आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छः दर्शन रौनियार | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छः दर्शन रौनियार




   Suyog Dhakal - Jun 12 2017

नेपालमा गएको २५० वर्षदेखि राजनैतिक स्थिरता आएन । दुरदृष्टि भएका नेतृत्वको अभाव छ, राजनितीमा आएका नेतृत्व हरु मेहनत गर्न नजान्ने, शिक्षा र स्वास्थमा जोड दिन नसक्ने प्रवृतिका भएर पनि मान्छेहरुमा राजनिती प्रती उदासिनता भएको हो ।


दर्शन रौनियारसँग कुराकानी

बैकल्पिक दर्शन 

कुनै विशेष सिद्धान्त या विचारबाट प्रभावित भएर अनि त्यही धारलाई पछ्याँउदै राजनैतिक पार्टीहरु गठन र विकास हुन्छन् , हामीसबैलाई थाहा भएकै कुरा हो । 

यही विचार र सिद्धान्तका आधारमा संगठन विस्तार, कार्यशैली अनि कार्यकर्ताहरुलाई प्रशिक्षण गरिन्छ र विस्तारै विस्तारै पार्टीले स्वरुप लिन थाल्दछ । यस आधारमा हरेक राजनैतिक पार्टीहरु फरक-फरक हुन्छन्, उनिहरुको एजेण्डा, प्रस्तावना अनि योजनाहरु फरक-फरक हुन्छन् । विगतका चुनावहरु, भर्खरै सक्किएको तथा ढोकैमा अाएर उभीएको दोश्रो चरणको स्थानीय निकायको चुनावमा पनि हामीमध्ये धेरैले यिनै प्रस्तावना, विचार, कार्यशैली र नेतृत्व गर्ने अनुहारका आधारमा प्रतिनिधी चयन गरेका हौं र गर्दैछौं, हैन र ?

यो पनि हेर्नुहोस् : मध्यपूर्वमा नेपाली कामदारहरूको भविष्य

विभिन्न चरणमा जनताबाट म्यान्डेड पाएका राजनैतिक शक्तिहरुले नै पनि गर्न सकेका, चाहेका अनि चाहेर पनि नगरेका कुराहरुको फेरिहिस्त पनि त लामै छ । भ्रष्टाचार, सत्तामोह, अनियमितता अनि विभिन्न कुरामा पार्टी विशेषको असंलग्नता, संलग्नता अनि जिम्मेवारीवोध हामीले राम्ररी बुझेका छौं, देखेका छौं अनि भोगेका पनि छौं ।

एक मिटर भन्दा पनि लामो मतपत्रमा बेग्रल्ती चुनावी छापको भीड अनि अनुहार सम्झिदै स्वस्तिक छाप लगाउन नेपाली जनता तैयार छन् । काठमाण्डौको मत परीणाममा नव राजनीतिक दलहरूः विवेकशिल पार्टी, साझा पार्टीहरुको सम्भावना बोकेको परिणामले आम नेपालीहरुको पुराना अनि जहिल्यै दोहोरीराख्ने उही अनुहारप्रति देखाएको उदासिनतालार्इ प्रष्ट पार्छ । 

राजनीतिक, सामाजिकवृत्तमा नेपालीहरुको बदलिएको चाहना अनुरुप राजनैतिक पार्टीहरुको बलिदिएको दृष्टिकोण नभएर पनि हुनसक्दछ, सचेत नेपालीहरु बैकल्पिक धारको खोजीमा लागिपरेका छन् । ७ साल पछिको नेपाली प्रजातान्त्रीक अभ्यासमा के अझै ७४ साल आईपुग्दा पनि विकास, सुशाषन अनि समृद्धिका सपना सपनामात्रै रहने भए । के राजनिती केवल सपनाको  खेती मात्र हो र ? 

