ब्लग - साहित्य / प्रविधि

छैठौँ राष्ट्रिय विज्ञान दिवस - ‘समृद्धिका लागि विज्ञान–संस्कृति’




   लक्ष्मण डंगोल - Sep 16 2018

देशभरका ४९ ठूला कारखानामध्ये ६१ प्रतिशतले आफ्नो छुट्टै अनुसन्धान इकाइ व्यवस्था गरेको देखिन्छ । बाँकी ३९ प्रतिशतमा अनुसन्धान इकाइ छैन वा भेटिन्न। यो हिसाबमा नेपालको औद्योगिक अनुसन्धानको बजार अपेक्षाकृत शक्तिशाली र व्यापक हुनपर्ने पनि लाग्दो हो, लाग्छ।



अवधारणा पत्र
विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ । पूर्खाले आज्र्याको धरोहर मात्रै होइन मौलिक विज्ञान, प्रविधि र संस्कृति बचाईराख्न आवश्यक छ । यसैकारण हामी ‘समृद्धिका लागि विज्ञान–संस्कृति’बारे युवा पुस्ता जानकार हुन जरुरी छ भन्दछौं ।

संस्कृति मानिसलाई अनुशासित र मर्यादित बनाउने जीवित कला हो । आधारभूत शिक्षाले दिन नसकेका कतिपय प्रकृतिप्रदत्त शिक्षण विधि संस्कृतिले सिकाइरहेको हुन्छ । संस्कृतिभित्रको विज्ञानको पाटो वा वैज्ञानिकता केलाउन नसक्नु अलग कुरा हो । आधुनिक विज्ञानले प्राविधिक पाटोलाई इंगित गराइरहेको हुन्छ । विज्ञानले मानिसलाई उपकरण वा यन्त्रजनित त बनाउला संस्कृतिले बराबर मूल्य र पहिचान दिन चाँहि सक्दैन । अतः हाम्रो संस्कृतिसापेक्ष मूल्य र पहिचान खोज्न र त्यसका लागि भूमिका निर्वाह गर्नु यो अभियानको एउटा अंश हो ।

सन्दर्भः राष्ट्रिय विज्ञान दिवस
विस २०७० असोज १ देखि सरकारले राष्ट्रिय विज्ञान दिवस मनाउन थाल्यो । तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारले विसं २०६९ मा निर्णय गरेर विसं २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । यसका केही उद्देश्य निर्दिष्ट छन् । जस्तै, देशका सबै वर्ग, समुदाय तथा पेशागत क्षेत्रका व्यक्ति तथा संस्थालाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने । यस्तै नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्ने र यसका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने । यही सन्दर्भमा ‘समृद्धिका लागि विज्ञान–संस्कृति’ कार्यक्रम परिकल्पना गरिएको हो ।

कार्यक्रम किन ?
‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल सरकारले तय गरेको नारा हो । यही सुन्दर लक्ष्य पूरा गर्न सरकार लागिपरेको देखिन्छ । त्यो समृद्दि हासिल गर्न सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्नपर्ने देखिन्छ । भलै यो लक्ष्यमा सरकारको यात्रा सहज देखिदैन तर केही ठोस पहलकदमी उपेक्षा गरिहाल्न मिल्ने छैनन् ।

कति छ लगानी ?
संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोका अनुसार नेपालले कूल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत बजेट अनुसन्धान तथा विकासमा खर्च गरेको उल्लेख छ । तथ्यांकअनुसार दश लाख मानिसमा नगन्य शून्य मानिस अनुसन्धानकर्ता छन् । यद्यपी ९२ प्रतिशत पुरुष र ८ प्रतिशत महिला अनुसन्धानकर्मी उल्लेख छन् । अब यो अनुसन्धान कहाँ र कुन प्रयोजनका लागि हुन्छ त्यो अर्को बहसको विषय हो ।

