ब्लग - साहित्य / हाम्रो लेख

एउटा युगका बौद्धिक नायक : मोतीराम भट्ट




   नरेन्द्रराज प्रसाई - Sep 09 2018

मोतीराम भट्टले नै भानुभक्तलाई भानुभक्तै भनेर चिनाए । तर भानुभक्तकी नातिनी विष्णुमाया लगायत त्यसपछिका प्रायः अाचार्यवंशीले माेतीरामलाई नै दबाउने, हाेच्याउने र खाेइराे खन्ने प्रयास गरिरहे ।



मोतीराम भट्ट नेपाली साहित्यका युग प्रवर्तक स्रष्टा हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका निर्माता, पथप्रदर्शक र मेरुदण्ड थिए । यिनै मोतीराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्– ‘‘मोतीराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसैबाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु, स्वदेशी बोल्नु. तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे ।’’ वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व. मान्थे । उनका लागि यो नेपाली माटो विश्वसाहित्य थियो । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्त धेरै योगदान पुर्याउने मोतीराम नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए । साँच्चै उनी नेपालका एउटा कर्मवीर सपूत थिए । उनको मिहिनेत, जाँगर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरिदिए– मोतीराम युग । संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै. मोतीराम भट्ट थिए ।

मोतीराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्गठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए । नेपाली वाङ्मयको उत्थानका लागि मोतीरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् ।

मोतीराम भट्ट भानुभक्त आचार्यपछि नेपाली साहित्याकाशमा आउने सशक्त व्यक्तित्व हुन् । यिनै महान् व्यक्तित्वले नेपाली भाषासाहित्यमा समालोचनाको श्रीगणेश गरे । भट्टले नै संवत् १९४८ मा ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’लाई नेपाली साहित्यको मन्दिरमा समर्पण गरेर पहिलो समालोचकमा आफ्नो नाउँ लेखाए । ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’मा मोतीराम भट्टले प्रभाववादी ढङ्गबाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसाको थाक पनि लगाएका छन् । उनले भानुभक्तको महिमा गाउन धेरै जुक्ति पनि ख्याए ।

जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले भानुभक्तलाई मर्यादा गरेर आफ्नो शीरपोश बनाए । वास्तवमा नेपाली साहित्यलाई रातारात उन्नतिको शिखरमा पुर्याउन मोतीराम भट्टले भानुभक्त आचायको यथेष्ट कदर गरेका थिए । उनले आफ्नो. चरित्र नायकलाई उठाउन भरमग्दुर गुणग्राहिता पनि दर्साएका थिए ।

मोतीराम भट्टले भानुभक्त आचार्यका विषयमा लेखेका प्रायः सबै बेहोरालाई नै नेपाली साहित्यको इतिहासले आधिकारिक रूपमा ग्रहण गरेको. छ । उनले भानुभक्तलाई सपनामा पनि जप्ने गर्थे र विपनामा पनि जप्ने गर्थे । मानौँ भानुभक्त आचार्य नै मोतीराम भट्टका ‘मणि’ थिए ।

मोतीराम ठाउँ हेरी सबैमा आवश्यकताबमोजिम केन्द्रित हुने गर्थे । त्यसताका साहित्यकारहरूलाई एउटै चौतारामा उभ्याएर सङ्गठन गर्न पनि उनी सिपालु थिए । प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, सङ्गठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै थिए । उनी कवि, गजलकार र गीतकार पनि थिए । साथै उनी मीठो स्वर भएका गायक पनि थिए । समस्यापूर्तिको धारामा अभ्यास गराउने खुबी पनि यिनैको थियो । त्यतिमात्र होइन उनी नाटककार तथा नाटक निर्देशक पनि थिए ।

