Puskarlal Yaatra Bideshko Chinta Swadeshko | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक





नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तकको आज मंसिर १५ गते विमोचन गरिएको छ ।

श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका उपलक्ष्यमा भर्चुअल माध्यमबाट विमोचित यस यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव र अनुभूतिहरु समेटिएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित यस पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा घटेका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

यस पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमिसकेका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पनि उहाँबाट भएको छ

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेट्नुभएको छ । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुगेका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएका थिए, जसको अनुभूतिले मात्र पनि स्रोतालाई भावविह्वल बनाउँछ भने उहाँको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने नै छ भन्ने विश्वास प्रकाशकको छ ।
नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नैपर्ने स्रोत सामग्री बनेको छ ।

उहाँको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’मा नेपाली राजनीतिको चिरफार गरिएको छ । विदेशका अभ्यासहरु पनि पुस्तकमा रोचक ढंगले समेटिएका छन् । ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठ एक सन्दर्भमा उल्लेख गर्नुहुन्छ ।

किताबमा कूटनीतिक सन्दर्भहरु पनि बारम्बार आउँछन् । सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि श्रेष्ठले दिनुभएको छ । ‘तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ’ एक सन्दर्भमा लेखक श्रेष्ठ उल्लेख गर्नुहुन्छ । ‘दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यांै, न त स्विजरल्यान्डजस्तो’ अर्को सन्दर्भमा उहाँको टिप्पणी छ ।

नेपालको अवस्था बुझ्न ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ निकै सहयोगी स्रोत सामग्री हुनेछ । पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधी खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हँुदासमेत उहाँलाई ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरुप जीवनभर खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपरेको जस्ता मार्मिक सन्दर्भले किताब भरिएको छ ।



किताबमा सञ्चारविद् प्रा. पी खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरुले आ–आफ्ना धारणा पनि प्रकट गर्नुभएको छ । २०७६ वैशाख ४ गते ६१ वर्षको अल्पायुमै दिवंगत भएका श्रेष्ठका बारेमा उहाँका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ जो मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि पठनीय सन्दर्भ बनेको छ ।

पुष्करलालले ६० वर्षपछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकास लिने र चारवटा किताब लेख्ने जानकारी गराउनुभएको थियो । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल श्रावण २५ गते विमोचन गर्ने उहाँको योजना थियो । हरेक दिन डायरी लेख्ने उहाँसँग पुस्तकका लागि पर्याप्त सामग्री पनि थिए । तर, उहाँसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुप¥यो । उहाँको सोही इच्छा पूरा गर्ने यो पहिलो प्रयास हो । उहाँ स्वयंले लेख्ने जीवन–कथा प्रकाशनको सपना उहाँको जीवनसँगै समाप्त भएको छ, तर बाँकी तीन विधामा उहाँले लेखेका आलेखहरु कामना समूहसँग सुरक्षित छन् ।

कुल ३४८ पृष्ठको मोटो गाता (हार्ड कभर)मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’को मूल्य रु. १,२५० राखिएको छ भने पेपर ब्याकको किताब मात्र रु. ७०० मा प्राप्त गर्नसकिन्छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’जस्तै यस प्रकाशनलाई पनि सफल बनाउन प्रकाशकका तर्फबाट हामी सम्पूर्ण श्रद्धेय पाठक वर्गमा सादर अनुरोध गर्दछौं । मुलुकभित्र मुख्य शहरमा रहेका प्रभावशाली पुस्तक पसल तथा पत्रपत्रिका विक्रेताबाट खरिद गर्नसकिने यस पुस्तकका लागि काठमाडौं उपत्यका पाठकहरुले अनलाइन खरिद पनि गर्नसक्नुहुनेछ । इच्छुक व्यक्तिले सीधै ९८५१०७२००४ वा ९८४१४०३७७३ मा फोन गरेर पनि किताब मगाउन सक्नुहुनेछ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.