विश्व बैंकका अनुसार चीनले सन् १९९६ मा कूल लगानीको शून्य दशमलव ५६ प्रतिशत लगानी गरेको थियो । सन् २०१५ आइपुग्दा यो लगानी बढेर २ दशमलव ०७ प्रतिशत भयो । तथ्यांक भन्छ, चीनका दश लाख मानिसमा १ हजार १ सय १३ जनशक्ति अनुसन्धानकर्ता छन् ।

भारतले १९९६ देखि २०१५ मा लगानी अनुपातलाई कम्तीमा शून्य दशमलव ६३ प्रतिशत कायम राख्न सफल भयो । युनेस्कोका अनुसार पछिल्लो समय भारतले कुल ग्राहस्थ्य उत्पादनको ० दशमलव ८ प्रतिशत सम्म कायम गरेको छ । भारतमा १० लाखमा १ सय ५६ जना अनुसन्धानकर्मी छन् ।

विकसित देश अमेरिकाले २ दशमलव ७९ प्रतिशत, जर्मनीले २ दशमलव १३ प्रतिशत लगानी गर्दै आएको छ । पश्चिमलाई उछिन्दै उत्तर कोरियाले कुल ग्राहस्थको ४ दशमलव २३ प्रतिशत लगानी कायम गरेको पाइन्छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले वि.सं.०६६÷०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षणअनुसार नेपाल सरकारले कूल ग्रार्हस्थ उत्पादनको ० दशमलव ३८ प्रतिशत लगानी गरेको छ । विज्ञहरू यसलाई १ प्रतिशत कायम गर्न सुझाव दिदै आएका छन् ।

कति उपलब्धी?
सन् १९१८ मा त्रिचन्द्र कलेजबाट नेपालमा विज्ञान प्रविधिको आधुनिक शिक्षा संस्थागत रुपमा सुरु भयो । त्यसको ३१ वर्षपछि विश्वविद्यालय स्थापना भयो । यसपछि शिक्षा र अनुसन्धान दुबैमा विविधता संस्थागत भयो । विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानून तथा मानविकी लगायतका संकाय र विषयगत विधामा त्रिविले निभाएको भूमिका उल्लेखनीय छ ।

उपलब्धीका फेहरिस्त माग्ने हो भने सरकारी अधिकारीहरुले हालसम्म अन्तर्राष्ट्रिय सम्वन्ध, जनशक्ति उत्पादन (पीएचडी) लगायतले अनुसन्धान र प्रविधि विकासमा टेवा पुगेको बताउँदै आएका छन् । सन् २०१३÷१४ सम्म त्रिविले ६ लाख ४ हजार ४ सय ३७ जना विद्यार्थी विभिन्न शैक्षिक तहमा सामेल भएको नास्टको सर्वेक्षणले देखाएको छ ।

सन् १९७७ मा व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र रिकास्ट स्थापना भयो । त्यसको ५ वर्षमा वैज्ञानिक अनुसन्धानलाई सन् १९८२ मा नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, रोनास्ट (हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान) स्थापना भयो । सन् १९९५ मा छुट्टै विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय समेत बन्यो । हाल शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको रुपमा गाभिएको उच्च सरकारी संयन्त्रको गति र उपलब्धी केलाउने काम पछि होला । कम्तीमा ’छ’ त भन्न पाएका छौं ।

वैज्ञानिक संस्था
नास्टले वि सं ०६६÷०६७ मा गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । यसमध्ये १ सय ४४ सरकारी, ४४ वटा उच्च शैक्षिक, २३ नीजि तथा गैरनाफामूलक सस्था रहेछन् । बाँकी ३ वटा नीजि र ३ वटा अन्य भएको उल्लेख छ । तर विज्ञान र प्रविधिको अनुसन्धान र विकासमा हाम्रो हैसियत र स्थान कहाँ छ ? सम्भवतः यो प्रश्नले सबैलाई पोल्छ । पोल्नैपर्छ ।