नेपाली साहित्यका ऐतिहासिक महापुरुष मोतीराम भट्टको जन्म १९२३ साल कुशेऔँसीका दिन भदौ २५ गते, शनिबार काठमाडौँको भोसिको टोलमा भएको थियो । मोतीराम भट्टको वंशचाहिँ कुमाउगढबाट आएको थियो । मोतीराम भट्ट पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका थिए । भट्टदम्पतिका प्रथम पुत्रचाहिँ जन्मनासाथ दिवङ्गत भएका थिए । मोतीराम भट्टलाई दीर्घवीजी राख्न उनका मातापिताले यिनका नाकको. दाहिने पोरा छेडिदिएका थिए । नाक छेडेपछि यिनलाई उनका साथीहरूले केटी भनेर गिज्याउँथे ।

मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । ६ वर्ष भएपछि यी काशी पुगेका थिए । किनभने त्यसबेला यिनका पिता पं. दयाराम भट्ट र आमा रिपुमर्दिनीदेवी विशेष कामले काशी बसेका थिए । त्यसैले मोतीराम भट्टको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । त्यहाँ यी फारसी स्कूलमा भर्ना भए र त्यहीँ यिनले फारसी र उर्दू सिके । काशीमा यिनले भारतेन्दु हरिश्चन्द्रको सामीप्य पाएका थिए । भारतेन्दु सिर्जनामा पोख्त, होनहार र परिश्रमी थिए । यिनै हिन्दी साहित्यका साधक भारतेन्दुसँग गहकिलो सङ्गत गरेर नै मोतीरामले नेपाली साहित्यको सेवा गर्न सिके । यी पढाइमा पनि समर्पित भइरहे । हुँदाहुँदै. मोतीराम पछि फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अङ्ग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले अङ्ग्रेजी भाषासाहित्यको अध्ययन गरेका थिए । पढ्दा पढ्दै आठ वर्षका उमेरमा बनारसमा नै यिनको व्रतबन्ध गरियो ।

बनारस बसेका बेला मोतीराम भट्टले राम्राराम्रा गजल गाएका थिए । त्यसैबेला यिनले सितारवादन पनि जानेका थिए । मीठो स्वरलहरीले यिनी मधुर गीत गुनगुनाइरहन्थे । बनारसका प्रसिद्ध सितारवादक पन्नालालबाट यिनले सितार बजाउन र गीत गाउन सिकेका थिए ।

करिब आठ वर्ष बनारस बसेर यी १९३७ सालमा काठमाडौँ फर्किए । त्यसै साल यिनले १५ वर्षको उमेरमा बिहे गरे । विवाहपछि यी केही दिन काठमाडौँमा नै बसे । यहाँ बस्दा यिनी नेपाली भाषामा लेखिएका मीठामीठा गीत, कविता, भजन र गजल सुन्नबाट वञ्चित भए । बनारसमा बस्ता यिनले चार सयजति शायरीहरू लेखिसकेका थिए । तर त्यस बेलासम्म यिनले नेपालीमा गीत, कविता र गजल कोरेकै थिएनन् । नेपाल बसाइका बेला यिनले नरनारीका दोहरी र जुहारी गीत सुन्न पाए । वास्तवमा त्यस बेला सुनेका असारे र रसियाजस्ता गीतले यी मोहित पनि भए । त्यसपछि उनले यस्ता मीठा गीतहरूलाई हृदयमा रोप्न थाले, मस्तिष्कमा खेलाउन थाले र स्वरद्वारा प्रस्तुत गर्न थाले । काठमाडाैं बसाइकै बेला यिनी आफ्ना छिमेकी खड्गदत्त पाण्डेको बिहेमा जन्ती गए । त्यहाँ पनि भट्टले रातभरि श्लोकमा जुहारी खेलेको सुने अनि नेपाली भाषामा पनि यति मीठा कविता लेखिँदा रहेछन् भन्ने कुराको झन् सारो ज्ञान उनमा पलायो । ती सबै जुहारी सिलोकहरू भानुभक्तले लेखेका हुन् भन्ने चाल पाएपछि उनी एक्कासि भानुभक्त आचार्यका गुणगानमा लाग्न थाले । त्यसपछि उनी भानुभक्त आचार्यका कृतिहरू खोजीखोजी प्रकाशन गर्ने काममा जुट्न लागे ।

