के व्यापारमा प्रतिस्पर्धा गर्न आवश्यक छ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

के व्यापारमा प्रतिस्पर्धा गर्न आवश्यक छ?




   Bishwa Raj Adhikari - Apr 30 2018

यो एकाइसौं शप्ताब्दीमा, उद्योग वा बजारमा तीव्र प्रतिस्पर्धा गरेर आफ्नो प्रतिस्तपर्धीहरूलाई पछाडि छाडी वा उनीहरूमाथि विजय प्राप्त गरी व्यापारमा सफल हुन सकिंदैन। र यस्तो गर्नु प्राचीन पद्धति हो।

व्यापारमा सफल हुनका लागि व्यवसायीहरूले कुनै उद्योग वा बजारमा प्रतिस्पर्धीहरूसँग कडा मुकाबिला गर्नु वर्तमान व्यापारिक वातावरणमा परम्परागत पद्धति मानिन्छ। आफ्नो व्यवसायलाई दीर्घ जीवन प्रदान गर्न तथा व्यापारमा सफल हुनका लागि मौजुदा उद्योग वा बजारमा प्रतिस्पर्धा गर्ने नभई व्यवसायीले प्रतिस्पर्धीहरू नै नभएको नयाँ उद्योग वा बजार सृजना गर्नुपर्दछ। अर्थात् नयाँ मागको सृजना गर्नुपर्दछ। उपभोक्ताहरूलाई नितान्त नयाँ किसिमको वस्तु वा सेवा उपलब्ध गराउनुपर्छ। मार्क जुकरबर्गले नयाँ सेवा (फेसबूक) उपलब्ध गराएजस्तो।

यसरी सृजना गरिने नयाँ बजारमा मौजुदा ग्राहकहरू अन्य बिक्रेताको वस्तु खरिद गर्न छाडेर आउने नभई नयाँ मागसहित बजारमा आउँछन्। ती ग्राहक नौला हुन्छन्, उनीहरूको माग नौलो हुन्छ। उदाहरणका लागि कुनै व्यवसायीले यदि आफ्नो ग्राहकलाई घोडामा चढाएर घडिअर्वा पोखरी घुमाउँछ र त्यस किसिमको मनोरञ्जन प्रदान गरेबापत तोकिएको मूल्य लिन्छ भने त्यो व्यवसायीले नयाँ सेवाको नयाँ मागसहित नयाँ बजार सृजना गरेको मानिन्छ। उसले त्यस्तो नयाँ मनोरञ्जनात्मक सेवा प्रदान गरेर नयाँ उद्योग स्थापना गरेको मानिन्छ। ब्लु ओसन स्ट्राटेजी (Blue Ocean Strategy) ले माथि उल्लेख गरिएझैं नितान्त नयाँ व्यवसाय खोजेर प्रतिस्पर्धालाई असान्दर्भिक (Irrelevant) बनाउने कुरामा जोड दिन्छ।

ब्लु ओसन स्ट्राटेजी एउटा व्यापारिक रणनीतिक पुस्तक हो र यो पुस्तक सन् २००५ मा प्रकाशित भएको थियो। यस पुस्तकका लेखक डब्लु चान किम (W. Chan Kim) र रेन मोबोर्गन (Renee Mauborgne) हुन्। यस पुस्तकले एउटा सङ्गठनले मौजुदा बजारका प्रतिस्पर्धीहरूसँग तीव्र प्रतिस्पर्धा गरेर उच्च विकास र मुनाफा गर्ने नभई प्रतिस्पर्धा नभएको बजारमा नयाँ माग सृजना गरेर उच्च विकास र मुनाफा प्राप्त गर्न सक्छ भन्ने लेखकद्वयको विश्वासलाई प्रस्ट्याउँछ।

मौजुदा बजारमा रहेर वा परम्परागत रूपमा अरू उत्पादकहरूले उत्पादन गरेको वस्तु वा सेवा नै उत्पादन गरेर मौजुदा ग्राहकहरूलाई आफ्नो वस्तु वा सेवातिर आकर्षित गर्नका लागि तीव्र प्रतिस्पर्धा गर्नुको साटो नयाँ उपयोगितासहितको नयाँ वस्तु कम लागतमा उत्पादन गरेर व्यवसायीले बजारमा आफ्नो वर्चस्व कायम गर्नुपर्छ भन्ने कुरामा यो रणनीतिले जोड दिन्छ।

