त्यहाँ सानु आचाजु नाम गरेका पूजारीसँग उनको घनिष्ठता भएको थियो । किनभने सानु हार्मोनियममा प्रायः गीत गाइरहने गर्थे । तिनै सानुले रिमाललाई पनि छेउमा राखेर गीत गाउन लगाउँथे । वास्तवमा सानु आचाजुको त्यो निर्देशन रिमालका लागि एउटा ठूलो निगाह मानिन्थ्यो । त्यति मात्र होइन सानु मन्दिरमा चढाएका मीठामीठा नैबेदले रिमालको स्वागत गर्न पनि सिपालु थिए । सानुको माया, मोह र ममताका कारणले हरिप्रसाद रिमाल दिन दुई गुना रात चौगुनाका हिसाबले गीतिक्षेत्रमा सरिक हुन थाले ।

हरिप्रसाद रिमालका काका उमाकान्त रिमालचाहिँ कडा स्वभावका थिए । उनी आफ्ना भतिजालाई गीत गायो भनेर फुटेको आँखाले देख्न सक्तैनथे । हरिप्रसाद कलामा लागेको हुँदा उनलाई आफ्ना काकाले भाँड भन्थे । पछिपछि रेडियो नेपालबाट जागिरको तलब आउन थालेपछि चाहिँ उनका काकालाई गीतिकला त राम्रो रहेछ भन्ने भान हुन पनि थालेको थियो । सुरुसुरुमा उनका काका जति नै मापाका भए तापनि काकाका छोरा गोपालप्रसाद रिमालले भने हरिप्रसाद रिमाललाई धेरै माया गर्थे , भाइ भन्थे, उनलाई गाउन भनी राम्राराम्रा गीत लेखिदिन्थे ।

हरिप्रसाद रिमाल सानैदेखि नाचगानमा निक्कै जागरुक, सक्रिय र समर्पित थिए । यी विधामा उनले एकपटक सुनेको कुरा मनमनमा तुरुन्तै टिप्ने गर्थे । उनी नाटकका प्रायः जुनसुकै संवाद र स्वरसङ्गीतको नक्कल गर्न पनि त्यत्तिकै सिपालु थिए । कतैकसैले कुनै मञ्चमा गीत गाएपछि उनी फेरि तुरुन्तै त्यही मञ्चमा चढेर त्यही भाकामा निर्धक्कसँग गीत गाउन थालिहाल्थे । सानो बालकद्वारा यसरी अपर्झट गीत गाउँदा त्यो वातावरणको रौनक नै बेग्लै हुन्थ्यो । त्यसैले केही सङ्गीतप्रेमीहरूले त उनलाई मञ्चमा गएर बक्सिस पनि दिन्थे र कतिले त उनका गालामा म्वाइँ पनि खान्थे ।

हरिप्रसाद रिमालको स्वर बाल्यकालदेखि त्यही आँटमा प्रस्तुत हुनु पनि उनको स्वरको ठूलो विज्ञापन थियो । त्यसैले उनलाई ठाउँठाउँका सांस्कृतिक कार्यक्रममा गीत गाउन बोलाइन्थ्यो । उनी जहाँजहाँबाट निमन्त्रणा पाउँथे त्यहीँत्यहीँ गएर गीत गाउँथे । त्यतिखेर उनी नाचीनाची गीत गाएर दर्शकलाई मोहित पार्ने गर्थे । गीतको यस्तै सुरतालमा लागेर कहिलेकाहीँ त उनी दुई तीन दिनसम्म घरबाट पनि हराउँथे । उनको खोजी गर्दै उनका आमा, बुबा र काका चारै पट्टि पुग्थे । उनी भने आफ्नो काम सकिएपछि मात्र गलेर घर फर्कन्थे ।

हरिप्रसाद रिमाल एउटा होनहार गायक थिए । उमेरसँगसँगै उनको स्वर झनै परिमार्जित हुँदै पनि गयो । उनी झन् स्वर बनाई बनाई गीत गाउने गर्थे । त्यसै ले उनको गीतमा रेडियो नेपालमा फर्माइसी पनि पुग्थ्यो । जनचाहनाअनुसार उनको गीत रेडियो नेपालबाट बराबर बजिरह्यो:

फगत् एक नजरमा कसै ले लियो मन
जति बिर्सूं भन्छु उति सम्झने झन् ।
(स्वर र सङ्गीत: हरिप्रसाद रिमाल, शब्द: केशवराज पिँडाली)

हरिप्रसाद रिमालले दरबार स्कुल पढेताका त्यहाँ बालकृष्ण सम पनि पढाउँथे । रिमालले समद्वारा लिखित ‘मुकुन्द इन्दिरा’मा अभिनय गर्न पाएका थिए । त्यतिखेर त्यो नाटक राजदरबारमा पनि प्रदर्शित भयो । यो नाटक रिमालको अभिनयकलाको प्रथम खुड्किलो थियो । यस नाटकको अभिनयबाट सम प्रभावित थिए, त्यसैले उनले ‘प्रह्लाद’ नाटकमा पनि रिमाललाई खेलाएका थिए । ‘प्रह्लाद’मा रिमालले अभिनय गरे र गीत पनि गाए । त्यतिखेर यस नाटकका मूल दर्शक श्री ३ महाराज जुद्धशमशेर थिए । श्री ३ महाराज पनि रिमालको अभिनय र गीतगायनबाट चकित परे । त्यसैले उनले नाटक सकिनेबित्तिक्कै रिमाललाई बक्सिसस्वरूप पाँच सयवटा चाँदीका रुपियाँ दिएका थिए । एघार वर्षका ती बालकलाई ती पाँच सयवटा चाँदीका ढक बोकेर घर पुग्नु महाभारत थियो । त्यतिखेर उनले पन्ध्रबीस ठाउँ बिसाउँदै त्यो पैसा घर पुर्याएका थिए ।

हरिप्रसाद रिमालले बालकृष्ण समको प्रेरणाबाट नाट्यविधामा पनि समय दिइरहे । उनी रेडियो नेपालमा पनि नाटकमा सरिक भइरहे । उनले त्यहाँ गीतिनाटकको अभिनयमा बराबर भाग लिए र निर्देशन पनि गरिरहे । गीतगायन र नाटककै सिलसिलामा रिमालले रेडियो नेपाल र सांस्कृतिक संस्थानमा जीवनको महत्वपूर्ण समय अर्पित गरे । त्यति मात्र होइन, उनले थुप्रै स्कुल, कलेज, शाही नेपाली सेना र नेपाल प्रहरीमा पुगेर पनि गीत, नाटक र अभिनयको तालिम दिइरहे । रिमालले आफ्नो जीवनमा जम्मा पचासवटा नाटकमा अभिनय गरे । रेडियो नेपाल र संस्कृतिक संस्थानमा उनले पाँच सय जति नाटकको निर्देशन र अभिनय गरे । एक दर्जन नेपाली आधुनिक चलचित्रमा उनले अभिनय गरे । वास्तवमा निरन्तर रूपमा नेपाली भाषा र संस्कृतिको महिमा बढाउन पहल गर्ने उनी सशक्त योद्धा थिए ।

सांस्कृतिक यात्रामा हिँड्दै जाँदा उनको अनगिन्ती ठिटीहरूसँग पनि भेट भयोस तर उनले गायिका किशोरीदेवी अधिकारीसँग प्रीति गाँसे । साथै उनले २०११ सालमा किशोरीदेवीसँगै बिहे पनि गरे । बिहे गरेको केही समयमा उनकी पत्नीको मोटर दुर्घटनामा निधन भयो । त्यतिखेर उनले आफ्नो विश्व प्रलय भएको ठानेका थिए । तर बिस्तारै उनको मन र मस्तिष्क नियन्त्रणमा आएको थियो । त्यसपछि उनले फेरि २०१४ सालको वसन्त पञ्चमीका दिन कल्याणी पौडेलसँग बिहे गरे । कल्याणी पनि रेडियो नेपालकै जागिरे थिइन् । उनले पछिसम्म पनि रेडियो नेपालबाट समाचार भनिरहिन् । यी दम्पतिबाट अर्विन्दु, अरुण, उषा र नीता गरी चार सन्तान जन्मे ।

हरिप्रसाद रिमालले नेपाली साहित्य, कला, संस्कृतिको अभिवृद्धिका लागि धेरै पसिना बगाए । श्री ३ ले कदर गरेझैं श्री ५ हरूबाट पनि उनको खासै कदर भएन । उनको योगदानको कुनै कदरै भएन भन्दा पनि उनले एउटा इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कारचाहिँ पाएका थिए । तक्माका हकमा उनले खासै केही पाएनन् । पदकको हिसाब गर्ने हो भने उनले एउटा वीरेन्द्रऐश्वर्य सेवा पदकचाहिँ पाए । निजीक्षेत्रबाट बालकृष्ण सम फाउन्डेशनबाट सम शताब्दी सम्मान र भूपालमानसिंह कार्की पुरस्कारद्वारा उनी सम्मानित भएका थिए । साथै उनले सामाजिक र सांस्कृतिक सङ्घसंस्थाबाट धेरै अभिनन्दन पनि ग्रहण गरे ।

हरिप्रसाद रिमालले आफ्नो सम्पूर्ण जीवन सांस्कृतिक कार्यमा नै समर्पित गरे । त्यसैले सांस्कृतिक संस्थानको महाप्रबन्धक हुने पनि उनको प्रबल चाहना थियो । त्यसैले २०४७ सालमा गठित अन्तरिम मन्त्रिमण्डलका शिक्षमन्त्री डा.केशरजङ्ग रायमाझी समक्ष त्यस संस्थानको महाप्रबन्धक पदमा हरिप्रसाद रिमाल र उपमहाप्रबन्धकमा मदनदास श्रेष्ठको नाउँ नरेन्द्रराज प्रसाईबाट लिखित सिफारिस भएको थियो । तर त्यतिखेर डा.रायमाझीले प्रसाईलाई भनेका थिए— ‘गणेशमान सिंहका तर्फबाट रमेश ताम्रकारको नाउँ आइसकेको छ ।’ त्यस बेलासम्म पनि सांस्कृतिक संस्थानचाहिं शिक्षा मन्त्रालयल अन्तर्गत थियो । त्यसपछि पनि रिमालको शेष हुनुअघिसम्म पनि उनको यथोचित कदर गर्ने कुनै सरकार देखा परेन ।

हरिप्रसाद रिमाललाई प्रज्ञाप्रतिष्ठानमा बस्ने ठूलो चाहना थियो । तर प्रज्ञाप्रतिष्ठानहरू पनि दलका खुर र चाकरीदारले घेराउ गर्दै आए । अनि रिमाल जस्ता त्यागी सङ्गीतनाट्य शिरोभूषणलाई त्यतातिर टेक्नै दिइएन । ती ठाउँहरू पनि काम गर्ने कालु र मकै खाने भालुमा नै रुपान्तरित हुँदै आए ।

हरिप्रसाद रिमालले नेपालका विभिन्न भूभागका साथै भारत, चीन, दक्षिण कोरिया र अमेरिकाको भ्रमण गरेका थिए ।

हरिप्रसाद रिमालले निक्कै लामो शारीरिक पीडा खेपे । अन्ततः उनका रोगले उनलाई थाम्न दिएन । अनि उनी २०७५ साल भदौ १५ गते राजधानी काठमाडौंमा विते ।

राष्ट्रका तर्फबाट हरिप्रसाद रिमालको उचित कदर भए पनि र नभए पनि उनी नेपाली कलाका एउटा आदरणीय व्यक्तित्व थिए । उनले त्यस बेलादेखि नेपाली संस्कृतिका फाँटमा गरेको सेवा इतिहासका पानामा स्वर्णाङ्कित हुनेछ । साथै उनले गाएका गीतले त्यतिखेर जुन प्रकारको जागरण ल्याएको थियो त्यो जागरण सधैँसधैँ नेपालका हरेक गाउँमा तरङ्गित भएको पाइन्छ । किनभने उनले आफ्नो सुमधुर स्वरलहरीद्वारा नेपाली गीतस¨ीतलाई अमरता नै प्रदान गरेः

हातै काट्यो बरै जालिसे चुराले
माया फाट्यो बरै गाउँघरका कुराले ।
(स्वर: हरिप्रसाद रिमाल, सङ्कलन: प्रदीप रिमाल)

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद ! (चित्र: अमर चित्रकार)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.