भानुभक्त आचार्यका कविताले मोतीराम भट्टलाई साँच्चैका मोतीराम बनाइदिए । यसपछि केही महिना काठमाडौँमा बसेर आफ्नी पत्नीसहित उनी संवत् १९३८ को पुसमा काशी गए । काशी पुगेर यिनले ‘भारतजीवन’ भन्ने हिन्दी पत्रिकाको नेपाली संस्करण गराए र यसको प्रकाशकीय र सम्पादकीय लेखे । त्यसैताका यी त्यहाँ ‘भारतजीवन छापाखाना’सँग सम्बन्धित पनि बने । त्यही छापाखानाबाट यिनले नेपाली भाषाका पुस्तकहरू भटाभट छापे । त्यसै बेला यिनले बनारसमा केही साथीहरूको सक्रियतामा एउटा ‘मित्रमण्डली’को गठन गरे । त्यहीँ यिनले समस्यापूर्तिका कवितालगायत अन्य फुटकर कविता र गजल लेखनको अभियान पनि चलाउन थाले । बनारसमा यस कार्यक्रममा उनलाई सघाउने व्यक्तिहरू पद्मविलास पन्त, काशीनाथ, रङ्गनाथ, तेजसिंह र तेजबहादुर राना थिए ।

काशीमा बसेकै बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड ‘रामायण’ र पछि ‘सम्पूर्ण रामायण’ पनि प्रकाशित गराए । त्यसैबेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए । त्यसैताका यिनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने अभियान चलाएका थिए ।

बनारसमा नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौँ आए । राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौँ आएका थिए । त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौँको ठहिटीमा ‘मोतीकृष्ण कम्पनी’ खोलेका हुन् । त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए ।

मोतीराम भट्टले नेपाली भाषासाहित्यलाई तीव्र गतिमा उन्नति गराउन कम्मरमा पटुका कसेका थिए । त्यसैले उनले काठमाडौँमा आफ्ना मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग मिलेर ‘मित्रमण्डली’ गठन गरे । त्यही मण्डलीबाट श्रृङ्गार रसमा समस्यापूर्ति कविताहरूको निर्माण र सम्प्रसार हुन थाल्यो । त्यस बेला यिनीहरू सबैलाई मोतीराम भट्टले समस्यापूर्ति कविताको शीर्षक दिन्थे । एकपटक यिनले ‘‘ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी’’ समस्या दिएका थिए । वास्तवमा त्यही शीर्षकबाट मोतीरामलगायत उपर्युक्त कविहरूले समस्यापूर्ति कविता रचना गरेका थिए ।

मोतीराम भट्टलाई समस्यापूर्ति कविताको सङ्ग्रह गरेर ‘समस्या शतक’ भन्ने ग्रन्थ निर्माण गर्ने धोको थियो । तर उनले निर्माण गर्न थालेको ‘समस्या शतक’ भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए; सङ्ग्रह भने निस्कन सकेन । समस्यापूर्ति कविताको अभ्यासमा भट्टलाई महत्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू थिए– राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज ।

मोतीराम भट्टले दरबार हाईस्कूलमा अध्ययन गरी १९४८ सालमा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९५० सालमा यी कलकत्तामा एफ.ए. (आई.ए.) परीक्षामा सम्मिलित भए । त्यस परीक्षामा उनी अनुत्तीर्ण भए । यसपछि केही खिन्न भावना बोकेर उनी १९५२ सालमा पुनः कलकत्ता गए । त्यसबखत उनी त्यहीँ थला परे । केही समयपछि उनी अशक्त शरीर लिएर काठमाडौँ आए । उनी सात महिना ओछ्यानमै थला परे । कुशे औँसीका दिन अथवा जन्मेकाे तीस वर्ष सकिएकै दिन १९५३ सालमा काठमाडौँ पशुपति आर्यघाटमा उनी स्वर्गीय भए ।

