भाईटिका | Hamro Patro

ब्लग - साहित्य / Blog

भाईटिका





आज तिहारको पाँचौं तथा अन्तिम दिन कार्तिक शुक्ल द्वितीया तिथी- भाइटिका । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै यो चाड मनाईन्छ । भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ । सप्तरङ्गी टीकामा रङ्गिविरङ्गी भावनाहरु मिसिंदा शान्ति बर्सिन्छ ।


पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँदा काग तिहारदेखि आजसम्मको पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी बहिनी यमुनाका घरमा रहँदा बस्दा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले पनि हरेक बर्ष आजकै दिन आफुलाई भेट्न आउनुपर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू कीर्ति सर्वदा बृद्धि होस् भनि मागिन् । यमराजले बहिनी यमुनालाई तथास्तु भनि वरदान दिए । यहि पौराणिक कथन अनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारलाई मनाईदै आईएको जनविश्वास छ ।

दिदीबहिनीले दशैं सकिए लगत्तै दाजुभाईलाई भाइटीकाको निम्ता स्वरूप पान सुपारी र फूल दिने गर्दछन् । दाजुभाइलाई टिका लगाई दिनुअघि दिदीबहिनीले दियो, कलश र गणेश स्थापना गरी षोडसोपचारले पूजा गर्दछन् । दाजुभाइलाई तेलको धाराले नटुटाई छेक्छन् । त्यसपछि पानीले छेक्छन् । दिदीबहिनीले फूल, अक्षता, चन्दन र लाभाले दाजुभाईको पूजा गर्छन् । शिरमा तोरीको तेल लगाएर कपाल कोरिदिन्छन् । बिमिरो र यमराजको पूजा गरी ढोकाको संघारमा राखिएको ओखर फुटाई कालको बाटो छेक्छन् । पूजा विधि सकिएपछि दिदीबहिनीले दाजुभाईको आरोग्य, यश र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टिका लगाईदिन्छन् । कहिल्यै नओईलाउने मखली, सँधै हरियो रहने दुबो र सयपत्री फुलको माला लगाईदिन्छन् । सगुन स्वरुपमा दही खुवाई दिन्छन् । आफ्ना दाजुभाईलाई सधैं त्यस्तै रुपमा देख्न पाउने विश्वासका साथ चेलिबेटीले त्यसरी माला लगाईदिन्छन् । त्यसपछि सेलरोटी, फलफूल, मिठाइ, मसला, कटुस, कपडा सहितको उपहारहरु समावेश भएको भाग दाजुभाईलाई दिन्छन् । यति गरेपछि दाजुभाईले पनि दिदीबहिनीलाई टिका र माला लगाईदिई दक्षिणा दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । टोपीले आयु बढाउने विश्वास गरिन्छ भने यसले राष्ट्रियता पनि झल्काउँछ । त्यसपछि दाजुभाईले पनि आफ्नो गच्छेअनुसार उपहार र दक्षिणा दिने गर्दछन् । दाजुभाई वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी मन्दिरमा गई पूजाआजा गर्छन् ।

तिहार नेपाली र विशेषगरी हिन्दू नेपालीको पर्वहरु मध्येको एउटा ठूलो हो । तिहार दशैंको १५ दिनपछि आउने पर्व हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीमा काग तिहारको नामले शुरु हुन्छ र कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीका मनाएपछि समाप्त हुन्छ । तिहारलाई दीपावली अथवा दिवालीका नामले पनि बुझिन्छ । तिहारको साँस्कृतिकका साथै आर्थिक पक्ष पनि छ । नेपाल कृषि प्रधान देश भएकाले जव कृषकहरु आफ्नो खेतबारीमा अन्नबाली रुपि सम्पति फलाई घर भित्र्याउन थाल्दछ । यस्तो बेला किसान अत्यन्तै खुसी भई भगवानको गुणगानमा लिप्त हुन्छन् । असोज र कार्तिक महिनामा पर्ने दशैं तिहारमा देवी देवताको गुणगान र आराधना गरिनुको पछाडि यो एउटा महत्वपूर्ण कारण हो । तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिनु पनि अर्को आर्थिक पक्ष हो । तिहार पर्व नेपाल सहित दक्षिण एशियाली मुलुकहरु भारत, भूटान, बर्मा र म्यानमारमा आ-आफ्नो विधि अनुसार विभिन्न प्रकारले मनाईन्छ ।

भाइटीका लामो समयसम्म भेटघाट नभएका दाजुभाई दिदीबहिनी सहित परिवारका सदस्यहरु भेटघाट हुने अवसर पनि हो । परिवारका सदस्यहरु बिचको मनमुटाव र चिसोपना हटाई मिलन गराउने तथा सम्बन्धलाई दरिलो बनाउने माध्यम हो । 

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.