को हुन् राम ? | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

को हुन् राम ?




   Suyog Dhakal - May 30 2018

रामसीता कहानीको यति सराहना किन हुने गर्दछ त ? के राम साँच्चै भगवान् नै हुन् त ?



राम र सीताको प्रभाव नेपाल र भारतका हिन्दू समुदायमा युगौँदेखि रहँदै आएको छ । आजसम्म पनि हरेक वर्ष जनकपुरमा सीतालाई लिन अयोध्याबाट जन्ती आउने गर्दछ । ८० प्रतिशत जनसंख्या हिन्दू रहेका धेरै भारतीयहरु जीवनमा एक पटक जनकपुर–अयोध्या तीर्थाटन गर्ने इच्छा राख्दछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या र जनकपुरलाई जोडेर रामायन वा सीतायान सर्किटमार्पmत् तिर्थाटन प्रवद्र्धन गर्ने प्रतिबद्धता समेत दिइसकेका छन् ।
तर, दश वर्षअघि भारतकै सेथुसमुन्द्रम परियोजना बन्न खोज्दा रामसीताको अस्तित्व पुराणमा मात्र सीमित रहिआएको भनी विकासनिर्माणका क्रममा विवाद आएको थियो । भारतको रामेश्वरम र श्रीलंका जोड्नका लागि सामुद्रिक रुट निर्माण क्रममा चुलिएको राजनीतिक विवादको समयमा भारतीय पुरात्तात्विक सर्भेले रामसीतामा कथित सीतालाई अपहरणमुक्त गर्न श्रीलंका जोड्नका लागि बनाइएको भनिएको पुलको ऐतिहासिक प्रमाण नभेटिएको बताएको थियो । ठोस प्रमाण नभेटिँदा पनि रामसीता कहानीको यति सराहना किन हुने गर्दछ त ? के राम साँच्चै भगवान् नै हुन् त ?
वाल्मिकीद्वारा लिखित रामायणलाई भारतमा बसोबास गर्ने बंगाली समुदायले सो किताबलाई धार्मिक ग्रन्थका रुपमा नलिई साहित्यका रुपमा अध्ययन गर्ने गर्दछन् । यही रामायणका पात्र राम बुद्धिस्ट जाकता (नं ४६१) को दशरथ जाकतामा पनि प्रकट भएका छन् । सो किताबमा दशरथ रामका पिता छन् तर राम र सीता दाजुबहिनीका रुपमा प्रस्तुत गरिएका छन् । दशरथले उनीहरुलाई देशनिकाला गरेको नभएर सौतेनी आमाको दुष्टताबाट जोगाउन उनीहरुलाई हिमालय क्षेत्रमा वनवास पठाइएको भनिएको छ । यसमा लंका र रावणकोबारेमा भने केही पनि उल्लेख गरिएको छैन । वनवास सकिएपछि उनीहरु अयोध्या नफर्की बनारस फर्किएको भनी यसमा लेखिएको छ ।
माइकल मधुसुदन दत्तले लेखेका मेघनाद वाध काव्य पनि वाल्मिकीद्वारा लिखित रामायणमा आधारित छ । सन् १८६१ म लेखिएको सो शास्त्रीय कवितामा रावणका छोरा र शिवभक्त मेघनादको बहादुरीको बारेमा लेखिएको छ । यही कवितामा रावणलाई जिम्मेवार राजा र सद्गुण पात्रका रुपमा प्रस्तुत गरिएको छ भने लक्ष्मणलाई धोकेवाज र अन्यायी पात्रको रुपमा चित्रण गरिएको छ ।
१५ औंँ शताब्दीमा वाल्मिकीकै कृति रामायणलाई बंगाली भाषामा कृत्तिवशी रामायण वा श्री राम पञ्चाली भनी कृत्तिवश ओझाले कथित गरेका थिए । कोलकत्ताको एसिएटिक सोसाईटी पुस्तकालयमा छैँटौँ शताब्दीको रामायणको पाण्डुलिपी भेटिएको थियो । भारतमा विभिन्न भाषामा रामायणका थुप्रै अनुवाद तथा संस्करणहरु रहेका छन् । तमिलमा रामायणलाई छुट्टै तरिकाले कथित गरिएको छ । यति मात्र होइन, बौद्ध धर्मावलम्बी, शिख र जैनको पनि रामायणको आफ्नै छुट्टै रचना छन् । रामायणकै कथाको कम्बोडियाली, इन्डोनेसियाली, थाइ, बर्मेली, फिलिपेनी र मलेसियालीको छुट्टाछुट्टै अनुवाद तथा संस्करणहरु रहेका छन् ।
थाइहरुको रामायणको संस्करण इन्डोनेसियालीकाभन्दा फरक छन् र वाल्मिकीको कथाभन्दा फरक छन् । कुनैमा रावण सत्पात्रका रुपमा प्रस्तुत भएका छन्, न कि राम । कुनैमा सीता रामकी बहिनी मानिएका छन् । लाओसको रामायणको संस्करणमा लक्ष्मणलाई मुख्य पात्र र रामलाई सहयोगी पात्रका रुपमा देखाइएको छ । ५ औं इशापूर्वदेखि पहिलो इशापूर्वमा वाल्मिकीद्वारा रचित रामायणमा २४ हजार हरफहरु छन् । रामको कहानी भन्ने यो पहिलो कृति नहोला तर यसैलाई मौलिक रामायण मानिन्छ । यसलाई भारतीय साहित्यको मात्र नभई विश्व साहित्यकै महाकाव्यहरुमध्येको मानिन्छ । 