पं.दयाराम भट्ट र रिपुमर्दिनीदेवीका सन्तानका रूपमा माेतीराम र उनकी बहिनी मात्र जीवित थिए । आफ्नो छोरो मोतीराम आर्यघाटमा मरणासन्न अवस्थामा पुगेको क्षणले रिपुमर्दिनीदेवीलाई त्यस घडी अत्यन्तै विह्वल बनाएको थियो । उनी त्यसबेला सुकसुकाउँदै आफ्नी विधवा छोरीका साथमा आफ्नो छोराका अन्तिम क्षणहरू गनेर बसिरहेकी थिइन् अनि त्यसैबेला मोतीराम भट्टले आफ्नी आमा र बहिनीसमक्ष भनेको कुरा पं. नरदेव पाण्डेले लेखेका छन्– ‘‘अब मेरो बाह्र घण्टादेखि बर्ता यस कलेवरमा वास छैन । हजुरले पैदा गरिबक्सिएको यस शरीरबाट केही पुरुषार्थ गरी हजूरलाई देखाउँला भन्ने इच्छा थियो, सो मनको लड्डु मनैमा मात्र रह्यो । मेरा सन्तान भएनन् भन्ने हजूरलाई. ठूलो अपशोच थियो । यसमा पनि ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लादभक्ति’ आदि मदेखि पैदा भएका जति ग्रन्थ छन्, तिनै मेरा अमर सन्तान हुन् भनी सम्झिबक्सेला ।’’

मोतीराम भट्ट स्वर्गीय हुँदा उनका बुबा दयाराम भट्ट बनारसमा नै थिए । त्यस बेला रिपुमर्दिनी भट्टका मनमा अब आफ्नो भट्टकुलमा कसैको पनि पुत्र र सन्तान नहुनाले वंशोच्छेद नै हुन लाग्यो भन्ने भावना पैदा भयो । परिणामस्वरूप उनले नै आफ्ना पति दयाराम भट्टलाई आफ्नो पुत्र गुमेको २ वर्षपछि अर्थात् संवत् १९५५ मा काशीबाट काठमाडौँ झिकाइन् । त्यसै वर्ष ५५ वर्षीय रिपुमर्दिनीले आफै बन्दोबस्त गरी ५७ वर्षीय दयाराम भट्टको विवाह गरिदिइन् ।

भरखरकी कलकलाउँदी कन्या दयाकुमारीसँग दयाराम भट्टको बिहे भयाे । त्यसपछि भट्ट छोरा पाउने सपनामा नै केन्द्रित हुन थाले । बिहे गरेपछि दयाराम भट्ट आफ्नी कान्छी श्रीमतीसहित काशी नै पुगे । यी दम्पतिले संवत् १९५९ को मार्गकृष्ण सप्तमीमा छोरा जन्माए, जसको नाउँ राखियो– रामेश्वर भट्ट । छोरो जन्मेको ६ महिनापछि दयाराम भट्ट स्वर्गीय भए । दयाकुमारी भट्ट र रामेश्वर भट्ट रिपुमर्दिनीको सुयोग्य, ममतामय र करुणामय संरक्षणमा रहे । केही समयपछि दयाकुमारी भट्ट पनि स्वर्गीय भइन् । त्यसपछि रिपुमर्दिनी भट्टका साथमा एउटी छोरी र एउटा छोरा मात्र रहे ।

मोतीराम भट्ट श्रृङ्गारवादी साहित्यकार थिए । उनीसँगै जो पनि भुतुक्कै हुन्थे । अति मिलनसार भएकाले उनीसँग धेरैले घनिष्ठता जोडेका थिए अनि यी केटीहरू भनेपछि मरिमेट्थे । यिनले थुप्रैसँग प्रीति गाँसे । यिनमा केटीहरूसँगको घनिष्ठता औधी थियो । वास्तवमा मोतीराम भट्टले लेखेका अधिकांश गजलहरू पनि श्रृङ्गाररसले भरिएका नै हुन्छन् । यिनले सुन्दरीसँग बोल्न पाए भने मीठामीठा कविता लेख्न थालिहाल्थे । यिनका श्रृङ्गाररसका धेरै कविताहरू केटीहरूसँगकै भेटघाटका अवसरमा तयार भएका मानिन्छन्ः
 यि सानै उमेर्देखि मन् हर्न लागे
 यिनै सुन्दरीले जुलुम् गर्न लागे ।

