कालिन्चोक डायरी फोटोकथा | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

कालिन्चोक डायरी फोटोकथा





मुटु चलिरह्यो तर श्वाँस अड्कियो : कालिन्चोक डायरी फोटोकथा

नोटः प्रस्तुत घटना तथा पात्रहरु वास्तविक हुन् । कसैको कल्पना सँग मिल्न गएमा संयोग मात्र हुनेछ ।

यो मेरो कालिन्चोक को तेश्रो यात्रा हो, सहकर्मी साथी रुपेन्द्र, आशिष, आनन्द अनि अनिसको प्रथम पटक हो । म पथप्रदर्शक भएर मेरो थोत्रे वाईकमा रुपेन्द्रलाई पछाडि राखेर हुईक्याँउदै छु , नेपालको वाटो उकाली ओराली त्यहि त हो ।
काठमाडौवाट हिँडेर पाँचखालमा १२ वजे खाएको भातले विस्तारै छोड्दै छ, जति पर गयो उति चिसो वढिरहेको छ । पञ्जाले चिसो छेकेन्, मुढेमा हिँउ देखियो तर चिसोले गर्दा रोकिन उचित थिएन । 



औला झर्ला जस्तो चिसो भयो तर सेताम्मे हिँउ देखेर मन पुलकित भयो । आनन्द जी एउटा फोटोकर्मी अनि डिजाईनर, केही वेर हिँउसँग खेल्न रोकिने सोचमा आए तर मैले केटाहरुलाई हिँउको समुन्द्र अर्थात कालिन्चोक कुरि लिएर जाँदै थिए, सानो तिनो हिँउका खोल्सामा समुन्द्र पुग्ने यात्री अड्किन हुन्न, मेरो तर्क थियो । 




चरिकोट वाट कालिन्चोक
चरिकोट एउटा पहाडहरु विचको कोट, धेरै ठूला घरहरु छन् अनि विदेशी गाडिहरुका शोरुमहरु लगायत थुप्रै प्रकारका अन्य अत्याधुनिक सुविधाहरु । जिरि जाने यहीवाट, पसिना आउने भिमसेनको थलो यस एतिहासिक अनि प्राकृतीक स्थलवाट उकालो लाग्नुपर्छ, कालिन्चोक जान् । हिँडेर जानेहरु ठाडो उकालो छिचोलेर ६ घन्टाको औसत समयमा पुग्छन् भने पहिले पहिले वडो कसरत गरेर मोटरसाईकल लान पर्ने ठाँउमा अहिले चारचक्के गाडिहरु पनि जान थालेका छन् तर चिप्लिदै, सजिलो गरि त कहाँ पाउनु ?
चरिकोटवाट उकालो लाग्न थालेपछि केही वेरमा देउराली भन्ने ठाँउ आँउछ, वाटो देखाउने हेतुले अगाडि वतासेर म र रुपेन्द्र एउटा सरल तर चिप्लेटी ओरालोमा लड्यौ, सुस्तरि लडेकाले मान्छेलाई केही भएन्, बल गरेर गैरि भन्ने ठाँउसम्म हामी बाईकमा पुग्यौ तर अब चाँही हिँउ अनि हिलोले लदबदिएको बाटोसँग जोरी खेल्न आँट आएन्, रु १०० तिरेर एक रात बाईक गैरिमा राखियो । 



पछाडिका अनिस , आनन्द अनि आशिषहरु गाडिमा आए, डालोमा वसेर चिच्याँउदै, हामी पनि अर्को गाडि रोकेर डालोमा बस्यौ , चिपाल्दै, फोर ह्वील लाँउदै गाडिले कुरि उपत्यका पूर्यायो ।
मैले जिवनकालमा यति हिँउ देखेको थिईन, माटोहरु सबै हिँउ भएको भान भयो । सेतो तन्नाले ओढेको त्यो उपत्यका ब्यापक थियो, रमाईलो ।
त्यस उपत्यका माथीको एउटो डाँडाको टुप्पामा छ कालिन्चोक माताको थलो । फेसबुकको स्ट्याटस र प्रोफाईल पिक्चरहरु त त्यस ठाँउको कुनाकुनामा लुकेका छन्, नेपाल भित्रको अन्तराष्ट्रिय अनुभव ।
गोडादुईचार पटक हिँउमा चिप्लीएर लडेपछी हिमाली पाईला चाल्न र गुरुत्वाकर्षण बललाई बुझ्न सकियो ।
अध्यारो हुन बाँकी थियो, पहिले वसेको होटलका साहुसँग चिनजान थियो, होटल बुक गरेर आनन्द जी को फोटोग्राफी अनुभव क्यास गर्न निस्कियौँ ।
मनमनै सोचे कति निश्चल थियो त्यो हिँउ जस्को सम्पूर्ण सेतो रगं छ अनि निश्चल निस्कपटरुपमा अटल छ, भोली पग्लेला तर आज भोलीको चिन्ताले ग्रस्त छैन् ।
भुईचालो अगाडिको वर्षको हिँउदमा कालिन्चोक पुग्दासम्म त्यहा फोनको टावर लाग्दैन थियो तर यसपाला सहजै नेटवर्क लाग्यो, फोटो खिचियो अनि नेटमा नि हालियो ।
घाम डुब्दैगयो, होटलमा अन्य साथीहरु पनि थपिदै गए, हिँउ खेल्ने लालसामा । छेउको कोठामा केही केटीहरुको समुह आए, हिँउको प्रतापले हो या आँखाको कार्यकुशलताको अभावले हो, सबैजना उज्यालो अनि सूवर्ण देखिए, घाम डुब्दै गयो अनि साँझ पर्दै गयो । 