यो व्यावसायिक रणनीति अँगालेर व्यापारीहरूले उपयोगिताको खोजी (Value Innovation) गर्नुपर्दछ र पत्ता लगाइएको नयाँ उपयोगिता उपभोक्ताहरूको आवश्यकतासँग बलियो गरी मेल खानुपर्दछ भन्ने कुरामा जोड दिन्छ। यहाँ नयाँ उपयोगिता सृजना गर्नु भनेको नया वस्तु वा सेवा उत्पादन गर्नु वा विद्यमान वस्तु वा सेवामा नयाँ किसिमको विषेशताहरू समावेस गर्नु हो। ब्लु ओसन स्ट्राटेजीले बजारमा सफल हुनका लागि दुई किसिमको व्यावसायिक रणनीति (१) प्रतिस्पर्धीहरूभन्दा कम लागतमा वस्तु वा सेवा उत्पादन एवं बिक्री तथा (२) खास वा सानो (Niche) बजारमा व्यावसायिक क्रियाकलाप केन्द्रित गर्नुपर्ने माइकल पोर्टरको बिचारसँग असहमति राख्दछ। ब्लु ओसन स्ट्राटेजीले मूलरूपमा नयाँ बजारको सृजना वा नयाँ मागसहितको नयाँ ग्राहकको खोजी गर्नुपर्ने कुरालाई महत्वपूर्ण मान्दछ। सफल हुनका लागि तीव्र प्रतिस्पर्धा गर्नुपर्छ भन्ने विचारलाई मान्दैन।

ब्लु ओसन स्ट्राटेजीले के मान्दछ भने व्यापारिक जगतमा रेड ओसन (Red Ocean) को स्थिति हुन्छ। रेड ओसन त्यो व्यापारिक अवस्था वा वातावरण हो, जसमा मौजुदा उद्योगहरूको उपस्थिति हुन्छ। बजार क्षेत्र ज्ञात हुन्छ। उद्योगको सीमा क्षेत्र परिभाषित तथा स्वीकृत गरिएको हुन्छ। व्यापारिक खेलका प्रतिस्पर्धात्मक नियमहरू पनि ज्ञात हुन्छ। तोकिएको ग्राहकहरूलाई आफ्नो वस्तु वा सेवा बिक्री गर्न बिक्रेताहरूबीच तीव्र प्रतिस्पर्धा हुन्छ। बजारमा प्रतिस्पर्धीहरूको उपस्थिति बढदै जाँदा प्रतिस्पर्धा अति नै तीव्र हुँदै जान्छ र फलस्वरूप एउटा बिक्रेताले आफ्नो बजार अंश मात्र गुमाउँदैन, उसको भविष्य पनि अनिश्चित हुने अवस्था उत्पन्न हुन जान्छ। वा बजारबाट बाहिरिनुपर्ने अवस्था सिर्जना हुन्छ।

रेड ओसनको विपरित ब्लु ओसन स्ट्राटेजीमा बजारमा विद्यमान प्रतिस्पर्धालाई असान्दर्भिक तुल्याउन सकिन्छ भनी बलियो विश्वास र अभ्यास गरिन्छ। नयाँ–नयाँ उद्योगहरूको स्थापना गरेर मौजुदा प्रतिस्पर्धापूर्ण व्यापारिक वातारणलाई प्रतिस्पर्धाहीन बनाउन सकिन्छ। नयाँनयाँ मागसहितको नयाँ बजार सृजना गर्न सकिन्छ। तीव्र प्रतिस्पर्धा गरेर मौजुदा ग्राहकमध्येबाट ठूलो सङ्ख्यामा ग्राहकहरूलाई आफ्नो वस्तु वा सेवातिर ल्याउनुको साटो नयाँ उपयोगितासहितको नयाँ वस्तु वा सेवा लिएर नयाँनयाँ ग्राहक समक्ष पुग्न सकिन्छ र मुनाफा बढाउन सकिन्छ। प्रतिस्पर्धा नभएको बजारबाट प्रचुर आनन्द लिन सकिन्छ र लाभ पनि उत्तिकै प्राप्त हुन्छ, जसरी अहिले उबरले लिरहेको छ। उबर भनेको एउटा यातायात सुविधा दिने व्यवसाय हो।

