मधूमेहको घरेलू उपचार | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मधूमेहको घरेलू उपचार




   Suyog Dhakal - Jul 13 2016

हाम्रो घर चोक या गाँउमा सहजै उपलब्ध यो तुलसीको पात एकदमै गुणकारी जडिबुटी हो । यसमा एन्टी अक्सीडेन्टहरु लगायत अन्य धेरै प्रकारका जीवन उपयोगी तत्वहरु पाइन्छ ।



सुयोग ढकाल/हाम्रो पात्रो | डाइबेटिज अर्थात् मधुमेह, मान्छेहरुको बढ्दो अव्यबस्थित जीवनयापन, शारीरीक व्यायामको कमी, धुम्रपान अनि मध्यपानको अधिक सेवन र साथमा तनावपूर्ण जीवनशैली जसले गर्दा हामीलाई मधुमेह यानेकि डाइबेटिजसँग नजिक बनाउँदछ । अचेल ३० बर्ष कटेपछि हामीमध्ये धेरैलाई मधूमेह देखिने गरेको छ । शुरुमा धनी र सम्भ्रान्त परीवारहरुमा मात्र लाग्ने रोगको रुपमा यो रोग परीचित भएतापनि अहिले आएर डाइबेटिज एउटा खतरनाक अनि सर्वब्यापी रोग भएको छ । संसारमा एच.आई.भी., इबोला, पोलियो जस्ता धेरैवटा संक्रमणविरुद्व कार्य भएतापनि डाइबेटिजप्रति तुलनात्मक रुपमा थोरै जनचेतना र औषधीमूलोका संयन्त्रहरु शून्य प्रायः भएको पाइन्छ ।

पोलियोको निःशुल्क थोपा, एचआईभीका लागि निःशुल्क एआरभी औषधीहरु, कुष्टरोग र क्षयरोगका निःशुल्क औषधी पाइने हाम्रो देशका सम्पूर्ण स्वास्थ्य चौकीमा डाइबेटिजको औषधीहरु त परै जाओस पर्याप्त जानकारीसम्म दिन पनि प्राथमिकतामा परेको देखिंदैन । यका कारणहरु धेरै छन्, हुन सक्छ डाइबेटिज एउटा यस्तो वहुबिधात्मक र जटिल रोग हो कि यसलाई सहज व्याख्या र निरोधात्मक सुझाव दिन स्वास्थ्यसेवीहरुलाई सक्षम बनाउन सकिएको छैन् या डाइबेटिजलाई पनि संवेदनशील रुपमा हेरिइएको छैन् । कुरा जे सुकै होस तर यो लेख मार्फत आउनुहोस आज हामी डाइबेटिजलाई घरेलु उपचारपद्वतीबाट कसरी निरोध र रोकथाम गर्न सकिन्छ चर्चा गरौँ ।

तुलसीको पात


हाम्रो घर चोक या गाँउमा सहजै उपलब्ध यो तुलसीको पात एकदमै गुणकारी जडिबुटी हो । यसमा एन्टी अक्सीडेन्टहरु लगायत अन्य धेरै प्रकारका जीवन उपयोगी तत्वहरु पाइन्छ । यी तत्वहरुले पित्त थैलीको बेटा (सेल्स)हरुलाई इन्सुलिनको भण्डारण अनि शरीरमा इन्सुलिनको सञ्चार गर्न मद्दत गर्दछ । दुई अथवा तिन वटा तुलसीको पात या एक चम्मच तुलसीको रस दैनिक खाली पेटमा सेवन गर्नाले डाइबेटिज नियन्त्रण गर्न सहयोगी बन्नसक्छ ।

