के तपाईसंग नेपाली टोपी छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

के तपाईसंग नेपाली टोपी छ ?




   Suyog Dhakal - Jan 02 2018

मेरो टोपी मैलो हैन यही माटोको टीको लागेको मेरो पसिना पुछ्दा पुछ्दा यसलाई केही दिक्क लागेको, यो मेरो टोपी हो, मेरो टोपी गाँउलेको शिर माथि, मेरो टोपी लाहुरेको शिर माथि...



सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । बर्षहरुको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरुप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौं ।

विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौं, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका बिषयमा कुरा जति गरेपनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरुपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्वस्फूर्त रूपमा नेपालीजनले मनाउँदै अाएका छन् । हुन त यो विशेष दिन अहिलसम्म पात्रोमा व्याख्या गरेको त छैन तथापी नेपाली यूवापुस्तामा विशेष रुपमा इस्वी सम्वतको नयाँ दिनमा ढाका टोपी अर्थात् नेपालीपनको एउटा तरगं फैलिन थालेको ५ वर्ष भएको छ । यो विशेष दिन ढाका टोपीमा केवल सीमित नरहेर राष्ट्रिय पोशाककै शोभा, गरीमा र प्रचार-प्रसारकालागि महत्वपूर्ण रहेको छ ।

ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपीसंगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । 'ढाका' नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमैं रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यहि टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुनेगर्दछ ।

नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोशाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि । शुरु गरौं एउटा गीतबाट जून नेपाली जनमानसमा दशकौंदेखि रहिआएको छ । स्वर्गीय गोपाल योञ्जनको सङ्गीत रहेको यो गीतले पनि यही भन्छ । 

यो मेरो टोपी हो 
मेरो टोपी कैलाशको शिर जस्तो 
मेरो टोपी हिमालको भिर जस्तो 
कहिलेपनि झुक्न नजान्ने 
कहिलेपनि लुक्न नमान्ने 
मेरो टोपी नेपाली विर जस्तो 
नेपाली विर जस्तो 

मेरो टोपी भित्र मेरो बहिनीको मायाको बास 
अहिलेसम्म भोगेको मैले मेरै घाम छाँयाको बास 
मेरो टोपी हो हो 
मेरो टोपी मैलो हैन यही माटोको टीको लागेको 
मेरो पसिना पुछ्दा पुछ्दा यसलाई केही दिक्क लागेको 
यो मेरो टोपी हो 
मेरो टोपी गाँउलेको शिर माथि 
मेरो टोपी लाहुरेको शिर माथि 
ठूलो सानो मान्दैन यो 
भेदभाव जान्दैन यो 
मेरो टोपी हो 
सुहाईदिन्छ सबै सबै 
नेपाली शिर माथि 
ढावा ढावा अखडा भित्र मेरो टोपी लड्दै थियो 
सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो 
मेरो टोपी हो हो 
मेरो टोपी खोज्दै गएं 
सागर देखि सगर सम्म 
जहाँ पनि जहिले पनि पनि यो त अघि बढ्दै थियो 

यो मेरो टोपी हो~~~~


यो गीतले टोपी संग जोडिएको नेपालीपनाको भावलाई यति मीठो गरि प्रस्तुत गरेको छ कि सुन्दा या पढ्दा मात्र पनि आँग जिरिगं हुन्छ । 

ढावा ढावा अखडा भित्र मेरो टोपी लड्दै थियो 
सगरमाथा उभो पनि मेरै टोपी चढ्दै थियो 

दोश्रो बिश्वयूद्ध अनि सगरमाथाको प्रथम आरोहणलाई यस गीतले व्यापक स्वरुपमा गुञ्जायमान गरेको छ । टोपीहरुको बिगुल नेपाली सरल अनि सुगम संगीतमा यूगौं देखि छ । ढाका टोपी संगै कालो भदगाँउले टोपी पनि २ दशक अघि नेपाली चलचित्र सुपरस्टारमा कालो टोपी भादगाँउले नामक गीतमा गुञ्जेको छ । नेपाली टोपीको बोलमा रहेको सम्पूर्ण गीतहरु अहिलेसम्म सदैव हिट भएको इतिहास पनि त छ । पञ्चायत कालमा भादगाँउले टोपीलाई त सरकारी कर्मचारीका लागि अनिवार्य नै गरिएको थियो । भुटानवाट फकिएका पूर्व नेपालीहरु देखि बर्मामा अहिले बसोवास गर्ने नेपाली भाषीहरुसम्ममा नेपाली टोपीको व्यापक प्रयोग र मोहले यी टोपीहरुको इतिहास अनि बृतान्त बताँउदछ । अहिले आएर जिन्स अनि हिपहपको जमाना अनि भेषमा भने नेपाली टोपीहरुले आफ्नो बृतान्त अनि शोभा जोगाउन हम्मे हम्मे परेको प्रस्ट छ । किन बिदेशी क्याप लगाएर हिड्दा आफूलाई मोर्डन भएको रुचाउने नेपाली यूवाले नेपाली टोपी लगाँउदा हिनता महसुस गर्दछन् ? 

राम्रो हुन ढाका टोपी नै चाहिन गीत पनि त छ । 

काली पारी` दाई कति राम्रो
ढाका टोपी` काँधैमा गलबन्धी


ल है नेपालीजनहरु ढाका टोपी लगाएर राम्रो बन्ने हैन त ?
जनवरि १ मा अव्यक्त भएपनि घोषणा गरिएको टोपी दिवस सरकारी तवरले किन प्रर्वधन गरिँदैन ? के नेपालीपनाको एउटा मुल सुत्र बोकेको टोपी जोगाउनु नेपाल सरकारको काम हैन र ? जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौं 

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे 
नेपालै नरहे 

पहाड या हिमाल हैन तराई अनि बिदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्वपूर्ण छ । जाँदाजाँदै सोघ्न चाह्यौं, के तपाईसंग नेपाली टोपी छ ? 

---
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.