समय बित्दै जाँदा पौराणिक काव्यले वास्तविक रुप लिन थाल्यो । रामायण र महाभारतलाई इतिहास मानिन थाल्यो । यी कथाहरु प्राचीन समयमै भएकै घटनाहरु हुन् र यसले जीवन जीउने दर्शन सिकाउने बताउन थालियो । १७ लाख वर्षअघि त्रेता युगमा घटेको रामायणलाई पुष्टि गरेर राखिएको इतिहासभन्दा पनि धर्म र भक्तिभावको प्रतिकका रुपमा लिन थालियो । तर, यस्ता थुप्रै मानिसहरु छन् जो रामायण प्राचिन समयमा भएकै घटना हो तर यसको पुष्टि गर्ने आधार केही नरहेको भनेर मान्ने गर्दछन् । उनीहरु वाल्मिकीले रामायण कल्पनाको आधारमा लेखेको नभएर, इतिहासलाई कवितामा उतारेका हुन् भन्ने विश्वास गर्दछन् ।
तर, रामलाई काल्पनिक पात्रबाट भगवानको रुप र ऐतिहासिक पात्रको परिचय प्रदान गर्न भने तुलसीदासको रामचरितमानसले सहयोग ग¥यो । रामचरितमानस १६ औँ शताब्दीमा भक्तकवि गोस्वामी तुलसीदासले अवधि भाषामा लेखेका महाकाव्य हो । तुलसीदास संस्कृतका विद्वान् थिए र त्यो समयमा संस्कृतलाई कुलीन वा धनीमानीको भाषा मान्ने गरिन्थ्यो । तर उनलाई रामको कथा अरु भाषामा लेखेर साधारण मानिसमाझ पु¥याउन मन थियो । जसरी विलियम सेक्सपियर कुलीनहरुले प्रयोग गर्ने भाषा ल्याटिनमा नलेखी अंग्रेजीमा लेखेर साधारण मानिससम्म पुगे । त्यसरी नै तुलसीदासले रामको कथासँगै वेद, उपनिषद र पुराणका ज्ञानहरु अवधिमा लेखे । 


अवधि भाषामा लेखिएपछि रामचरितमानस भारतको उत्तरी भागमा तुरुन्तै लोकप्रिय बन्यो । रामकथा र रामलीलाका रुपमा मानिसहरुको संस्कृति र संस्कार बन्न सफल भयो । हिन्दू र हिन्दूस्तानी संस्कृति तथा संस्कारमा राम सत्पात्र, भगवान र ऐतिहासिक पुरुषका रुपमा लाखौँ मानिसको मानसपटलमा बसे । यसरी तुलसीदासले वाल्मिकीको कृतिलाई भक्तिभावपूर्ण रुपमा पुनःलेखन गरेपछि नै रामकहानी चर्चित बनेको हो ।
यस्तोमा वाल्मिकीको रामायण पनि अपभ्रंश हुँदै गयो । उदाहरणका लागि रामायणको खलपात्रका रुपमा चिनिने रावणलाई वाल्मिकीले दश टाउकोको अवतार दिँदा उनलाई चार वेद र छ शास्त्रको ज्ञाताको रुपमा प्रस्तुत गरेका थिए । तर, पछि रावणको दश टाउकोले मानिसभित्रका दश अहम्लाई बुझाउने भनेर प्रस्तुत भयो । वाल्मिकीले रावणलाई राक्षसका रुपमा नभएर उनमा भएको अहम्ले खलपात्रको रुपमा मात्र प्रस्तुत गरेका थिए ।
वाल्मिकीको रामायणका अन्तिम भागहरु भने तुलसीदासले विस्तृतमा लेखेका छैनन् । उनले रामचरितमानसलाई सकारात्मक भाव दिने उद्देश्यले पछिल्ला भागहरु जानेरै हटाएका छन् । हामीले सुन्दै आएको रामायणमा बुझ्न पर्ने कुरा के छ भने तुलसीदासद्वारा लिखित रामायण उनले राममा समर्पित भएर लेखेको भक्ति कविता हो । उनको यही भक्तिभावपूर्ण कविता नै आज लाखौँ मानिसको मानसपटलमा रहिआएको छ र आधुनिक समाजमा यिनै रामको नाममा भारतमा मात्र नभई नेपालमा पनि सामुदायिक, सामाजिक, राजनीतिक खिचातानी हुने गरेका छन्, अझ भनौँ नेपालमा बढ्दो छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.