सबै अनुसन्धानमा तल्लिन
उक्त सर्भे रिपोर्टकै आधारमा १८ प्रतिशत संस्था अनुसन्धान र विकासमा लागेको देखिन्छ । ५ प्रतिशतले नीति निर्माणमा सहयोग गरेको उल्लेख गर्दछन् । टाढा नगइकन भन्दा ती सस्था विभाग, मन्त्रालय र कर्मचारी नै हुन् भन्दा हुन्छ । साँच्चै नीजि क्षेत्रको अध्ययन अनुसन्धानलाई सरकारी संयन्त्रले सहायक सहयोगीको रुपमा लिएको छ वा नीति तथा कार्यक्रममा बाह्य क्षेत्रको प्रभावकारी उपस्थिति हामीले स्वीकार गरेका छौं ? यो प्रश्न पनि कमजोर छैन ।

अनुसन्धानको नतिजा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार ५५ प्रतिशत अनुसन्धानको नतिजा प्रकाशन हुने गरेको उल्लेख छ । ४५ प्रतिशतले वैज्ञानिक अनुसन्धानका प्रतिवेदन प्रकाशन नै गरेको पाइदैन । अन्य संस्थाको तुलनामा अधिकांश सरकारी संस्था वैज्ञानिक अनुसन्धानमा लागेको पाइन्छ । १५ वटा सरकारी वैज्ञानिक संस्थाको बजेटका आधारमा ० दशमलव ३१ प्रतिशत कूल ग्राहस्थ उत्पादन अनुरुप छु्ट्याएको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षणको रिपोटमा उल्लेख छ । अनुसन्धानमा सरकारले गरेको लगानीको उपलब्धीको मापन पनि अर्को रहस्य होला । विज्ञहरु भने अनुसन्धान भनेको विश्वविद्यालयमा गर्दा खर्च कम र उपलब्धी ज्यादा हुने बताउँछन् । तर विज्ञहरुको मत हामीकहाँ लागू हुन्छ वा हुँदैन वा किन हुँदैन त्यसको लेखाजोखा विज्ञहरुले नै गरेका होलान् ।

विद्यावारिधि
विज्ञान प्रविधिको विभिन्न विधामा १ हजार ६८ जनाले विद्यावारिधि गरेको तथ्यांक छ । सबैभन्दा बढी संख्यामा पीएचडी कृषि विज्ञानमा गरेका छन् । त्यसलाई पछ्याउँदै इन्जिनियरिङमा २ सय १३ जनाले पीएडी गरेका छन् । ५ सय ५९ बाम्हण, ३ सय ५८ आदिवासी जनजाती, १ सय २९ मधेसी र ८ दलित छन् । पीएचडी गर्नेमा १० प्रतिशत महिला छन् भने ९० प्रतिशत पुरुष रहेका छन् ।

मानवस्रोत साधन उत्पादन    
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार सन् १९९५ देखि २००८ सम्मको शैक्षिक जनशक्ति केलाएका छन् । जसबाट सन् २०१० सम्ममा विभिन्न विधाका ४४ हजार ४४ जना जनशक्ति उत्पादन भएका थिए । विसं २०५१ देखि २०६६ सम्ममा सीटीभीटीबाट उत्पादित कूल जनशक्ति प्रविधिक एसएलसी र डिप्लोमामा क्रमशः ४१ हजार ४१ र ४ हजार २ सय ३४ गरि ४५ हजार २ सय ७९ छन् ।

रोजगारी     
रोजगारी सबैभन्दा बढी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले काम गरिरहेका छन् ।