मोतीराम भट्टले सक्रियतापूर्वक जम्मा पन्ध्र वर्षजति नेपाली साहित्यको सेवा गरे । त्यस अवधिमा उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेखे, सम्पादन गरे । यिनले अरू लेखकका कृति पनि प्रकाशित गराए ।

मोतीराम भट्टले युवाअवस्थामा आफ्नो सारा भावना, जाँगर र सक्रियता अर्पेर नेपाली साहित्यको विकासमा अतुलनीय, अविस्मरणीय र अकल्पनीय सृजनात्मक र सङ्गठनात्मक साहित्यिक कार्यहरू गरेका थिए । उनले गरेका समस्त कार्यहरूको मूल्याङ्न गर्दा उनको व्यक्तित्वलाई निम्नलिखित पाँचवटा पाटामा वर्गीकरण गर्न सकिन्छः (१) जीवनीकार, समालोचक तथा अन्वेषक (२) कवि, गजलकार तथा गायक, (३) सङ्गठनकर्ता, (४) नाटककार तथा निर्देशक, (५) सम्पादक, छापाखाना र पत्रिकाका प्रबन्धक तथा पुस्तकालयका निर्माता ।

(१) जीवनीकार, समालोचक तथा अन्वेषकः
नेपाली साहित्यजगत्मा पहिलो जीवनी लेखक मोतीराम भट्ट हुन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए ।

नेपाली साहित्यका प्रथम समालोचक नै मोतीराम भट्ट थिए । यिनले सर्वप्रथम भानुभक्तका रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचना विधाको आरम्भ गरेका थिए । ‘भानुभक्तको जीवनचरित्र’मा खालि भानुभक्त आचार्यको जीवनीमात्र प्रस्तुत नगरी उनका कवित्वशक्तिको समालोचना पनि गरेका छन् । त्यसै कृतिमा मोतीरामले भानुभक्तलाई आदरस्वरूप ‘आदिकवि’को उपाधि प्रदान गरे । अनि यसबारे मोतीराम भट्टले लेखे– ‘‘गोर्खा भाषामा हुन त धेरै नामी कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषापद्य लेखने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।’’

मोतीराम भट्ट नेपाली साहित्यका प्रथम अन्वेषक पनि हुन् । उनले नै भानुभक्तको ‘बालकाण्ड रामायण’ फेला पारे । १७ वर्षको उमेर पार गरिसकेपछि उनी प्रायः भानुभक्तीय निष्ठामा एकोहोरो भएर लागे । त्यसै बेलादेखि उनले भानुभक्तसम्बन्धी जीवनी लेखे, पाण्डुलिपि खोजे । मोतीरामले नै भानुभक्तका ‘वधूशिक्षा’, ‘भक्तमाला’, ‘प्रश्नोत्तर’ र ‘रामगीता’लाई प्रकाशनमा ल्याए । यिनले भानुभक्तको अत्यन्तै गहिरिएर खोजीनीती गरे । भानुभक्तका अतिरिक्त यिनले बिहारीलाल, छविलाल, पतञ्जलि आदि व्यक्तिहरू पनि कवि भएको सूचना जनसमक्ष पुर्याए ।

मोतीराम भट्टले नै भानुभक्तलाई भानुभक्तै भनेर चिनाए । तर भानुभक्तकी नातिनी विष्णुमाया लगायत त्यसपछिका प्रायः अाचार्यवंशीले माेतीरामलाई नै दबाउने, हाेच्याउने, खाेइराे खन्ने प्रयास गरिरहे ।

