धन्यवाद पारस | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

धन्यवाद पारस





३ वर्ष अघि आजकै दिन अन्तिम ओभरमा नेदरल्याण्ड्सको खेलाडीलाई उत्कृष्ट रन आउट गराउँदै पारसले नेपाललाई पहिलो औपचारिक एक दिवसीय जित दिलाएका थिए। आज ३ वर्षपछि नेपाल क्रिकेटलाई यस्ता धेरै कीर्तिमानी जितहरू दिलाएका लोकप्रिय क्रिकेटर पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे ।

सन्यास, कुनैपनि खेलाडीको लागि कठिन निर्णय हो। तर, आफ्नो प्रिय खेलाडीको सन्यासको खबर सुन्नु समर्थकहरूलाई झन धेरै कठिन हुन्छ। ढिलो चाँडो यो समय पक्कै आउथ्यो, तरपनि नेपालको जर्सी लगाएर मैदानमा उत्रिएको टोलीमा पारस खड्का अनुपस्थित हुनेछन भन्ने खबरले आज धेरैलाई निरास बनाएको छ। नेपाली क्रिकेटको उत्थानका लागि यो कदम उठाएका पारस खड्कालाई उनका समर्थकहरूले आगामी दिनहरूमा यसरी नै माया र साथ अवश्य प्रदान गर्नेछन् ।

पारस खड्कालाई नेपाली क्रिकेटको पर्यायवाची भन्दा फरक नपर्ला । नेपाली खेल जगतमा निक्कै थोरै मानिसहरूले मात्र यति लामो समयसम्म आफ्नो अव्बल प्रदर्शनको प्रभाव पार्ने गर्दछन्। २०१४ मा टि २० विश्वकप खेल्नु देखि लिएर एकदिवसीय मान्यता प्राप्त राष्ट्रको रुपमा नेपाललाई स्थापित गर्नु जस्ता उल्लेखनीय उपलब्धीहरू समेत पारसले नेतृत्व गरेको नेपाली टोलीले हासिल गर्यो । २००९ देखि २०१९ सम्म पारसको कप्तानीमा नेपाली क्रिकेटको स्तर बढेको र नेपाली क्रिकेट अहिलेसम्म उत्कृष्ट स्थानसम्म पुगेको हो। यी सबै कुराहरूले गर्दा नेपाली क्रिकेट प्रेमीहरूका लागि पारस खड्का एउटा “उत्कृष्ट खेलाडी” या “अहिलेसम्मको सर्वाधिक सफल कप्तान” मात्र नभई, एउटा भावना हुन् । नेपालको जित सुनिश्चित छ भनेर सबैलाई आश्वस्त पार्ने एउटा विश्वास हुन् । विश्वभरि नेपाली क्रिकेटको कद बढाउने एउटा स्तम्भ हुन् । धन्यवाद पारस ।

पारसको दुई दशक लामो क्रिकेटको यात्रा सहज पक्कै पनि थिएन । राष्ट्रले खेलाडीहरूलाई आवश्यक श्रोत, साधन र कतिपय स्थानमा त सम्मानको पनि कमी गरेकै हो । कहिले क्यानको विवाद त कहिले लामो समयसम्म बिना पारिश्रमिक नै मैदानमा पसिना बगाउदाको क्षण । यी सबै चुनौतीको सामना गर्दै देश र जनताले आफूसँग गरेको अपेक्षालाई सधैँ पूरा गर्दै आए पारस । पारससँगै उनका सहकर्मी ज्ञानेन्द्र, शरद, बसन्त, शक्ति र अन्य धेरै खेलाडीहरूले अप्ठ्यारो समयमा पनि निस्वार्थ देशको लागि दिएको योगदानको हामी सबैले सम्मान गर्नुपर्छ । यी खेलाडीहरूको योगदानले गर्दा अहिले खेलाडीहरू र नेपाल क्रिकेटको अवस्था पहिला भन्दा केही सुधार भएको छ ।

भर्खर मात्र ३४ वर्ष लागेका पारसलाई खेल मैदानमा नेपालको लागि ब्याटिङ बलिंग गर्दै गरेको हेर्ने चाहना अझै पनि धेरैको थियो । किर्तिपुरको मैदानमा समर्थकहरुले एकै आवाजमा कहिले “पारस, पारस” कहिले “पारस दाइ” त कहिले “पारस खड्का, छक्का पड्का” भनेर कराएको पलहरू अब मिस हुनेछन् । हुन त आउँदै गरेको घरेलु लिगहरुको रौनक बढाउँन पारस अझै मैदानमा उत्रिने छन् भनेर उनका समर्थकहरुले आशा गरेका छन् । उनले घरेलु लिगहरू खेल्छन् या खेल्दैनन्, यो उनको व्यक्तिगत निर्णय हो । उनको निर्णयको हाम्रो पात्रो सम्मान गर्दछ र आगामी दिनहरुमा उनले सोचेको र चाहेको सम्पूर्ण सपनाहरू पूरा हुँदै जाओस् । फरक भूमिकामा भएपनि, नेपाली क्रिकेटलाई पारसको आवश्यकता छ। उनको अनुभव र उपस्थितिले नेपाली क्रिकेटको भविष्य पक्कै पनि सुनौलो हुनेछ। धेरै धेरै शुभकामना । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.