आलस


आलस एक प्रकारको अन्न हो जस्को तराइतिर बिशेष खेती गरिन्छ । यस्लाई अग्रेजीमा Flex seed र हिन्दीमा आल्सी भनिन्छ । यसमा भएको पर्याप्त फाइबरका कारण पाचन क्रियामा अत्यन्तै सहयोगी हुनुका साथै सुगर र कार्बोहाइड्रेट सहजै पचाउनमा यो सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको संभावनालाई झण्डै २८ प्रतिशतले कम गर्नसक्छ । बिहान खालीपेटमा एक चम्चा आलसको धुलो एक ग्लास मनतातो पानीमा हालेर नियमित खाएर हेर्नुस आफै फरक पाउनुहुनेछ ।

दालचिनी


यसको सेवनले शरीरमा सुगरको लेभल कम गर्दछ । त्यतिमात्र नभई यसले गर्दा मोटोपनामा कमीआई इन्सुलिन संयमित क्रमको बिकास गर्दछ । हामीले दालचिनीलाई बिभिन्न मरमसला र सगूनको रुपमा प्रयोग गर्दै आएका भएपनि यसको मधुमेह संयमित गुणका बारेमा थाहा पाएका नहुन सक्छौं । अग्रेंजीमा यसलाई सिनामोन भनिन्छ ।
आफ्नो खानामा दैनिक एक ग्राम दालचिनीको उपयोगले सुगर लेभलमा उल्लेखनीय सुधार आउन सक्छ ।

हरियो चिया अर्थात 'ग्रिन टी'


यसमा अधिकमात्रामा पोलिफेनोल पदार्थ पाइन्छ जुन एन्टी अक्सिडेन्ट र हाइपोग्लासिमिया कम्पाउन्डभित्र पर्दछ, जसले गर्दा सुगर लेभललाई सन्तुलित गर्दछ । आजैबाट दूध हालेको चियाको साटो 'ग्रीन टी'को सेवन गर्ने हैन त ? नेपालमा ग्रीन टी एकदमै सहज र सुपथ मूल्यमा पाइन्छ पनि, देशबाट बाहिर रहनुहुने हाम्रो पात्रोको प्रयोगकर्ताले आफू नेपाल आँउदा या आफन्तहरुको सहयोगले नेपालमैं उत्पादित 'ग्रिन टि' मगाउन पनि सक्नुहुनेछ । या आफू रहेकै देशको छेउ छाउका डिपार्टमेन्टल स्टोर र पसलहरुमा खोज्ने पो हो कि ?

करेला


भन्दै तितो करेला, यसलाई नेपाली भान्सामा त्यति नरुचाइएने र हेपिएको तरकारीका रुपमा लिने गरिन्छ तर यसको दैनिक प्रयोगले हामीलाई मधुमेहबाट टाढा राख्दछ । यसमा इन्सुलिन सरहको पदार्थ प्रत्यक्ष रुपमा पाइन्छ जसले शरीरमा सुगर लेभल सन्तुलित गर्दछ । सकिन्छ भने हप्तामा दुई पटक तरकारी या जुस बनाएर बिहान खालीपेटमा हप्ताको तिन दिन सेवन गरौं, तितो भएर के भयो र ? यस्का फाइदाहरु अवश्य नै मिठा छन् ।

यस्का अलावा निम, जामुन जस्ता फलफूल र वनस्पतिहरुको नियमित सेवनले पनि हामीलाई सुगर रोगबाट पर राख्दछ । रोग या संक्रमण लाग्न दिएर उपचारतर्फ जानुभन्दा लाग्नै नदिइकन निरोधात्मक उपाय अवलम्बन गर्न उचित हुन्छ । यी कुराहरुसँगै जीवनशैलीलाई सरल बनाएर दैनिक व्यायाम् अनि कुनै खेल खेल्ने बानी गरौं । खुशी हुन र मुस्कुराउन सधैं प्रयास गरौं, जिन्दगी निर्विकल्प अमूल्य कुरो हो जसलाई तनाव लिएर भन्दा पनि खुशीसाथ बाँच्न सिकौं, तपाई हामी सबैलाई नैरोग्यको शुभकामना ।

स्रोतः विभिन्न अायूर्वेदीक पुस्तकहरूको अध्ययनमा अाधारीत् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.