'इद उल फितर' | विश्व दुर्व्यसनी बिरुद्धको दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

'इद उल फितर' | विश्व दुर्व्यसनी बिरुद्धको दिवस




ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो ।



सन् २०१७ को ईद उल फितर मा स्वागत छ । विश्वका धेरैजसो देशहरुले २६ जुन सोमबारका दिन ईद मनाउने छन् भने केहि देशहरुले २५ जुन आईतबार र केही देशहरुले २७ जुन का दिन पनि मनाउने छन् । चन्द्रमाको सौन्दर्य र आकारमा आधारित यस चाडको अनुग्रह वास्तवमै प्रकृतीको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू-भागमा पनि र्इद मनाउने दिन फरक हुनसक्दछ, यदि यो दिन कहिले हो भनेर दुविधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामूदायीक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । र्इदका दिनबाट रमजान सकिनेछ र एकदिन अगाडि नै यस वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकीएको हुन्छ ।

आउनुहोस् ईदको यहि पेरिफेरिमा आज केहि कुरा गरौं, हाम्रो पात्रोमा ।

इस्लाम धर्मावलम्बीहरुको एक महान चाड 'र्इद उल फितर' पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामीक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन र जब 'हिजाल' अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र र्इद उल फितर पर्वको प्रारम्भ हुने गर्दछ । यो एउटा उत्साह, जीत र समानताको चाड हो जहाँ परिवार र समूदायका हरेक व्यक्ति धनी, गरीबहरूको मुहारमा मुस्कान र सदाचारका शुभेच्छाहरु भरीएका हुन्छन् र यिनै सदाचारका शुभकामनाहरू एक अर्कालार्इ अङ्गालोमा बेर्दै आदानप्रदान गर्ने गर्दछन् ।

इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

र्इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर र्इद विशेष प्रार्थनाकालागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक-फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ ।

प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरु सामूहिक भेला हुनेगर्दछन् र सामूहिक रुपमा भोज गर्दै र्इद उल फितरलार्इ हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ, रोचक कुरा त के छ भने र्इदका सम्पूर्ण खुशीयाली र शुभेच्छाहरुको साटासाट खुल्ला आकाशमुनी गर्ने गर्दछन् । बालबालिकाकालागि भने यो उत्सव अझै विशेष हुनेगर्दछ किनभने उनीहरुलाई आफूभन्दा ठूलाले बिभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जसलाई ईदको ईदि भनिन्छ जसमा ठूलाले आफू भन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनाै अथवा अधिकारनै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज-सज्जा गर्ने गर्दछन् ।

ईदको दिनमा गरिने विशेष प्रकारको भजनलाई सलत भनिन्छ जसका दुई सकतहरु अर्थात भागहरु हुन्छन् । यी भजनहरु खुल्ला भजन गृह या ठाँउमा सामुहीक रुपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरु पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पवूर्ण छन भन्ने बुझिन्छ ।

नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनैतिक दलहरुले औपचारीक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना दिइन्छ । समाज र समानतासंग इस्लाम धर्मको बिशेष निकटता छ, धनी र गरिब सबैले समान रुपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून भन्ने कुरामा इस्लामीक रितीहरु विशेष तवरले बनाइएको पाइन्छ ।

यस चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ र्इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु आयोजना गर्ने गर्दछन् । भातृत्व र उत्साहको यो पर्वमा तपार्इं हामी सबैलाई ईद उल फितरको शुभकामना ।

-----------------------------
विश्व दुर्व्यसनी विरुद्धको दिवस्
सन् २०१७ , २६ जुन

बिहानको १० बजे माने (नाम परिवर्तन) को दिन शुरु हुन्छ । उठ्ना साथै उसले सर्वप्रथम केहि रसायनहरुको धूलोलाई सानो चम्चामा राखेर तातो बनाउँछ, अनि त्यस धुलोमा थप केहि पानी राखेर घोलीसकेपछि सुईमार्फत् सिरिञ्जमा हाल्दछ । हातमा रबरको डोरीले एकातर्फ बाँधेर उसले त्यसरी घोलीएको रसायन आफ्नो शरीरमा सुईमार्फत् राख्दछ । मानेको हातभरि यसरी सुई लगाउँदा लगाउँदा बनेका खतहरू प्रशस्त छन् तसर्थ उसले दागहरु लुकाउन हाफ शर्ट लगाउन सक्दैन । जस्तै गर्मीमा पनि उसले पुरै हात छोप्ने लूगा लगाउँदछ भने उसका केही यस्ता साथीहरु यी दागहरु लुकाउन पाखुरा र हातमा सरोवरी ट्याट्टु लगाउने समेत गर्दछन ।

सम्पन्न परिवारको मानेमात्र नभई अन्य धेरै परिवारका, बाबुआमाका सपना बोकेका, समाजका होनहार आशालाग्दा यूवाहरु यस्तै लागू औषधको दुव्यर्सनका फँसेका छन् । साथी-सङ्गत, समय, चाहना, फेशन, माया-बिछोड, सम्पन्नता, गरिबी र बाटो बिराएको जस्ता धेरै परिभाषाले दुव्यर्सनलाई व्याख्या गर्न खोजिएतापनि दुव्यर्सन विरुद्ध समाज, राष्ट्र अनि विश्व अझै प्रभावकारी रुपमा एक्यवद्ध भएर अघि बढ्न सकेको छैन ।

मानेलाई पहिले नशा नै जीवन जस्तो लागेको थियो रे, तर विस्तारै जीवनको खोजीमा नशामा डुब्दै जाँदा अब जीवन बिलाएर उनको पोल्टोमा नशामात्र बाँकी छ । माने त समाजको एउटा प्रतिनिधि पात्र न हो, लागूऔषध दुव्यर्सनको वृत र चरित्रहरु त हाम्रो समाजमा हामीले देख्दै आएका छौं नि विभिन्न स्वरुपमा । पशुपती क्षेत्र काठमाडौमा नशाजन्य पदार्थ सुँघेर बेहोशीमा बसेका साना कलिला भाईबुइना देखि तारे होटलमा नशाजन्य पदार्थमा रमेर अैयासी गर्ने पुञ्जीपतिसम्म, एक चिलिम गाँजा माग्दै हिँडेको देखि ओखती पसलमा विभिन्न सामान्य र जटिल रोगमा शरीरलार्इ अाराम दिने ओखतीहरु धेरै संख्यामा खरिद गरि सेवन गरेर सुत्नेसम्म समाजमा देखिएका अहिलेका दुव्यर्सनका स्वरुपहरू हुन् ।

कोही डर भगाउन त कोही सिर्जनात्मकता बढाउन सेवन गर्ने गरेको बयान दिन्छन तर यथार्त त के हो भने दुव्यर्सनीले दुव्यर्सनसंगै जीवन पनि खाईरहेका हुन्छन्, छोटो अवधीमै सकिने गरि ।

दुव्यर्सनलाई रोगको रुपमा व्याख्या गरिएको पाइन्छ, यस्तो रोग जहाँ दुव्यर्सनीको दिमागका न्यूरनेनहरु कुनै रसायन या लागुऔषधीको प्रयोगसंगै चल्दछन् । यी लागुऔषधको प्रयोगले दुव्यर्सनीको सोंच, निर्णय, सम्बन्ध र मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ । यस्ता लागुऔषधहरुको उपलब्धताकालागि दुव्यर्सनीहरु जे-जस्तो अपराध या कुराहरु गर्न पनि पछि पर्दैनन् । 'जङ्ककी' हुने चक्करमा धेरै नेपाली छोराछोरीहरु दुव्यर्सन हुन पुगेका छन्, संसारकै चित्रमा पनि लागुऔषधको कारोवारीहरुको कार्य संस्थागत हुँदै गएर हामीसबैजना उनिहरुको व्यापारवृतको जोखिममा छौ । 'जङ्ककी' भन्ने शब्द हामीमाझ धेरै चर्चित छ, यसको शाब्दिक अर्थ भने लागुऔषधको दुव्यर्सन गर्ने लापरवाह व्यक्ति भन्ने बुझिन्छ है । 

संसारभरिको लागुऔषध दुव्यर्सनको समस्यालाई एकतावद्ध रुपमा संवोधन गर्नकालागि हरेक वर्षको जुन २६ तारिखमा अन्तर्राष्ट्रिय दुव्यर्सन विरुद्धको दिवस मनाइन्छ । संयूक्त राष्ट्रसंघको सन् १९८७ मा भएको साधारणसभाले जुन २६ लाई दुव्यर्सन विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा पनि संसारका अन्य देशहरुझै दुव्यर्सन गैरकानुनी हो तर संसारका अन्य देशहरुझै नेपालमा पनि दिनानूदिन दुव्यर्सनको समस्या बढ्दो छ । आखिर कहाँ छ त ? यो लहरोको पहरो ? किन थामिदैन यसको अवैद्य कारोबार र आपूर्ति ?

एयरपोर्टबाट दुःख गरेर कमाएको पैसोले ल्याएको केही थान ल्यापटप र क्यामरासम्म छिराउन घुस खुवाउनु पर्दछ, केही थान फारम भर्न पर्दछ । तर कुन्नी कताबाट भित्रिनेरहेछ विदेशबाट आयात गरिएका लागुऔषध, हरेक दिन गल्ली गल्लीमा बेचिन्छन र सरकारको मौनता र यसलार्इ निरूत्साहित तथा निस्तेज गर्न दिनुपर्ने गति घृणायोग्य छ ।

दुव्यर्सनमा फँसेकाहरुलाई पनि सहि मार्ग देखाउन, परामर्श र आत्मबल दिन नेपाली समाज कत्तिको सक्षम छ त?
सुधारगृहरुको प्रभावकारिता अनि समाजसंगको प्रभावकारी समन्वय अत्यन्त जरुरी छ ।

माथि उल्लेख गरेका प्रतिनीधीपात्र माने पनि सुधारगृहबाट समाज फर्केका थिए तर समाजको नजरिया, पूर्वाग्रह अनि समाजमा लागुऔषधको सरल उपलब्धताले उनलाई फेरि त्यहीं पूर्यायो, जहाँ उनी कूलतको दलदलमा थिए । यूवाहरुलाई खेलकुद, अध्यन अनि विभिन्न सिर्जनात्मक कुराहरुमा लगाउन जरुरी देखिन्छ । तर बिडम्बना! राजधानी काठ्ण्डाैदेखि देशका कतिपय त्यस्ता विकासोन्मूख शहरहरू छन् जहाँ खेलकूदकालागि अावश्यक खुला स्थानसम्म पनि उपलब्ध छैन ।

दुव्यर्सनीहरुलाई समाजमा पूर्नस्थापित गरौं अनि नशा हैन जीवनमा उद्देश्य खोज्न सिकौं अनि सिकाऔं ।

------------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.