कता चुक्यो त नेपाल, कता चुके त नेपाली ? अनि अबको बैकल्पिक राजनैतिक शक्तिको स्वरुपका बारेमा हामीले कुरो गर्याैं दर्शन रौनियारसंग । 

उहाँसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

२८ वर्ष अगाडि खल्तीमा हजार डलर लिएर अमेरिका टेकेका दर्शनले अमेरिकाकै एउटा कुशल उद्यमी र संयूक्त राज्य अमेरीकाका पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकलमा सिनेटरको उम्मेदवारका रुपमा अमेरिकी राजनितीमा प्रत्यक्ष हामफालेका व्यक्तित्वका रुपमा चिनिन्छन् । 

यसका अलावा दर्शन नेपालका विभिन्न जिल्ला, भू-भाग र सरकारी संयन्त्रका तह तप्काहरुमा नेपालीहरुको मूलभुत मुद्धाहरु बुझ्न अनि जनभावना समेट्न हिंडिरहने अनि स्थानिय मुद्दाहरू बुझिरहने हामीलाई बताउँदछन् । आउनुहोस के भन्नुहुन्छ त दर्शन रौनियार अमेरिकाको प्रजातन्त्र, जीवन र खुशियालीबारे अमेरिकी राजनितीबाट नेपालले सिक्नुपर्ने कुराहरूः


अमेरिकामा मुलभूत रुपमा प्रजातन्त्र, जीवन अनि खुशियालीका कुराहरुलाई प्राथमिकता दिएर हेरिन्छ, यस आधारमा त्यहाँ जहिले पनि डेमोक्र्याटिक, ईन्कल्युसिभ र ईक्वालिटी छ अर्थात प्रजातान्त्रिक, समावेशी र समानता सहितको छ । तथापि समानताकालागि अमेरिकाले अझै पनि कसरत गरिनै रहेको छ, महिला र पुरुषकाबिचमा भएको कार्य तथा पारिश्रमिक असमानता अझै विधमान छ अमेरिकामा । अमेरिकामात्र हैन सिङ्गापुर लगायतका अन्य छोटो समयमा विकसित धेरै देशहरुले प्रजातान्त्रिक, समावेशी र समानताका अभ्यासलार्इ आत्मसाथ गरेर विकास गरिसकेका छन् तर नेपाली राजनैतिक नेतृत्वहरुले यी कुराहरुलाई बेवास्ता गर्नु अनि सम्बोधन गर्न नसक्नु भने दुर्भाग्यपूर्ण हो । 

नेपालमा किन नयाँ पुस्ताहरु राजनैतिक परिवर्तनकालागि सक्रिय छैनन् ? 
नेपालमा गएको २५० वर्षदेखि राजनैतिक स्थिरता आएन, दूरदृष्टि भएका नेतृत्वको अभाव छ, राजनीतिमा आएका नेतृत्वहरु मेहनत गर्न नजान्ने, शिक्षा र स्वास्थमा जोड दिन नसक्ने प्रवृतिका भएर पनि मान्छेहरुमा राजनीतिप्रति उदासिनता बढेको हो । 

नेपालको विकास नहुनुमा विभिन्न शक्ति राष्ट्रहरू, विकसित मूलुकहरुको अप्रत्यक्ष हस्तक्षेप हुन्छ, के लाग्छ यहाँलार्इ ? 
हामी कमजोर छौं र आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छ । एउटै देश भारतसंग मात्र ८६ प्रतिशत आयात निर्यातमा निर्भर भएपछि हाम्रो दूरर्शितामाथी र आत्मस्वाभीमानमाथी प्रश्न उठिहाल्छ नी ! यस्ता धेरै उदहारणहरु छन्, कुटनैतिक हिसाबमा नेपालले २१ सौं शताब्दिमा रहेर १९ औं शताब्दिको कुरा गर्ने गरेको छ । आफू बलियो भयाैंभने अरुले हेप्न नसक्ने कुरा त हामीसबैलाई थाहा नै छ नि ? 

चुनावी सरगर्मीमा अहिले नेपालीहरुमा अहिले विधमान र पुराना राजनैतिक पार्टीहरुसंग एक प्रकारको वितृष्णा भएको प्रष्ट छ, यहाँको उपस्थितीले कसरी नेपालीहरुले अाशा राखेको राजनैतिक नयाँपनको आवश्यक्तालाई सम्वोधन गर्दछ ? 
म नेपालका विभिन्न ग्रामीण ठाँउहरुमा भ्रमण गर्दछु, राजनैतिक स्थितरता र विधीको शासन नभएका कारणले अहिलेको शासन प्रणाली प्रभावकारी नभएको हो । हरेक पार्टीका मान्छेहरुलाई समावेश गरेर एउटा प्रजातन्त्र, समावेशिता अनि समानताकोलागि साझा थलो बनाएर वैकल्पिक शक्तिको शुरुवात गर्ने मेरो योजना छ, पछी गएर यो शक्तिले राजनैतिक दलको स्वरुप पनि लिन सक्नेछ । 