ल्याप टप, इबे, माइक्रो सफ्ट, आइप्याड, गुगल सर्च इन्जिन, फेसबूक, युट्युब, नेट फ्लिक्स, स्काइप, जिपिएस आदिलाई ब्लु ओसन स्ट्राटेजीसँग जोड्न सकिन्छ। उदाहरणका लागि फेसबूक होस् वा स्काइप नयाँ किसिमको व्यापारसहित नयाँनयाँ ग्राहकहरूको खोजीको सन्दर्भमा आएका वस्तु वा सेवाहरू हुन्। फेसबूकको आफ्नै तोकिएका ग्राहक छन्। ती तोकिएका ग्राहकहरूलाई आफ्नै किसिमले फेसबूकले सेवा प्रदान गरिरहेको छ। फेसबूकले जुन सफलता पाएको छ, त्यो उसले खोजी गरेको नयाँ बजार वा नयाँ ग्राहकहरूको परिणामस्वरूप हो।

वर्तमान व्यावसायिक जगत्मा व्यापार पूँजीद्वारा होइन, ज्ञानद्वारा गर्नुपर्ने अवस्था सृजना भएको छ। नितान्त नयाँ व्यापारिक अवसरहरूको सृजना गरेर, बजारमा मौजुद रहेको प्रतिस्पर्धालाई असान्दर्भिक तुल्याएर वा कम पारेर बढी मुनाफा प्राप्त गर्न वा व्यापारिक सफलता प्राप्त गर्न सकिन्छ। अध्ययन एवं अनुसन्धानद्वारा नयाँनयाँ वस्तु एवं सेवाहरू पत्ता लगाउने मात्र होइन, पत्ता लगाइएका ती वस्तु वा सेवा बजारमा रहेका ग्राहकहरूका लागि आवश्यक रहेको तथा उनीहरू त्यो वस्तु खरिद गर्न तत्पर रहेको स्थिति निर्माण गर्न सकिन्छ। आफ्नो नयाँ वस्तु खरिद गर्न ग्राहक बाध्य हुने स्थिति तयार पार्न सकिन्छ।

विकसित तथा धनी देशहरूमा र खासगरी संयुक्त राज्य अमेरिकामा नयाँ नयाँ किसिमका वस्तु एवं सेवाको खोजी एवं उत्पादनलाई बजार व्यवस्थापनको अति नै महत्वपूर्ण तथा नियमित कार्य मान्ने गरिन्छ। बजारमा नयाँनयाँ उपयोगितासहितको नयाँनयाँ वस्तुहरू देखा परिरहेका हुन्छन्। ग्राहकहरूको गतिशील आवश्यकतालाई उनीहरू सन्तुष्ट हुने किसिमबाट परिपूर्ति गर्न बजारमा नयाँनयाँ किसिमका उपयोगितासहितका वस्तुहरू आउन आवश्यक हुन्छ पनि। व्यापारीहरूले पनि आफ्नो व्यवसायलाई दीर्घ जीवन दिन तथा मुनाफालाई अधिक पार्दै त्यसलाई नियमित तुल्याउन नयाँ नयाँ वस्तु एवं सेवाहरू बजारमा ल्याउन आवश्यक छ। पुराना वा भएकै वस्तुको उत्पादन वा बिक्रीमा केन्द्रित रहनु उपयुक्त होइन।

नेपालमा पनि व्यावसायिक सफलता हासिल गर्न उद्यमी वा व्यापारीहरूले नयाँ नयाँ किसिमका व्यापारिक अवसरहरूको खोजी गर्दै नयाँनयाँ किसिमका वस्तु एवं सेवा बजारमा ल्याउन आवश्यक छ। यस्तो गर्न सके देशमा व्यापारको विकास हुनुका साथै नयाँनयाँ रोजगारका अवसर सृजना हुने थियो। देशमा रोजगारको क्षेत्र विस्तार भएर कामका लागि विदेशिनुपर्ने बाध्यतामा कमी आउने थियो। नेपालमा नयाँनयाँ किसिमका व्यापारहरूको सृजना गर्न आवश्यक छ।
नेपालमा परम्परागतरूपमा गरिने विभिन्न किसिमका व्यापारहरूमा सुधार गरेर तीनलाई बढी मुनाफा एवं रोजगार दिने किसिमको तुल्याउन आवश्यक छ। त्यसैगरी व्यापारीहरूले प्रतिस्पर्धाबाट डराएर बजार छाडेर भाग्नुभन्दा त्यो प्रतिस्पर्धालाई असान्दर्भिक तुल्याएर वा आफ्नो वस्तुको बजारलाई प्रतिस्पर्धा नभएको बजार बनाउनुपर्दछ। छोटकरीमा ‘ब्लु ओसन स्ट्राटेजी’ अनुकरण गरेर नितान्त नयाँ बजार सृजना गर्न वा नयाँ किसिमको वस्तु वा सेवा आविष्कार गर्न आवश्यक छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.