अनुसन्धानका इकाइ
देशभरका ४९ ठूला कारखानामध्ये ६१ प्रतिशतले आफ्नो छुट्टै अनुसन्धान इकाइ व्यवस्था गरेको देखिन्छ । बाँकी ३९ प्रतिशतमा अनुसन्धान इकाइ छैन वा भेटिन्न। यो हिसाबमा नेपालको औद्योगिक अनुसन्धानको बजार अपेक्षाकृत शक्तिशाली र व्यापक हुनपर्ने पनि लाग्दो हो, लाग्छ। अनुभुत गर्ने कुरा अलग छँदैछ ।

प्रविधिको सुविधा
विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार ७४ प्रतिशत सरकारी संस्थामा प्रयाप्त प्रविधि नै छैन । प्रविधि नभएपछि ततअनुकूल जनशक्तिको अपेक्षा पनि स्वभाविक हुँदैन । सरकारी सेवाको गति र रफ्तार मापन गर्न अब टाढा नजाऔं । नीजि तथा गैर नाफामुलक संस्थाको हकमा पनि ७१ प्रतिशतसँग प्रयाप्त उपकरणको अभाव छ । अब तिनै गैरसरकारी अड्डा अपारदर्शी प्रतिवेदन बनाएर आफूलाई गतिवान र प्रविधिमैत्री दावी गर्छन । हामी हल्लाबोलहरुबाट कतिको सावधान छौं सवाल गहन छ ।

चुनौतीहरु
– स्वयम्सेवकीय रुपमा वैज्ञानिक गतिविधिमा युवालाई जागृत गराउनु
– मुलुकमा विज्ञान शिक्षा सुरुवाताको एक सय वर्षको अवधिमा ३ सय ३० वटा वैज्ञानिक संस्था कार्यान्वयन छन् । ति वैज्ञानिक संस्थाबाट अनुसन्धान तथा विकासको संस्थागत विकास हुनसकेको देखिदैन ।     
– संस्थागत विकास र पारदर्शिता अर्को अहम चुनौती हो ।
– परिणाममुखी वैज्ञानिक संस्कृति निर्माण गर्नु पर्नेछ । आर्थिक पक्ष सवल बनाउन तथा वैज्ञानिक अनुसन्धानलाई बढवा दिन राज्यको मुख ताक्ने परम्परा तोड्न नीजि क्षेत्रसँग सहकार्य गरी ‘राष्ट्रिय विज्ञान अनुसन्धान कोष’ निर्माण गर्न पर्नेछ ।
– उच्च शिक्षाको नाममा विज्ञान–प्रविधि अध्ययन गर्ने जमात पलायनवादी सोचबाट आक्रान्त छ। पलायनवादी सोचलाई रोक्न र विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउने वातावरण तयार गर्नपर्नेछ ।

हामी चुक्यौ कहाँ
– लक्ष्य सहितको स्पष्ट खाका नहुनु ।
– प्राचीन प्रविधिलाई संस्थागत विकास गरि पाठयक्रम तथा उत्पादनमा ध्यान दिन नसक्नु ।
– राष्ट्रको आवश्यकताभन्दा फरक धारमा अनुसन्धान गरिनु ।
– विषयबस्तुमा प्राचीन विज्ञान तथा व्यवहारिक प्रविधिमा अनुसन्धान गर्ने पाठ्यक्रम समाविष्ट नगर्नु ।
– विज्ञानको उच्चतम प्रयोग नीतिका लागि राष्ट्रिय विज्ञान नीतिको पालना नगर्नु ।
– वैज्ञानिक संस्थाहरुबीच समन्वयको अभाव हुनु ।
– स्वदेशी तथा विदेशी दक्ष जनशक्तिको मुल्यांकन कमजोर हुनु ।
– नीजि क्षेत्रलाई अनुसन्धान र विकासमा लगानी गर्न उत्प्रेरित गर्न नसक्नु ।
– अनुसन्धानका लगानीलाई प्राथकिमता नदिइनु ।

अबको बाटो
अनुसन्धान तथा विकासमा कूल ग्राहस्थ उत्पादनको १ प्रतिशत लगानी गर्ने वातावरण तयार गरौं ।

