निर्णय | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

निर्णय




   Ajit Kshetri - Jul 09 2016

कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभुमीमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् ।



अजित क्षेत्री | कुनै समय तीर्थ यात्रामा निस्केको हाँसको जोडी हिंड्दा हिंड्दै कुनै निर्जन, सुनसान र अत्यन्तै उजाड मरुभुमीमा पुग्दा रात परेछ र एउटा सानो रुख मुन्तिर हाँसको जोडीले रात कटाउने निर्णय गरेछन् । रातमा एउटा लाटोकोसेरो (उल्लु) आएर त्यै रुखमा बसेर रातभर चिच्याएर हाँसको जोडीलाई निदाउनै दिएन । 

पोथी हाँस (पत्नी) दुखी भएको देखेर भाले हाँस (पति) ले सम्झाउँदै आफ्नी पत्नीलाई भनेछ:-आजको रात जसोतसो बिताऔं, बिहान सबेरै यो ठाउँ छोडौंला । यो ठाउँ यतिबिधी उजाड, उराठ र निर्जन हुनाको कारण त यै लाटोकोसेरो रैछ, यस्तो दुष्ट पंक्षी बसेर चिच्याउने स्थानमा को आएर बसोस् र हरियाली समाज बसोस् त ?

लाटोकोसेरोले यो कुराकानी सुन्यो । बिहान उसले आफ्नो खराब आदतका लागी माफी माग्यो । 

हाँसको जोडी त्यहाँबाट हिंड्नै लागेको थियो । त्यसैबेला लाटोकोसेरो जोडले चिच्याउँदै रुन थाल्यो र हाँसले आफ्नी पत्नी (पोथी हाँस) चोरेर लैजान लागेको भन्दै गुहार माग्यो । आफ्नी पत्नीमाथी लाटोकोसेरोले दाबी गरेको देखेर हाँस जिल्ल पर्यो । 
आसपासका गाउँबाट भद्र भलाद्मी र पञ्च आए, हाँस र लाटोकोसेरो दुबैले पोथी हाँस आ-आफ्नी पत्नी भएको दाबी गरे । भद्र भलाद्मी सहितको पञ्चायतले दुबै पक्षको कुरा सुन्यो । पञ्चायत र भलाद्मीहरुलाई लाटोकोसेरो झुठ बोलेको कुरा बुझ्न समय लागेन । तैपनि सोंचे-'यो हाँस त आफ्नी पत्नी लिएर एकछिन पछि यो ठाउँबाट जानेछ तर लाटोकोसेरो त यहि समाजमा बस्छ र हामीलाई लाटोकोसेरो चाहिन्छ ।' त्यसैले झुठ बोलेको भएपनि लाटोकोसेरोको पक्षमा समाजले निर्णय गर्छ र हाँसलाई तुरुन्त त्यो गाउँ छोड्ने निर्देशन दिन्छ ।

समाजले गलत फैसला गरेर आफ्नी पत्नी अर्कालाई सुम्पिनु परेसी हाँस भारी मनले रुँदै बाटो लाग्छ । उतिबेलै हाँसलाई रोक्दै लाटोकोसेरो बोल्छ: 'रोकिनुस् मित्र ।' 

मेरी पत्नी त खोस्यौ अब के, मलाई नि मार्न चाहन्छौ? हाँसले भन्यो ।

'यो पोथी हाँस मेरी होइनन् तपाइँकी हुन् हिंजो पनि, आज पनि र भोली पनि'- लाटोकोसेरो बोल्यो- 'तपाईंले राती भन्नु भएको थियो यो ठाउँ यस्तो लाटोकोसेरो बस्ने भएकाले उजाड, उराठ र निर्जन भएको भन्नु भो । अहँ होइन, यो ठाउँ त सधैं लाटोकोसेरोको पक्षमा गलत निर्णय सुनाउने यस्ता पाखन्डी बिद्वानहरुका कारण यति डरलाग्दो र उराठीलो भएको हो । तपाईँ आफ्नी पोथी लिएर जानुस् ।'

मल्याङ्कोट १ दार्सिङ् स्याङ्जा
हाल: युएई

----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.