मोतीराम साहित्य सृजनामा आफ्ना दौँतरीहरूलाई अगि सारिरहन्थे । आफ्ना पूर्वज, समकालीन र पछाडिका मान्छेको उनी खुबै प्रशंसा गर्थे । यिनले भानुभक्तलाई कहीँ आदिकवि भनेका छन्, कहीँ कविकुलमुकुट भनेका छन् भने कहीँ चाहिँ चक्रचूडामणि पनि भनेका छन् । त्यसै गरी यिनले राजीवलोचन जोशीलाई कविशिरोमणि र पद्मविलास पन्तलाई कवि भनेर सम्बोधन गरेका छन् । मोतीराम भट्टले आफूले मनले खाएको व्यक्तिको प्रशंसा गरेर कविता पनि लेखिदिन्थे । उनले भानुभक्त, राजीवलोचन र पद्मविलासको काव्यात्मक महिमा निकै राम्ररी गाए ।

(२) कवि, गजलकार तथा गायकः
मोतीराम भट्टले श्रृङ्गार, भक्ति तथा राष्ट्रियताका विषयमा थुप्रै कविताहरू लेखे । श्रृङ्गारिक कविताका चाहिँ यिनी पथ निर्माता नै बने । ‘श्लोक–सङ्ग्रह’ र ‘मनोद्वेगप्रवाह’ मा मोतीराम भट्टका थुप्रै श्रृङ्गारिक कविता रहेका छन् । ‘पिकदूत’ भट्टको श्रृङ्गार रसको नै काव्य हो ।

मोतीराम भट्टले नै नेपाली भाषामा गजलको आविष्कार गरे । यिनले. नेपालीमा थुप्रै गजल लेखेर गजललाई लोकप्रिय बनाए । त्यस बेला यिनको गजल लेखनबाट लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे पनि आकर्षित भए र उनीहरूले पनि गजल लेख्न थाले । भट्टकै प्रेरणाबाट शम्भुप्रसाद ढुङ्ग्याल, भीमनिधि तिवारी र म.वी.वि. शाहले पनि नेपाली काव्यविधामा गजललाई महत्वपूर्ण किसिमले प्राथमिकता दिए ।

भट्ट गजलकार मात्र नभएर गायक पनि थिए । त्यसबेला दरबारमा उर्दूका गीतगजल गाएको देखेर यिनले नेपाली गजलगीत लेखे र गाएर पनि प्रस्तुत गर्न थाले । दरबारमा पनि क्रमशः मोतीराम भट्टले लेखेका गजल चल्न थालेः
 यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
 उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।

(३) समस्यापूर्तिकार तथा सङ्गठनकर्ताः
समस्यापूर्ति कविता लेख्ने जाँगर चलेपछि अरूलाई पनि यस विषयमा केन्द्रित गर्न मोतीराम भट्टले काठमाडौँ तथा बनारस दुवै ठाउँमा ‘कविमण्डली’को स्थापना गरे । संस्कृत वाङ्मयको पुरानो चलनलाई नेपाली भाषामा कायम गराउन उनी खुबै जुटे र ‘समस्यापूर्ति’ कविता सर्वप्रथम भट्टले नै आफै लेखे । बनारसमा बसेका बेला यिनले आफ्ना हितैषी साथीहरू तेजबहादुर, काशीनाथ, रङ्गनाथ, चेत सिंह र पद्मविलासलाई पनि समस्यापूर्तिका कविता लेख्न निपुण बनाए । यिनले काठमाडौँमा राजीवलोचन जोशी, भोजराज पाण्डे, डोलेश्वर, लक्ष्मीदत्त पन्त, नरदेव पाण्डे, कालीप्रसाद, देवराज र गोपीनाथ लोहनी आदिलाई पनि सङ्गठनात्मक रूपमा ‘समस्यापूर्ति’ कविता लेख्न उत्प्रेरित गरेपछि यिनीहरू पनि क्रमशः क्रमशः ‘समस्यापूर्ति’ कविता लेख्न निपुण भएका थिए ।

(४) नाटककार तथा निर्देशकः
मोतीराम भट्टले नेपाली भाषामा ‘शकुन्तला’, ‘प्रियदर्शिका’ र ‘पद्मावती’ गरी तीनवटा नाटक लेखेका थिए । हुन त यिनले उर्दूमा पनि नाटक लेखेका थिए । उनी नाटक लेखनमा जति कुशल थिए निर्देशनकलामा पनि त्यति नै पोख्त थिए ।