ढोकामा हिँउ, झ्यालमा हिँउ अनि वाटोमा हिँउ । त्यो साँझ हिँउको साँझ थियो, तापक्रम झ्र्यो अनि हामी आगो वालेर गोठमा बस्यौ, चरिकोटवाट ल्याएको मासु पोलेर खान थाल्यौ । छेउका कोठाका केटीहरु भित्र पसे तर अफ्ठेरो मानेर वाहिर निस्के, मैले त बसौ भनेर ठाँउ पनि सरेको थिए । मान्छेले मान्छेसँग किन अफ्ठेरो मान्नु, आखिर जतिजनाले तापेको भए पनि आगोको न्यानोपना कम हुने थिएन, आधारभुत फिलोसपी मनमा आयो, तोगंबा लाग्यो भनेर त्यो फिलोसोपीलाई मनवाट भगाए ।
एकैछिनमा तातोपानी चिसिन थाल्यो, शौचालयमा पानीराखेको भाँडामा हिँउमात्र बाँकी भए , मान्छेहरुले बोलेपिच्छे मुखवाट आएको वाफले सबैजनाले चुरोट खाईरहेका छन् जस्तो लाग्न थाल्यो ।
भात खाएर सुतियो, निन्द्रा परेन । चिसोले त हैन तर मुटु चलिरहेको भएता पनि श्वाँस अडकिरहेको जस्तो भयो ।
हिँउले घेरिएको अनि चिसोले बेरिएको त्यो उपत्यकामा हामीलाई शायद फोक्सो भरि पुग्ने अक्सिजन भएन र केही असहज भयो तर सुस्तरि निदायौ । विहान उठियो, केटाहरुले एक रोल ट्वाईलेट पेपर सकाए ।
कालिन्चोक चढियो, वाटोमा भएको पसलहरुमा एकएक ग्लास पानी र कालो चियाको पैसो तिरियो खाएपछि ।
उकालो चढियो, हिँउ थियो अनि वाटो चिप्लो थियो । शहरमा गाडि र बाईकले खिया पारेका खुट्टाहरु त्यहाँ चल्न थाले । थाक्नु स्वभाविक थियो तर फेरि अगाडि वढ्ने चाहना महत्वपूर्ण थियो ।
कालिन्चोक एउटा अदभुत ठाँउ हो, ठूलो र उँचो ठाँउमा भएको थुम्कामा फलामका त्रिशुल, घन्ट आदि चढाएर पूजा गरेर आस्थाको केन्द्रमा रहेकी यी देवीको अवस्थिती र वरपरका क्षेत्रहरुमा महसुस हुने शक्ति र तरगं ब्यापक छ । 





काठमाडौको चुम्बकले त्यहाँ तान्दैन, कालिन्चोकमा अर्कै आनन्द छ, वादल माथीको अनुभव अनि उचाईएको अनुभव ।
कमिला जस्ता मान्छेहरुको ताँती तलवाट चढिरहेको देखिन्छ, प्रकृतीको ब्यापक स्वरुपमा मान्छे आखिर कमीलानै त हो ।
फर्केर काठमाडौ आँउदा हरेक मोड अनि चोकमा कालिन्चोकको हिँउ सझंना गरिरहे । संसारै परिक्रमा गरेपनि आफ्नै देश अनि माटो घुम्न नसक्ने हो भने रहर मर्दैन । धित पूर्याएर देश घुम्ने रहर छ, साथीहरुले पनि घुम्ने रहर ब्यक्त गरे । रुपेन्द्र एउटा कम्प्यूटर ईन्जिनीयर हो त्यस्तै आशीष अनि अनिस पनि ईन्जिनीयर हुन् । म एउटा लेखक अनि आनन्द जी पेशाले डिजाईनर, सबैले अर्को प्लान पनि वनाएर जाँउ भनेका छन् ।सुनकोशीको सुन्तला, देउरालीको थुक्पा अनि कालिन्चोकको छुर्पि मिस हुनेछन्, यसपालाको कालिन्चोक यात्रालाई हामीले नाम दियौ, मुटु चलिरह्यो तर श्वाँस अड्कियो : कालिन्चोक ।
फोटाहरु केवल हाम्रो पात्रोमा , पढिदिनुभएकोमा धन्यवाद ।


सुयोग ढकाल








Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.