प्रत्यक्ष निर्वाचन, पार्टीले टिकट दिने अस्वस्थकर प्रणालीको खारेजी, एउटा भोट एउटा उम्मेदवारकालागि र एउटा उम्मेदवार एउटा क्षेत्रबाट मात्र उठ्न पाउने प्रणाली मार्फत राजनैतिक पारदर्शिता र प्रजातन्त्रको संस्थागत विकास गर्नकालागि बैकल्पिक शक्ति क्रियाशील रहनेछ । मूल कुरो भनेको उम्मेदवारलाई राज्यप्रति उत्तरदायी बनाउने प्रणाली हो । 

बैकल्पिक शक्तिको धार कस्तो हुनेछ ? 
हेर्नुस् अहिले भएका १८६ पार्टीहरु लगायत विभिन्न राजनैतिक शक्तिको मूलधार छैन् । बैकल्पिक शक्ति भने हरेक प्रकारले प्रजातन्त्रको पर्याय र पूूँजिवादी पार्टी हुनेछ । नेपालको मुख्य समस्या भनेको राजनीतिमात्र हो नत्र प्रकृति, सभ्यता, संस्कार र भाषाका हिसाबले हामी अत्यन्त अब्बल छौं, अब राजनैतिक नेतृत्व, धार सुधारकालागि सबैजनालाई ऐक्यवद्ध हुन आग्रह गर्दछु । 

पर्यटन, जल र कृषिकोलागि हामीसंग १०० मीलियन अमेरिकी डलरको योजना छ, यसरी विकासका पूर्वाधार तयार भएपछि रिभर्स माईग्रेशन हुन्छ । बाहिर गएका नेपालीहरु स्वदेशमैं अवसरकालागि फर्किनेछन भन्ने हाम्रो योजना पनि छ । 

नेपालीहरुमा धेरै विकासप्रतीको उदासिनता छाएको अवस्थामा राजनैतिक रुपमा वैकल्पिक शक्तिको आवश्यक्ता टड्कारो छ । ५ वर्षमा मेट्रो ल्याउने पार्टीहरुको योजना भएतापनि न्यूनतम कुराहरु सम्म दिन सकेका छैनन् । धुलो धुवाँ र महँगिमा जुझिरहेका जनतालाई मेट्रोको सपना बाँढ्नु विकास हैन नि ? यत्तिका वर्ष देशलाई पछाडि धकेल्नु अनि अझै सुध्रिन नसक्नुको उत्तरदायित्व कसले लिने ? लाएविलिटी भन्ने कुरा चाँही नेपाली राजनितीमा शून्य बराबर नै छ । 

विधीको शासन र सुशासन स्थापना नभईकन विकास सम्भव छँदै छैन, अब अर्को पुस्ताले पनि राम्रोसंग नेपालमा बस्न नपाउने ? विकसित नेपालको सपना र सुशासनको भिजन लिएर वैकल्पिक शक्ति अगाडी बढ्नेछ । 

आन्दोलनमा ढुगां हान्न र टायर बाल्न, जुलुस निकाल्न आदिजस्ता क्रियाकलापलाई मुख्यतः नेपाली राजनीतिमा जनसक्रियताको संज्ञा दिईन्छ, बैकल्पिक शक्तिमा सहभागि हुन पनि यस्तै केही गरिन्छ या कसरी गर्न सकिन्छ ? 
हामी क्याडर प्रणालीबाट जाँदैनौ, बैकल्पिक पार्टी दर्शन रौनियारको मात्र दायित्व हैन, हामी सबैको हो र राजनैतिक परिवर्तन बुझेर आउने सबैलाई हामी स्वागत गर्दछौं ।

अन्य पार्टीहरुजस्तो जुलुस, बन्द र क्याडर प्रणालीमा हामीलाई विश्वास छैन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्दैजाने बैल्पिक पार्टीको धारणा हो । जनता र देशबाट लुटिएका पैसा बाँडेर राजनीति गर्ने वातावरण बनाउनु हाम्रो धारणा हैन । शिक्षा र समृद्धिको जग मजबूत गर्दै प्रजातन्त्र, सुशासन, समावेशिता र समानताकालागि अग्रसर सबै नेपालीलाई बैकल्पिक शक्तिमा स्वागत छ ।

अब नेपाली राजनैतिक प्रणालीको महामारी अर्थात एपीडेमिकको अन्त्य गर्न जरुरी छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.