(५) सम्पादक, प्रेस, पत्रिका प्रबन्धक र पुस्तकालयका निर्माताः
मोतीराम भट्टले प्रायः भानुभक्त आचार्यका कृतिहरूको मात्र सम्पादन गरेको पाइन्छ । भानुभक्तको ‘बालकाण्ड रामायण’ यिनैको सक्रियता, सौजन्य र सम्पादनमा प्रकाशित भएको थियो । ‘भानुभक्तकृत भाषा रामायण’को यिनैले सम्पादन गरेका थिए । त्यसै गरी मोतीरामले भानुभक्तका ‘भक्तमाला’, ‘रामगीता’, ‘प्रश्नोत्तरा’ र ‘वधूशिक्षा’को पनि सम्पादन गरेका थिए ।

मोतीरामले नै पहिलो नेपाली मासिक पत्रिकाको प्रकाशनको प्रबन्ध गरे । यिनले निकालेको पत्रिकाको नाउँ थियो– ‘गोरखा भारतजीवन’ । यो पत्रिका बनारसबाट प्रकाशित भएको थियो ।

मोतीरामले बनारसका आफ्ना हितैषी मित्र रामकृष्ण बर्माको सहयोग लिएर ‘भारतजीवन’ नामक छापाखाना स्थापना गराए । त्यस छापाखानालाई आफ्ना जिम्मा लिई यिनी आफै त्यसको प्रबन्धकका रूपमा बसे । मोतीराम भट्टले त्यही छापाखानाबाट भानुभक्तका कृतिहरू पनि छपाए । भट्टले यस छापाखानाबाट यसका मालिक रामकृष्ण बर्मालाई पनि निक्कै आर्थिक लाभ पुर्याएका थिए ।

मोतीरामले नेपालमा आफ्ना मामा कृष्णदेव पाण्डे र आफ्ना अभिन्न मित्र धीरेन्द्रसँग मिली ठहिटीमा ‘पाशुपत छापाखाना’को स्थापना गरे । १९५० सालमा खोलिएको यो छापाखाना त्यति बेलाको नेपालको प्रसिद्ध छापाखाना मानियाे । पाशुपत छापाखानाको स्थापनापश्चात् त्यहाँबाट नेपाली भाषासाहित्यका विभिन्न पुस्तक पत्रिकाहरू छापिन थाले ।
आफ्ना मामा कृष्णदेव पाण्डेसँग मिलेर आफ्नो नाउँसमेत जोडी काठमाडौँको ठहिटीमा यिनले एउटा पुस्तकालयको स्थापना गरे– ‘मोतीकृष्ण कम्पनी’ । यिनले त्यस पुस्तकालयमा नेपाली भाषाका यथेष्ट पुस्तकहरू जोड्न थाले । मोतीकृष्ण कम्पनीबाट पुस्तकहरू बेच्ने कार्य पनि हुन्थ्यो । उनले पहिलो पुस्तकालयको निर्माण गरेर पनि नेपाली भाषासाहित्यको सेवा गरे ।

मोतीराम भट्ट नेपाली साहित्यका एउटा अलौकिक व्यक्तित्व थिए । उनी नेपाली भाषासाहित्यको सृजना, सङ्गठनका प्रेरक र आधिकारिक पुरुष थिए । पढ्दै, पुस्तक लेख्तै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै, अरूलाई लेख्न प्रेरणा दिँदै यिनले नेपाली धर्तीलाई बिर्सिनसक्नुको गुन लगाए । नेपालका लागि मरिमेट्ने उनी ठूला सपूत थिए । आफ्नो जीवनको अथक मिहिनेत, बौद्धिक कसरत र हिम्मतका कारणले यिनी नेपाली माटोमा चिरस्मरणीय बने ।

आफ्नो बहुमुखी योगदानका कारणले मोतीराम भट्ट नेपालका राष्ट्रिय विभूति बने । यिनका नाउँमा कैयौँ सङ्घसंस्था तथा बाटाघाटाहरू निर्माण भए । यिनका नाउँमा हुलाक टिकट निकालियाे। यिनैका नाउँमा ‘युवावर्ष मोती पुरस्कार’ समेत स्थापना भयाे जुन पुरस्कार नेपाली साहित्यका युवा पिँढीको सर्वोच्च पुरस्कारका रूपमा रहेको छ ।

बहुमुखी प्रतिभाका धनी मोतीराम भट्ट राष्ट्रभाषा नेपालीका पहिलो. उत्थापक थिए । मोतीरामको सृजना, गोडमेल र जलमलका कारणले नेपाली भाषा आजको स्थितिसम्म आइपुगेको हो । मोतीरामको यो मुलुकप्रति अत्यन्तै ठूलो. सद्भावना थियो । उनी कट्टर नेपालवादी थिएः
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो ।

*
 मोतीराम भट्टका कृतिः
(१) मनोद्वेगप्रवाह (कवितासङ्ग्रहः १९४२ तिर), (२) प्रह्लाद भक्तिकथा (काव्यः १९४३ तिर), (३) गजेन्द्रमोक्ष (काव्यः १९४४ तिर), (४) पञ्चकप्रपञ्च (काव्यः १९४४), (५) शकुनौती (शकुनविचारः १९४४ तिर), (६) स्वप्नाध्याय (स्वप्नविचारः १९४४ तिर), (७) गफाष्टक (केही अष्टकः १९४४ तिर), (८) शकुन्तला (नाटकः १९४४ तिर), (९) सङ्गीत चन्द्रोदय (केही गजलः १९४४ तिर), (१०) उषाचरित्र (काव्यः १९४४ तिर), (११) अनुप्रासमञ्जरी (१९४४ तिर), (१२) चाणक्यनीति (१९४५ तिर), (१३) पद्मावती (नाटक अपूर्णः १९४५ तिर), (१४) पिकदूत (काव्यः १९४५ तिर), (१५) काशीराज चन्द्रसेन (१९४५ तिर), (१६) गुलसनोवर (आख्यानः १९४६ तिर), (१७) उखानको बखान, (१८) कालभ्रमरसंवाद (काव्य), (१९) हुस्न अफरोज आराम दिल (उर्दू नाटक), (२०) बालाजीवर्णन (वर्णनात्मक कविता), (२१) भानुभक्तको जीवनचरित्र (जीवनी तथा समालोचनाः १९४८), (२२) प्रियदर्शिका (नाटकः १९४९ तिर), (२३) तीजको कथा, (२४) केही फुटकर वार्णिक छन्दका कविता र गजलहरू । यिनले सम्पादन गरेका कृतिहरू यी हुन्– ‘रामायण बालकाण्ड’ (वि.सं. १९४१) र ‘सम्पूर्ण रामायण’ (वि.सं. १९४४) ।

---
लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

हाम्रो पात्रोमा राखिएका ‘नइ प्रकाशनʼका सामाग्रीहरू कपीराइट © अन्तर्गत राखिएका छन् । तसर्थ स्रष्टाको अनुमतिविना कहिंकतै प्रयोग गर्न पाइनेछैन । धन्यवाद ! (चित्रकारः इन्द्र खत्री)



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.41
  • 118.01
  • European euro
  • 134.55
  • 135.24
  • UK pound sterling
  • 152.39
  • 153.17
  • Swiss franc
  • 117.91
  • 118.51
  • Australian dollar
  • 83
  • 83.42
  • Canadian dollar
  • 89.57
  • 90.02
  • Singapore dollar
  • 85.13
  • 85.56
  • Japanese yen (10)
  • 10.45
  • 10.51
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.01
  • Saudi Arabian riyal
  • 31.29
  • 31.45
  • Qatari riyal
  • 32.25
  • 32.41
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.96
  • 32.13
  • Malaysian ringgit
  • 28.2
  • 28.34
  • Korean Won (100)
  • 10.33
  • 10.38
  • Swedish Krone
  • 13.01
  • 13.07
  • Danish Krone
  • 18.04
  • 18.13

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम