मेरो आत्मकथाको आरम्भः | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मेरो आत्मकथाको आरम्भः




   नरेन्द्रराज प्रसाई - Jun 22 2018

त्यसबेला आमाको गर्भमा भएको बच्चा चलेको छ या छैन भनेर मेरा बुबा जयप्रसाद प्रसाई चाहिं प्रायः मेरी आमाका पेटमा कान जोड्ने गर्थे । त्यसरी मेरी आमाको पेटमा भएको नानी चलेको टुङ्गो मेरा बुबाले लगाएपछि बच्चा जन्मन्छ भन्ने कुरामा अरु सबैलाई पनि विश्वाश हुँदै गएको थियो ।



ताप्लेजुङ्को हाङ्पाङ्को २०११ साल माघ १५ गतेको कुरा हो । त्यस दिन मेरी आमा भागीरथा प्रसाई रातो माटो खन्न गएकी थिइन् । त्यतिखेर गाउँका अरु नारीहरूसँगसँगै उनीसँग उनकी नजिककी साथी मनमाया विष्ट पनि थिइन् । मनमाया भन्नु दिलबहादुर विष्टकी जेठी श्रीमतीको नाउँ हो । विष्टहरु र हामीमाझ सारै सुमुधुर सम्बन्ध थियो । हाम्रो घर परिसरदेखि कान्लाको ठीक मुनी दिलबहादुर दाइको घर थियो ।

मेरी आमा क्रमशः माटो खन्दै जाँदा बन्दै गएको ओडारभित्र पुगेकी थिइन् । एकसुरमा माटो खनिरहेकी उनलाई माटोको ढिस्को गर्लम्मै भत्किएको पत्तै भएन । अनी त्यसपछि मेरी आमाको जमीनमाथि कुनै सङ्केत नै देखिएन । तुरुन्तै मनमाया भाउजूले आँत्तिएर गाउँतिर फर्केर गुहार मागिन् । उनी जोडले चिच्याएपछि खेतमा काम गरिरहेका शीरमान भूजेल दौडेर त्यहाँ पुगेका थिए ।

मेरी आमालाई माइत जाँदा मेरी हजुरआमाले कपाल बाट्ने रातो फुर्को भएको धागो दिएकी थिइन् । अनि मेरी आमा उक्त धागोले नै प्रायशः कपाल बाट्ने गर्थिन् । त्यसदिन पनि उनको कपालमा सोही धागोको रातो फुर्को बाँधेको थियो । त्यसैले माटाले उनलाई पुरेको ठाँउमा अति मसिनो रातो फूर्को देखिएको रहेछ । अनि त्यसैको आधारमा भुजेलले काँटाले विस्तारै माटो उधिनेर मेरी आमालाई खाडलबाट निकालेका रहेछन् । तर त्यतिखेर मेरी आमा बेहोस थिइन् ।

मेरी आमालाई खाडलबाहिर सुताएर भुजेलले गाँउलेलाई बोलाएछन् । अनि केही समयपछि त्यहाँ मेला लागेछ । सबैजना भएर मेरी आमालाई डोली चढाएर मेरो घर पुर्‍याएछन् । त्यतिन्जेलसम्म पनि उनको होस खुलेको थिएन । होस नखुले तापनि मेरी आमाका हातखुट्टाचाहिं चलमलाउन थालिसकेका थिए ।

त्यस घटनाका समयमा मेरी आमाका पेटमा सात महिनाको नानी थियो । एउटा भयानक दुर्घटनाबाट बाँचेकी मेरी गर्भवती आमा त्यसपछि चलमलाउन सक्तिन थिइन् । उनलाई दैनिक नित्यकर्म गराउन पनि तन्नाको डोली बनाएर बाहिर र भित्र गराउनु पर्थ्यो । आमाको हालत त्यस्तो भएका कारण देख्ने सुन्ने जो कसैलाई पनि पेटको बच्चा जिँउदो छ भन्ने कुरामा विश्वाश हुँदैनथ्यो । त्यसैले मेरी आमालाई गाँउ घरका आफन्त, इष्टमित्र र आफ्नै जेठाजू वेनुप्रसाद प्रसाईले समेत 'पेटको बच्चा चलेको छ के' भनेर सोधी खोजि गरिराख्थे ।

त्यसबेला आमाको गर्भमा भएको बच्चा चलेको छ या छैन भनेर मेरा बुबा जयप्रसाद प्रसाई चाहिं प्रायः मेरी आमाका पेटमा कान जोड्ने गर्थे । त्यसरी मेरी आमाको पेटमा भएको नानी चलेको टुङ्गो मेरा बुबाले लगाएपछि बच्चा जन्मन्छ भन्ने कुरामा अरु सबैलाई पनि विश्वाश हुँदै गएको थियो ।

माटाको पैरोले पुरिएकी गर्भवती नारीको हालखबर बुझ्न त्यस भेकका धेरै मानिस हाम्रा घरमा आउने गर्थे । त्यसरी आउनेमध्ये आफन्त, नातागोताले जडीबुटी मिसाएका खानेकुरा र अरु पनि पौष्टक खानेकुरा ल्याएर मेरी आमालाई खुवाउने गर्थे । त्यसरी सुतिसुती पौष्टिक खानपिनका कारण त्यतिन्जेलसम्ममा मेरी आमाको स्वास्थ्य पनि राम्रो हुँदै आएको थियो ।

आमालाई माटोले पुर्नासाथ दिलबहादुर विष्टहरू मौवाको रूख खोज्न जङ्गल पसेको कुरा केही महिनापछि मेरी आमाले थाहा पाएकी थिइँन् रे ! मौवाको रूखको बोक्राले भाँच्चिएका हाड पनि जोडिन्थ्यो रे । अनि विष्ट दाइहरूले मौवाको बोक्रा खुर्केर घरमा ल्याएछन् । मौवाको बोक्रा कुटेर खड्कुलोमा दुई घन्टा उमालियो रे । अनि त्यो बोक्राको छोक्रा सेलाएपछि मेरी आमाका शरीरभरि टाँसेर कपडाले बानियो । दुईतीन घन्टा, दुईतीन घन्टामा आमाका शरीरभरिको बोक्रा अख्रक्क परेर सुक्थ्यो । अनि हरेक २/२ घन्टामा मेरी आमाको शरीरमा पानी राखेर चिस्याउनु पर्थ्यो ।

यसैक्रममा २०१२ साल बैशाख १ गते बिहानको सूर्योदयसँगै यस पृथ्वीमा एउटा बालकको अबतरण भयो । त्यस घटनाले हाम्रो घरमा फेरि मेला लागेको थियो । त्यसबेलासम्म पनि मेरी आमाको चाहिं पूर्णरुपले चेतना आइसकेको थिएन । तर पनि बच्चाको जन्म स्वाभाविकरुपमा भएको नै थियो । त्यसजमानामा त्यस विकट पहाडी ठाँउमा अस्वाभाविकरुपले बच्चा जन्माउन सकिने अवस्था पनि थिएन । अनि हर्ष बढाईंका साथ त्यस बच्चाको न्वारन पनि धुमधामैले गरिएको थियो । अनि पण्डितहरुले त्यस शिशुको नाउँ नरेन्द्रराज प्रसाई राखेका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.