खानीको उत्खनन गरौं । अनुसन्धाननिर्देशित बजार, उद्योगधन्दालाई प्रोत्साहित गरौं । विज्ञान प्रविधिमा थप रोजगारीको सृजना गरौं ।

विश्वविद्यालयबाट सेवानिवृत प्राध्यापक भनेका थिंक ट्यांक हुन् । उनीहरुको अनुभव युवामा हस्तान्तरण गर्ने संस्कृति निमार्ण गरौं ।

वैज्ञानिक समुदाय समाजको द्रष्टा हुन् । युवा वैज्ञानिकलाई अनुसन्धानको वातावरण तयार गरौं । स्वयम्सेवकिय रुपमा युवा वैज्ञानिकलाई काम गर्ने वातावरण निमार्ण गरौं । विज्ञान तथा प्रविधि विकासमा युवालाई अगाडि बढाऔं ।
नेपालका उच्च हिमाली भेगमा खगोलीय केन्द्रको विकास गरी पर्यटकीय गन्तव्य तथा अनुसन्धान गरौं । हाम्रा जंगल र वनस्पतिमा हाम्रै एकाधिकार राखौं ।

सम्पदा संरक्षण गरौं । सभ्य संस्कृति निमाण गरौं । हाम्रो कला विज्ञानका आकर्षण हुन् । संस्कृति हाम्रो पहिचान हो । आधुनिक विज्ञानको नाममा यिनलाई नमासौं । चिन्तन बदलौ, विज्ञानको विकास गरौं ।

संस्कृतिभित्रको विज्ञान बुझौं, बुझाऔं । वैदिक गणित तथा आधुनिक गणित सिकौं । परम्परागत प्रविधि अध्यापन गर्ने वातावरण तयार गरौं । परम्परागत प्रविधिको जगेर्ना तथा स्तरोन्ती गरौं ।

सात्विक भोजन खाऔं । शरीर शुद्ध राख्ने विधि अपनाऔं, निरोगी बनौं । नियमित व्यायम गरौं । औषधि खानबाट बचौं ।

आग्रहकर्ता
नेपाल विज्ञान पत्रकार मञ्च, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नेपाल भौतिक विज्ञान समाज, नेपाल भौगर्भिक समाज, नेपाल गणित समाज, नेपाल केमिकल सोसाइटी, साइन्स टिचर एशोसियसन अफ् नेपाल, नेपाल जैविकविविधता अनुसन्धान समाज, रोबटिक्स क्लब, बृहस्पति विद्या सदन, बायोटेक्नोलोजी सोसाइटी अफ् नेपाल, भाषा तथा सम्पदा संरक्षण परिषद् नेपाल, इन्टरडिसीप्लिनरी रिसर्च इन्स्टिच्यूट फर सस्टेनेबिलिटी, आरपी फाउण्डेसन, नेपाल इन्फरमेसन सेक्यूरिटी सेन्टर, न्यूज एजेन्सी नेपालसँगको सहकार्यमा रिभोसाइन्स मिडिया ।

-----
हाम्रोपात्रोका लागिः लक्ष्मण डंगोल, रिभाेसाइन्स



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 129.99
  • 130.68
  • UK pound sterling
  • 144.64
  • 145.41
  • Swiss franc
  • 115.13
  • 115.74
  • Australian dollar
  • 82.23
  • 82.66
  • Canadian dollar
  • 85.55
  • 86
  • Singapore dollar
  • 83.1
  • 83.54
  • Japanese yen (10)
  • 10.11
  • 10.16
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.56
  • Saudi Arabian riyal
  • 30.35
  • 30.51
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.47
  • 3.48
  • UAE Dirham
  • 30.99
  • 31.16
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.11
  • 10.16
  • Swedish Krone
  • 12.59
  • 12.66
  • Danish Krone
  • 17.42
  • 17.51

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम